चैत ११, दाङ - वर्षौं मुद्दा जितेर पाएको जग्गामा कसरी घर बनाउने भनेर चिन्तित तुलसीपुर ४ खर्चवाकी ४० वर्षीया फुस्री परियार कम खर्चमा बाँसको घर बन्ने भएपछि उत्साहित भएकी छन् । बढीमा २ लाखमा बाँसकोे घर बनाउन सकिने भएपछि उनलाई अब आफ्नै जग्गामा सानो घर बनाउने आश पलाएको छ । श्रीमान्को निरन्तर हिंसापछि उनले तीन छोरी र दुई छोराका साथ घर छोड्नुपरेको थियो ।
अदालतबाट मुद्दा जितेर उनले तीन कट्ठा जग्गा पाएकी छन् । मुद्दा जितेको सात वर्षसम्म पनि उनले जग्गा उपभोग गर्न पाएकी छैनन् । ‘एकातिर श्रीमान्ले जग्गा उपभोग गर्नै दिँदैनन्, अर्कातिर घर बनाउने खर्च पनि छैन,’ उनले भनिन्, ‘अब सबै पीडित मिलेर बाँसको घर बनाउन सकिन्छ ।’
फुस्रीजस्ता १२ हिंसापीडित महिलाले घोराहीमा बाँसका घर बनाउने तालिम लिइरहेका छन् । उनीहरूले तालिमका क्रममा घोराहीमा नमुना घर बनाएका छन् । नेपाल महिला सामुदायिक सेवा केन्द्रको जग्गामा निर्माण भइरहेका घरलाई पीडित महिलाको आयआर्जन गर्ने थलोका रूपमा प्रयोग गरिने सक्षम महिला समूहकी अध्यक्ष रचना सुवेदीले बताइन् ।
एक साताको तालिमबाट उनीहरू बाँसको घर बनाउन सक्ने भइसकेका छन् । आफैं बनाउन सिकेकाले झनै कम खर्चमा घर बनाउन सकिने रामपुर ९ सिमलताराकी पवित्रा ओलीले बताइन् । ‘आजसम्म बसाइको दु:ख थियो । घरमा हिंसा भएपछि बसोबास ठेगान छैन,’ उनले भनिन्, ‘अब खाना खर्च मात्रै जुटाएर पनि सबै दिदीबहिनी मिलेर घर बनाउन सकिन्छ ।’ बाँसका घर बनाउने कुरालाई व्यावसायिक रूपमा विकास गर्ने सोच रहेको लक्ष्मीपुर ६ बालिमकी अनिता नेपालीले बताइन् । ‘पहिले बाँसको घर बन्छ भन्ने कुरा थाहै थिएन । हामीले बनाउन थालेको देखेपछि अरू ठाउँमा बनाइदिन माग आएको छ,’ उनले भनिन्, ‘घर बनाउने कामलाई व्यावसायिक रूपमा अघि बढाउन सकिन्छ । अब घर निर्माणको मिस्त्री बन्न सकिन्छ ।’ महिला अहिले आफ्नो कार्यालय बन्ने घर बनाउन व्यस्त छन् । सबैजना मिलेर बाँस काट्छन्, टुक्रा पार्छन्, जोड्छन् र घर बनाउँछन् । बाँसले हात काटेर चम्चाले भात खानुपर्ने अवस्था भए पनि सीप सिक्न मेहनत गरिरहेको नेपालीले बताइन् ।
पीडित महिला घर बनाउने सीप सिक्न निकै उत्सुक रहेको बाँसका घर बनाउन प्राविधिक सहयोग गरिरहेको ह्याबिट्याट फर ह्युम्यानिटीका परियोजना अधिकृत साजन महर्जनले बताए । राम्रो बाँस भए यसबाट बनेका घर ३० वर्ष टिक्ने उनी बताउँछन् । अहिले नेपालमा बनेका घर १५ वर्षसम्म टिकेको उनको अनुभव छ । ‘बाँसमा धमिरा नलागोस् भनेर रसायनहरू राख्ने गरिन्छ । पूरै संरचना बाँसको हुन्छ । बलियोका लागि बाहिर माटोले पोत्न या सिमेन्ट लगाउन सकिन्छ,’ उनले भने, ‘बाँस सजिलै प्राप्त हुने भएकाले आर्थिक अवस्था कमजोर भएकालाई यस्ता घर उपयोगी हुन्छन् । एक साताको तालिमबाट महिलाले पनि सजिलै यस्ता घर बनाउन सक्छन् ।’ घरबासविहीन हिंसापीडित महिलाले मिलेर घर बनाउने अभियान नै थालेका छन् । यसअघि सबै महिला मिलेर घोराही ११ की रविकुमारी गुरुङको घर बनाइदिएका थिए । जिल्लादेखि सर्वोच्चसम्म १३ वर्ष मुद्दा लडेर जितेको जग्गा उपभोग गर्न नपाएको अवस्थामा सबै पीडितले धर्ना दिएर घर बनाएका थिए ।
साभार :- कान्तिपुर दैनिक // दुर्गालाल केसी
No comments:
Post a Comment