मानसिकतामा जबसम्म परिवर्तन आउँदैन तबसम्म विभेदको जरो गडीरहन्छ

मधु शाही  , चैत ८,।
बाजा र नाचगानसहित ५० औं अन्तर्राष्ट्रिय जातिभेद एवं रंगभेद उन्मूलन दिवसमा रोल्पाकी बिजुली परियार पनि रमाइरहेकी थिइन् । तर उनको त्यो रमाइलो देखावटीमात्रै थियो । विभेद हटेको उल्लासमा दिवस मनाए पनि आफूले अहिलेसम्म विभेद भोगिरहेको उनले बताइन् ।
दुई वर्षदेखि भक्तपुरमा बस्दै आएकी २५ वर्षीया बिजुलीले थर लुकाएर कोठा भाडामा बस्नुपरेको बाध्यता सुनाइन् । ‘औपचारिकतामात्रै हो, विभेद अझै हटेको छैन’ उनले गुनासो गरिन्, ‘पहिचान खुलाएर कोठा पाउनै गाह्रो छ ।’ उनले कोठा खोज्दा धेरै ठाउँमा आफूले दलित भएकै कारण नपाएको गुनासो गरिन् । हाल उनी दिदी- भिनाजुसँग बस्छिन् ।

बिजुलीले भने जस्तै, प्रत्येक वर्ष अन्तर्राष्ट्रिय जातिभेद र रंगभेद उन्मूलन दिवस मनाउँदै आए पनि दलित समुदायमाथिको विभेद अझै हटेको छैन । पछिल्लो नयाँ पुस्ता पनि फरक शैलीमा विभेद खेप्दै आएको बताउँछन् ।
शनिबार प्रदर्शनीमार्गमा दिवस मनाउन आएकी नेपालगन्जकी गंगा परियारले आफूले भोगेको विभेद सुनाइन् । स्नातकोत्तर अध्ययन गर्दै गरेकी उनले धेरै ठाउँमा आफ्नो पहिचान खुलाउँदा धेरैले नपत्याउने गरेको बताइन् । ‘तिमी त दलित जस्तो देखिन्नौ’ भन्दै सकारात्मक विभेद गर्ने गरेको उनको अनुभव छ । देखिएको घाउको उपचार गर्न सजिलो हुने तर आत्मसम्मानमाथि पुगेको चोटमा मलहम लगाउन निकै गाह्रो हुने गंगाले सुनाइन् । ‘शिक्षित भएर हुँदोरहेनछ, चेतना हुनुपर्दोरहेछ,’ उनले भनिन्, ‘पढेलेखेका युवाहरूले विभेदका विरुद्ध नबोलेको देख्दा सारै दु:ख लाग्छ ।’ उनले आफू दलित भएको थाहा पाएपछि साथीहरूले नराम्रो दृष्टिकोणले हेर्ने गरेको पनि सुनाइन् ।
सञ्चारकर्मी सविता विश्वकर्माले केही समयअघि ‘राम्री भएकैले दलित हुन नसक्ने प्रतिक्रिया पाएकी थिइन् । यसै विषयले पीडा भएपछि उनले पहिचानको खोजीमा लेखसमेत लेखिन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दलित कस्तो हुनुपर्ने हो ? के राम्रा दलित हुँदैनन् ? जस्ता विषयमा पहिचानको बहस पनि चलाइन् । केही समयअघि मात्रै फेसबुकमा पुरन दर्नालले दमिनीको छोरो भनेर नामकरण गरेपछि आफ्नै मिल्ने साथीले फ्रेन्ड लिस्टबाटै हटाएको बताए ।
आधुनिक समाजमा विभेद हटिसकेको भनिए पनि नयाँ पिँढीले फरक रूपमा विभेद खेप्नुपरेको दलित अधिकारकर्मी बताउँछन् । अझै पनि दलित समुदायप्रतिको नकारात्मक चित्रण र धारणा नहटेको राष्ट्रिय दलित आयोगकी सदस्य रुकमाया रणपाल बताउँछिन् । सरकारले जातीय भेदभाव तथा छुवाछूत -कसूर र सजाय) ऐन, २०६८ लागू गरे पनि त्यसको कार्यान्वयन पक्ष प्रभावकारी बन्न नसकेको राष्ट्रिय दलित आयोगका अध्यक्ष मानबहादुर नेपालीले बताए ।
शनिबार दलित समुदायलाई सम्बोधन गर्दै सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले राजनीतिक पार्टीभित्र पनि जातीय विभेद रहँदै आएको स्वीकारे । उनले मानसिकतामा जबसम्म परिवर्तन आउँदैन तबसम्म विभेदको जरो गडी नै रहने सुनाए । संयुक्त राष्ट्रसंघले १९६५ मा जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरी जातीय तथा रंगभेद उन्मूलन दिवसका रूपमा मनाउने घोषणा गरेको हो ।
source:- ekantipur

No comments:

Post a Comment