धेरै पहिले सिन्धुलीको जोराटारबाट काम खोज्दै सुन्दर शंकर विश्वकर्माका बुवाआमा काठमाडौं आउनुभयो । यहाँ आएपछी बुवाआमाले गलैचा बुन्ने काम पाउनुभयो । त्यही गलैचा कारखाना भित्र सुन्दरको जन्म भयो । तीन जनाको सुखी परिवारको यो खुशी सधैं टिकिरहेन । बीचमा परिवारमा खटपट भयो । बुबाले परिवार छोडेर अर्को बिहे गर्नुभयो । आमाको मात्र ज्यालाले घर चलाउन गाह्रो भएपछि पढाई छोडी गलैचा बुन्ने काम गर्नुप¥यो सुन्दर शंकरका कलिला हातहरूले ।
सुन्दरशंकर भन्नुहुन्छ, “सादा गलैचा मात्र बुन्न आउँथ्यो मलाई भर्खर पसेको थिए । त्यतिखेर हात साह्रै दुख्थ्यो । कहिले काँही चक्कु चलाउनु पथ्र्यो हात काटिन्थ्यो ।”
अलि पछी गलैचा कारखानामा काम गरिरहेका बाल मजदुरलाई उद्धार गर्ने र पढाउने नेपाल गुडविभ फाउण्डेसनले सुन्दरलाई देख्यो र उद्धार ग¥यो । गुडविभको सहयोगमा सुन्दरले फेरि पढ्न थाल्नुभयो। सुन्दरशंकर भन्नुहुन्छ, “त्यतिखेर सानै थिए । पढेर पछि गएर ठुलो मान्छे बन्छु भन्ने यस्तो सोच पनि थिएन । पढ्न पाउँ, खेल्न पाउँ भन्ने त्यतिखेरको मानसिकता बालापनामा गुडविभले साथ दिएर यहाँसम्म आइपुगे ।”
छोराको संघर्षकादिन सम्झिंदै आमा सीता विश्वकर्मा भन्नुहुन्छ, “उसको संघर्ष त के क्याटरिङ्गमा काम गर्न हिडेन कि यो, कता मोटरसाइकलको ग्यारेजमा काम गर्न हिड्यो । हरेक ठाउँमा काम गर्यो । ट्युशन पनि पढायो ।”यसरी संघर्ष गर्दै २०६६ सालको एस.एल.सी मा विशिष्ट श्रेणी ल्याएर उच्च शिक्षा अध्ययनको लागि उच्च माध्यमिक शिक्षा परिषद्बाट छात्रवृत्तीमा नाम निकाल्नु भयो । कक्षा एघार बाह्रमा पनि उहाँले विशिष्ट श्रेणीमा नै उत्तिर्ण गर्नुभयो ।
साँच्चै, मेहनतको फल मिठो हुँदोरहेछ । पहिले गलैंचा कारखानामा काम गर्दै पढ्दै गर्नुभएको सुन्दरशंकर अहिले पुल्चोक इन्जीनीयरङ क्याम्पसमा व्याचलर इन इन्जीनियर दोश्रो वर्षमा पढिरहनु भएको छ । इन्जीनियरिङ पढ्नको लागि उहाँले २०६९ सालमा करिब तेह्रसय विद्यार्थीसंग प्रतिस्पर्धा गर्नुपरेको थियो । अहिले सुन्दर शंकर टेलीस्कोप जडित थ्यउरा लाइट, मेजरिङ टेप, मार्किङ एरो जस्ता उपकरण चलाउन सिक्दै हुनुहुन्छ ।
सुन्दरशंकर भन्नुहुन्छ, “कुनै ठाउँमा ठुलो प्रोजेक्ट कन्स्ट्रक्सन बन्दै छ भने देखि त्यो ठाउँको पहिले सर्भे गर्नुपर्छ । जस्तै ड्याम्प बनाइदै छ भनेदेखी त्यो ड्याम्प बनाउँदा खेरी त्यहाँ कति आयतन पानी जम्मा हुन्छ, त्यो पनि सर्भे गरेर निकाल्नुपर्ने कुरा हो ।”राम्रोपढाई हुने पूल्चोक इन्जीनियरिङ क्याम्पसमा पढ्न पाउनु त्यति सजिलो छैन । तर त्यो भन्दा पनि गाह्रो काम सुन्दरले बाल्यकालमा नै गरिसक्नु भएको छ । तीन कक्षामा पढ्दै सुन्दर शंकरले गलैचा बुन्ने काम गरिसक्नुभएको छ ।
पुरानो वानेश्वरमा रहेको आमाको सानो सिलाई बुनाई व्यवसायबाट अहिले उहाँको खर्च टर्छ । सुन्दर शंकर बानेश्वरको सामान्य कोठामा बसेर इन्जिनियरिङ अध्ययन गर्दै भविष्यको योजना बुन्दै हुनुहुन्छ ।सुन्दरशंकर भन्नुहुन्छ, “नेपालमा राम्रो काम पाइयो भने त बस्छु नै मेरो त लक्ष्य नै छ नेपालमा बस्ने काम गर्ने, एउटा ठुलो सानो कम्पनी साथीभाई मिलेर खोल्ने, काम गर्ने त्यसको लागि अलिकति अनुभव त बटुल्नु पर्यो । विदेशमा गएर ।”
आमा सीता विश्वकर्मा भन्नुहुन्छ, “हाम्रो लागि भन्दा पनि उसको लागि राम्रो गरोस्, देशको लागि पनि राम्रो गर्दै जाओस । देशको लागि फलानोको छोराले यति दुःख गरेको थियो, यति प्रगति गर्यो, राम्रो गर्यो भन्ने होस् ।”अहिले सुन्दरको भविष्य राम्रो बन्ने पक्का भएको छ । तर पनि उहाँ आफ्नो बाल्यकाललाई बिर्सन सक्नुहुन्न । सुन्दरशंकर भन्नुहुन्छ, “म जस्तै अझै कोही बच्चाहरु तानमा अल्झिएका छन् भने उनीहरुलाई उद्धार गर्न म हरसम्भव प्रयास गर्नेछु ।”
प्रस्तुति साभार : विक्रम न्यौपाने// न्या पुस्ता
No comments:
Post a Comment