दसवर्षे सशस्त्र युद्धमा कपाल फूलाएका तुल्सीराम दमाई सिलाईमा क्रियाशिल

रोल्पा, फागुन २५ गते ।दसवर्षे सशस्त्र युद्धमा धेरै पसिना बगाएका र आन्दोलनमै कपाल फूलाएका तुल्सीराम दमाई ‘सन्देश’ पूर्व जनमुक्ति सेनाका लडाकु हुन् । पाँच लाखको चेक बोकेर क्यान्टोन्मेन्ट छोडेका उनी केही समय त के गर्ने भनेर अन्यौलमै बसेको बताउँछन् । दशवर्षे माओवादी सशस्त्र द्वन्द्वको क्रममा पार्टीका विभिन्न मोर्चामा रहेर काम गरेका उनी अहिले व्यवसायिक रुपमै सिलाई कटाई पेशा अंगालेर बसिरहेका छन् । जङ्कोट–२ रोल्पा घर भई सोही गाविसकै माडीचौर भन्ने ठाउँमा ‘माडी सिलाई सेन्टर’ खोलेर बसिरहेका सन्देश सिलाई कटाईबाटै पारिवारीक समस्या टार्ने सुरमा छन् । पहिले इन्डियामा सिलाई कटाई तालिम सिकेका उनी करिब एकलाख बराबरको सिलाई कटाई सामानहरु खरिद गरी आफ्नै व्यक्तिगत पहलमा घरेलु तथा साना उद्योगमा दर्ता गरी व्यवसाय शुरु गरेका छन् त्यही व्यवसायबाट नै छोराछोरीलाई बढाउनुका साथै घरमा हुने खर्चको जोहो समेत जुटाउने गरेको उनले बताउँछन् ।
उमेरले ५० नाघिसकेका सन्देश पूर्व लडाकुमा रहँदा पनि सिलाई कटाईको काम गर्थे ।युद्धको क्रममा जङ्गल, गोठहरुमा बसि लडाकुहरुको सैन्य पोसाक सिलाउने काम गरेको स्मरण गर्दै उनले भने ‘मेरो विभागिय जिम्मेवारी नै सैन्य पोसाक सिलाउने थियो ।’ शान्तिप्रक्रिया शुरु भएपछिको क्यान्टोनमेन्ट बसाईमा पनि उनले जनसेनाकै ड्रेस सिलाए । २०४९ साल देखि नै पार्टीको काममा क्रियाशिलताका साथ लागेको भएपनि ५० देखि ५४ सालसम्म पार्टीको काम नगरी ४ वर्ष निस्क्रिय बसेको सन्देश बताउँछन् । रोल्पाकै राङ्कोटमा तत्कालिन शाही नेपाली सेनाले गरेको अन्धाधुन्द बमवारीमा परी कान कम सुन्ने गरेको बताउने उनी माओवादीको पहिले र अहिलेको गतिविधिबाट भने त्यति सन्तुष्ट छैनन् ।
माओवादी नेताहरुको बोली र व्यवहारमा पछिल्लो समय केही भिन्नता छ ।’ उनले भने ‘जसबाट जनता कार्यकर्ता सन्तुष्ट छैनन् ।’ एकीकृत नेकपा (माओवादी)का वडा अध्यक्ष समेत रहेका सन्देश अब कुनै पनि हालतमा घरपरिवार त्यागेर पार्टीमा नहिड्ने ठोकुवा गरे र उनले भने ‘पार्टीमा भन्दा टाढा गइदैन, घरै छोडेर पनि हिडिदैन ।’
माडी सिलाई सेन्टर खोल्ने र सिलाई कटाई सिक्न चाहने इच्छुकहरुलाई तालिम दिने सोचमा रहेका तुल्सीराम घरेलुबाट सहयोगको आश्वासन समेत पाए तर गाविस कार्यालयबाट अपेक्षा गरेअनुसारको सहयोग नपाएका कारण तालिम सञ्चालन गर्न नसकेको उनको भनाई छ । तालिमको लागि कुनैले सहयोग नगरे पनि आफ्नै सिलाईबाट घरपरिवारको आर्थिक भार थाम्न पाउँदा भने तुल्सीराम दमाई निकै खुशी देखिन्छन् ।

No comments:

Post a Comment