छोराले अन्तरजातीय विवाह गरेपछि बाबुआमालाई गाउँलेले सामाजिक बहिस्कार गरे

गोरखा, फाल्गुन २७ - छोराले अन्तरजातीय विवाह गरेपछि यहाँको अश्राङ २, झिगटेका टंकबहादुर खड्का र उनकी पत्नी सीतालाई गाउँलेले सामाजिक बहिस्कार गरेका छन्।
१७ वर्षअघि विवाह गरी घर छाडेर हिँडेको छोरो गत दसैँमा घर फर्केपछि समाजको तिरस्कार सहनुपरेको खड्का दम्पतीले बताए। 'लेनदेन, मेलापात टुटाए, हुँदाहुँदै कुलदेवता पूजा पनि गर्न दिएनन्,' ६१ वषर्ीया सीताले भनिन्। आगामी शुक्रबार हुने कुलदेवता पूजाका लागि मन्दिर मर्मत गर्न जाँदा आफ्नै कुलभित्रका र  गाउँलेले 'काट्छु र मार्छु' भनेको उनले गुनासो गरिन्। मंगलबार जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्न आएकी उनले भनिन्, 'बली चढाउन बोका ल्याउन पाउँदैनौ। ल्यायौ भने तिमीहरू बूढाबूढीलाई पनि बोकासँगै मार हान्छौँ भनेर जाइलागे।'
६२ वषर्ीय टंकबहादुर श्रीमती र विवाहित दुई छोरी लिएर उजुरी दर्ता गर्न आएका हुन्। मन्दिरका झाँक्रीको नेतृत्वमा सबै गाउँले एकजुट भएको उनले बताए। 'मेरो पक्षमा गाउँका कमिला पनि छैन,' उनले भने, '१७ वर्षसम्म अन्याय सहेँ। अत्याचार बढेपछि उजुरी गर्न आएँ।' छोराले ताप्ले गाविसकी मुना सार्कीसँग  अन्तरजातीय विवाह गरेपछि गाउँलेेको दबाबमा घर छिर्न नपाएको उनले सुनाए। 'गाउँलेले कागज गरेर छोरासँग भेटघाट गर, घरभित्र छिर्न नदिनु भने, उनीहरूले भनेजस्तै गर्दै आएँ,' उनले भने, 'कुलबाट निकाल्न खोजेपछि सहन सकिन।' ठूलो छोराको मृत्युपछि दलित विवाह गरेको कान्छोलाई घरमा बोलाएर भेटघाट  गरेको उनले बताए। 'बुहारीले अहिलेसम्म दैलोमा पाइला टेकेकी छैनन्,' टंकबहादुरले भने, 'दसैँमा छोरा बोलाएर खुवाएको भनेर घर जोख्याउन पूजा लगाउन लगाए। माघमा पूजा लगाए पनि कुलदेवता पूजामा समावेश नगराएको उनले बताए। 'मन्दिर मर्मत गर्न श्रमदान गर्न दिएनन्,' उनले भने, 'कुलमा उठाउँदै  आएको मासिक बचत पनि रोके।' खड्काका कुल पूजामा ३५ घरधुरी सहभागी हुन्छन्। छिमेकीको मृत्यु हुँदा दिन उठाएको मानाचामल पनि लिन छाडेको सीताले बताइन्। 'गाउँमा खसीबोका काट्दा पनि दिंदैनन्,' उनले भनिन्। आमाबुवालाई गाउँलेले एक्लो पारेपछि माइतीबाट आएर सघाउनुपरेको छोरी मीना थापाले  बताइन्। 'खेतीपाती गर्ने बेलामा छोरीहरू आएर काम गछौँ,' उनले भनिन्, 'हाम्रा बुवाआमालाई हेला नगर्नुस् भन्दा छोरी बेश्या भन्दै गाउँलेले बोल्न दिंदैनन्।' खडका दम्पतीका दुई छोरा र पाँच छोरी हुन्। सबै विवाह गरेर आ-आफ्ना घरघरमा छन्। दलित विवाह गरेका कान्छो कृष्णबहादुर पोखरामा बस्छन्। मन्दिरका  झाँक्री रोलबहादुर, डालकुमारी, यानबहादुर, पदमकुमारी र कृष्णबहादुर खड्काले छुवाछूत गरेको दम्पतीले बताएका छन्। उनीहरूले किटानी जाहेरी दिएका छन्। मन्दिरका पुजारी रोलबहादुरले वंशले नै निर्णय गरेर उनीहरूलाई कुल र पितृको पूजामा समावेश नगराएको बताए। 'यो हाम्रो वंशको कुरा हो,' उनले फोनमा  भने, 'मेरो इच्छाको कुरा अरूले भनेर हुँदैन।' प्रहरी निरीक्षक दीपक श्रेष्ठले छुवाछूत गरेको भनेर ठाडो निवेदन आएको बताए। उनले भने, 'जाहेरी आयो। हामी त्यो गाउँ हेर्ने चौकीसँग कुरा बुझ्दैछांै।'source#kantipur

No comments:

Post a Comment