अञ्जुलीमा पानी थापेर खाने दलितका लागि विशेषाधिकार आवश्यक


ललितपुर, ६ चैत । उपप्रधानमन्त्री प्रकाशमान सिंहले सबै आन्दोलनका उपलब्धि संस्थागत गर्नका लागि छिटोभन्दा छिटो लोकतान्त्रिक संविधान जारी हुनुपर्नेमा जोड दिनुभएको छ । 

राष्ट्रिय दलित आयोगको १३औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले संविधान निर्माणका विषयमा संविधानसभामा वर्षौं छलफल भई सबै राजनीतिक दल सहमतिको विन्दु नजिक पुगेकाले सहमतिबाटै संविधान निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । “वार्ताकै माध्यमबाट सहमति खोजेर सबैको अपनत्व हुने गरी संविधान बनाउनेतर्फ सरकार प्रतिबद्ध छ” उहाँले भन्नुभयो । 

आयोगका अध्यक्ष मानबहादुर विश्वकर्माले जातीय भेदभाव र छुवाछूतरहित समतामूलक समाज निर्माण गरी सबैका लागि स्वतन्त्रता, समानता, सामाजिक न्याय, मानव अधिकारको सहज उपभोग सुनिश्चितताका लागि आयोग क्रियाशील रहेको बताउनुभयो । 

आयोगका पूर्वअध्यक्ष बिजुल विश्वकर्मा, नेकपा (एमाले)का वैकल्पिक केन्द्रीय सदस्य जगत विश्वकर्मा, एनेकपा (माओवादी) ललितपुर जिल्ला इन्चार्ज अञ्जना विशङ्खे, राष्ट्रिय महिला आयोगका सदस्य उर्मिला विश्वकर्मा, राष्ट्रिय दलित आयोगका पूर्वअध्यक्ष सुशीला सिर्पालीलगायतले अञ्जुलीमा पानी थापेर खाने दलितका लागि विशेषाधिकार आवश्यक रहेको र दलित आन्दोलनका सबै विषयलाई अनिवार्य रुपमा संस्थागत गर्न जरुरी रहेको बताउनुभयो । 

सो अवसरमा जातीय भेदभाव र छुवाछूत अन्त्यका लागि योगदान गर्ने ‘दलहन’ टेलिसिरियलका निर्देशक नवीन सुब्बा, गायक राजु परियार, क्रिकेट खेलाडी सोमपाल कामी, मुसहर समुदायबाट पहिलो विद्यावारिधिप्राप्त डा दिलीप सदा, भूमि अधिकारकर्मी बलदेव राम, आयोगका शाखा अधिकृत रामबहादुर विक, नासु श्रीधर पुडासैनीलगायतलाई सम्मान गरिएको थियो । रासस

No comments:

Post a Comment