महेन्द्र बहुमुखी क्याम्पस धरानमा बौद्धिक वर्गहरुबाटै विभेद

दिनेश गजमेर- फागुन ३ धरान । आउँदो शनिबार (मार्च २१) नेपाल भरका दलित समुदायले ५० औ जातिय विभेद उन्मुलन दिवस मनाउँदैछन् । दिवसको अवसरमा विभिन्न अन्तक्रिया तथा छलफल र बहसका कार्यक्रमको आयोजनाको तयारी भईरहेको छ ।  तर धरानमा भने बौद्धिक वर्गहरुबाट विभेदका शिकार भएका उप प्राध्यापक कुल बहादुर परियारले अध्यापन गराउन पाईरहेका छैनन् । भोजपुर बहुमुखी क्याम्पसबाट महेन्द्र बहुमुखी क्याम्पस धरानमा व्यवस्थापन संकायको अध्यापनका लागि सरुवा भई आएका परियारलाई भोजपुर नै फिर्ता पठाउनु पर्ने माग गर्दै क्याम्पसका कांग्रेस निकट प्राध्यापकहरुको संगठन प्रजातान्त्रिक प्राध्यापक संघले माग गर्दै आन्दोलनमा उत्रिए पछि उनको जागिर संकटमा परेको छ । सरकारले ५० वर्ष अघि अन्तराष्ट्रिय जातिय विभेद विरुद्धको महासन्धीमा हस्ताक्षर गरे पनि , जतिसुकै विभेद विरुद्धको नारा घन्काए पनि व्यवहारमा विभेद कायमै रहेको पुष्टि भएको दलित अधिकारकर्मीको गुनासो छ । आधुनिक समाजमा जात केवल दुईवटा पुरुष या महिला मात्रै हुने पढाउँदै आएका बौद्धिक वर्गहरुबाटै विभेदका घटना सार्वजनिक हुनु आफैमा दुखद भएको उनीहरु बताउँछन् । 
परियारले अहिले क्याम्पसमा हाजिरी मात्रै गर्दै आईरहेका छन् । तर आन्दोलनरत संघले भने उनको हाजिरी रोक्का गर्दै तुरुन्तै फिर्ता पठाउनु पर्ने माग अघि सारी क्याम्पस प्रमुखको कार्यलयमा तालाबन्दी गरेका छन् । दलित भएकै कारण मलाई फिर्ता पठाउनु पर्ने माग उठ्यो परियारले भने । उनले त्रिभुवन विश्वविद्यालय रजिष्ट्रार कार्यालय कर्मचारी प्रशासन महाशाखाबाट २०७१ पुष १७ गते महेन्द्र बहुमुखी क्याम्पसमा सरुवा पत्र पाएका थिए । त्रिविको सर्वोच्च निकाय कार्यकारी परिषदको २०७१ साल पुष ६ गतेको बैठकले पारित गरेको निर्णय नं. १९८८ अनुसार उनलाई भोजपुर बहुमुखी क्याम्पसले फागुन ३ गते देखि लागु हुने गरि रमाना दिएको छ । सोही पत्र अनुसार परियार हाजिर हुन क्याम्पस आए संगै उनलाई फिर्ता पठाउनु पर्ने भन्दै संघले तालाबन्दी शुरु गरेको छ । त्रिवि सेवा आयोगको परिक्षा पास गरि २०६८ साल पुष २५ गते देखि भोजपुर बहुमुखी क्याम्पसमा नियुक्ति भएका परियारले त्रिविको निति अनुसार घर पायक पर्ने स्थानमा सरुवा भई जान पाउने प्रावधान अनुसार उनले त्रिविमा निवेदन दिएका थिए । धरान १५ का स्थायीवासी परियारले पनि महेन्द्र बहुमुखी क्याम्पस धरानमा सरुवाको लागि निवेदन दिएका थिए । त्रिविले सरुवा गरे पनि संघको आन्दोलनले उनको सरुवा संकटमा परेको छ । रिक्त पदमा नियुक्ती भएकाले कसैको जागिर माथि हस्तक्षेप गर्न नआएको परियारले बताए । 
उनले भने, मलाई रिक्तपदमा नियुक्ति गरिएको छ । कसैलाई जागिरबाट हटाएर मलाई नियुक्ति गरिएको होईन । यस अघि पनि क्याम्पसमा ६ जना सरुवा भएर आएका छन् उनीहरु विरुद्ध कसैले प्रश्न गरेनन् सोही क्याम्पसका सह प्राध्यापक विनुमान मोतेले भने, आज दलित प्राध्यापक आउँदा चै आन्दोलन भयो । यस अघि सरुवा भएका सबै प्राध्यापकहरु उच्च जातिका भएकाले कसैले विरोध नगरेको उनको दाबी छ । मोतेका अनुसार परियारको नियुक्तिले कुनै करार प्राध्यापकहरुको स्थायीमा असर गर्दैन । जो जुन विषयमा अध्यापन गराईरहेका छन् त्यही पदमा नियुक्ति हुन्छन् उनले भने । दलित समुदायका उप प्राध्यापक विरुद्धको आन्दोलन हैकमवादी चरित्रको पराकाष्ठा भएको ठहर गर्दै यहाँका दलित समुदायले आन्दोलनको चेतावनी दिएका छन् । सोमबार धरानमा भएको दलित समुदायको भेलाले लाल बहादुर सुन्च्यौरीको संयोजकत्वमा २३ सदस्यीय उप प्राध्यापक कुल बहादुर परियारलाई स्थापित गर्न संयुक्त संघर्ष समिती गठन गरेको छ । समितीले मंगलबार पत्रकार सम्मेलन गरि आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ । शान्तिपुर्ण ढंगले गरिएको आन्दोलनबाट परियारलाई क्याम्पसमा निशर्त स्थापित नगरिए दोस्रो चरणको शसक्त आन्दोलनको घोषणा गरिने समितीका सचिव शेर बहादुर परियारले बताए ।
source:- nepaldalitinfo

No comments:

Post a Comment