किशोरी संगीता मगर र सीमा बस्नेतमाथि एसिड आक्रमण गर्नेलाई कडा सजायँ दिनुपर्ने माग भइरहेका बेला आक्रमणकारी युवक दलित समुदायको रहेको पत्तो लागेको छ । पीडित किशोरीको घाउ निको नहुँदै यतिबेला आक्रमणकारीमाथि सहानुभूति जनाउन थालिएको छ । पीडित संगीता मगरको परिवारले दलित भनेर हेपेको र किशोरीका पिताले कुटपिट गरेको हुनाले जीवन बिकले बदला लिन आक्रमण गरेको चर्चासँगै यो मुद्दा जटिलतामा प्रवेश गरेको छ ।
एकातिर किशोरीलाई जीवनभर कुरुप बनाउने गरी गरिएको एसिड आक्रमण क्षम्य हुने विषय नै होइन । तर, एसिड प्रहार गर्ने युवकको परिवारले दलितका नाममा थिचोमिचो गरेको हो भने यो जातीय विभेद पनि अक्षम्य अपराध नै हो ।
नेपालको कानूनमा फौजदारी अभियोगमा कुनै जातलाई थोरै वा कुनै जातलाई धेरै सजायँ गर्ने आरक्षणको व्यवस्था छैन । यस अर्थमा जातीय विभेद भएका आधारमा एसिड हानेको हो भन्दै सहानुभूति बटुल्न खोज्नु कत्ति जायज होला ? यो प्रश्न निकै गम्भीर छ ।
एसिड प्रहार पर्ने ‘अपराधी’ आफैंले दिएको वयान र प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा हेर्दा यो घटनामा संगीताको दोष देखिँदैन । जीवन बिकले आफू खड्का थरको भएको भन्दै संगीतासँग जात ढाँटेर प्रेम गरेको बताइएको छ । पछि बिक भएको खुलासा भएपछि उनी बिच्किएको भनिएको छ ।
विवाह र प्रेम भन्ने कुरा व्यक्तिको इच्छाको विषय हो । कसैलाई जात या थर ढाँटेर गरिने सम्बन्ध प्रेम होइन, ठगी हो । संगीतालाई कुन जातसँग विवाह गर्ने या नगर्ने भन्ने आफैं छनोट गर्ने स्वतन्त्रता छ कि छैन ? दलितले प्रेम गर्यो भने त्यसलाई अस्वीकार गर्नु जातीय विभेद हो ? के दलितले गर्ने प्रेम बाध्यकारी हुन्छ ? यो प्रश्न बहसयोग्य छ ।
जीवन बिकले पहिले आफ्नो जात ढाँट्ने अनि पछि दलित भएकैले संगीताले प्रेम गर्न मानिन भन्नु कत्तिको जायज तर्क हो ? प्रेम बाध्यकारी हुँदैन । प्रेम गरिसकेपछि छाड्न पनि पाइन्छ, यो त अधिकार र स्वेच्छाको विषय हो । प्रेम सकियो भने बिहे गरेपछि पनि छाड्न पाइन्छ ।
यसैगरी दलित समुदायमाथि जातीय विभेद गर्नु पनि गम्भीर अपराध हो । तर, दलितले राखेको प्रेम या विवाहको प्रस्ताव स्वीकार गर्नैपर्छ भन्ने बुझ्नु कत्तिको जायज होला ? जुनसुकै जातले गरेको प्रेम पनि वियोगमा परिणत हुन सक्छ । तर, त्यसैका निहुँमा अवहेलित भएर एसिड हानेको हुँ भन्नु कत्तिको क्षम्य होला ?
संगीताको परिवारले जीवन बकिको परिवारलाई दलित भनेर हेपेको या पिटेको हो भने त्यो पनि जघन्य सामाजिक अपराध हो । तर, एउटा अपराध वा विभेदबाट मुक्त हुने बाटो अर्को अपराध होइन । आफूमाथि विभेद भएको वा कुटपिट भएको भए पीडितहरु तत्काल प्रहरीसमक्ष किन गएनन् भन्ने पनि प्रश्न उठ्छ ।
हालै कलैयामा बालिका बलात्कार गर्नेलाई ३५ वर्षको जेल सजायँ सुनाउँदा केही मधेसी समुदायले सामाजिक सञ्जालमा आपत्ति जनाएको देखियो । हाम्रो समाजमा यसरी जातका आधारमा अपराधमा सहुलियत माग्ने प्रचलन बढ्न थालेको छ ।
तपाईको विचारमा एसिड प्रकरणको यो घटनालाई कसरी लिँदा ठीक होला ?
१. अपराधलाई जातीय रंग नदिऔं । अपराधीको कुनै जात र धर्म हुँदैन । संगीताले कुनै जातिसँग प्रेम गर्दिन भन्नु उनको अधिकार हो ।
२. जातीय विभेद गरेको भए ऐनमा जे व्यवस्था छ, त्यो अनुसार संगीताको परिवारलाई पनि सजायँ गरिनुपर्छ ।
३. संगीताको अनुहारमा आएको कुरुपतालाई कुनै तर्कले मेटाउन सक्दैन । महिला हिंसा गर्नेहरुको बचाऊ नगरौं । प्रेमजस्तो पवित्र चिजलाई अपवित्र नपारौं । प्रेम गरेको मान्छेले आफ्नी प्रेमिकालाई कहिल्यै एसिड खन्याउँदैन ।
- साभार:onlinekhabar
No comments:
Post a Comment