१२ मुक्त हलिया परिवार एउटै छानामुनि निर्बाह गर्दै


फाल्गुन २९ – बगरकोट (डडेल्धुरा),
झट्ट हेर्दा रातो माटो र कमेरोले लिपेको घर चिटिक्कै देखिन्छ । एक्लो परिवारका लागि पर्याप्तै छ । तर १२ परिवार मुक्त हलिया परिवार यही घरमा निर्बाह गर्दै आएका छन् । हलिया मुक्तिअघि उनीहरू जसको जग्गा जोत्यो, उसैको बारीको एउटा कान्लामा झुपडी हालेर बस्थे । मुक्तिपछि जग्गाधनीले हटाए । बेसहारा भएका हलियालाई अर्का हलिया कालु सार्कीले बास दिएका हुन् । ‘यो पनि मालिककै घर हो,’ कालुकी बुहारी लक्ष्मीले भनिन्, ‘यसैमा जसोतसो बसेका छाँै ।’


जहरे, भानी, बिरुवा, खडक, नन्दी, रामबहादुर, दशरथ, कल्छी र हर्क सार्कीलगायतको परिवार त्यहीं बस्छ । ‘बाजे, बुवा र म तीन पुस्तै हलिया बसियो,’ ५० वर्षीय जहरे सार्कीले भने, ‘मुक्त हुँदा आफ्नो नाममा एक हात पनि जग्गा भएन ।’
सदरमुकाम र भागेश्वर गाविस जोड्ने एनडी प्रकाश राजमार्गको छेउमै छ घर । एउटै घरले सार्की टोलको नाम पाएको छ । घरका ६ वटा कोठामध्ये तीन कोठा १२ परिवारका महिला र बालबालिकाका लागि छुट्टयाइएको छ भने अन्य ३ कोठामा पुरुष बस्छन् । सँगै, गाईबाख्रा बाँध्ने गोठ छ । ‘मालिकले दिएको १ रोपनी जग्गामा बनेको यही पुरानो घर नै हामी १२ परिवारको घर हो,’ भानी सार्कीले भने, ‘अन्त कतै घर बनाउने जग्गा छैन । घर बनाउन सक्ने हैसियत पनि छैन ।’
‘घर चुहिएर वर्षामा पानी चुहिन्छ । हिउँदमा शीत र्झछ । पाहुनालाई बास दिने ठाउँसमेत छैन । हलिया मुक्ति भयो भन्छन् । हलियाका घर बन्न थालेका सामाचार रेडियोमा सुनिन्छन् । हाम्रा लागि यही घर संसार भएको छ,’ उनले भने ।
१२ परिवारमा ८६ सदस्य छन् । सबैका अलग अलग भान्सा छन् । वर्षा नहुँदा घरबाहिर लहरै खान पकाउने गरेको नन्दी सार्कीले बताए । वर्षामा भने पालो कुरेर खाना पकाउने गरेका छन् । अर्का मुक्त हलिया रामबहादुर सार्की मुक्तिपछि झन बिचल्ली भएको बताउँछन् । उनले भने, ‘पहिले मालिकको जग्गामा त छाप्रो थियो । अहिले त्यो पनि छैन ।’ हलिया मुक्तिको घोषणा भएपछि गाउँ विकास समितिले दिएको १ लाख दामासाहीले बाँडेर बाख्रापालन थालेका छन् । ‘हाम्रा माग ठूला छैनन्,’ वषार्ंैदेखि हलेटी बस्दैआएका वृद्ध जहरेले भने, ‘सरकारले सके हातपाखुरा चलाएर खान जग्गा देओस् । नभए घर बनाउन एक टुक्रा भए पनि जग्गा देओस् ।’
‘हलिया मुक्ति भए पनि मानवीय व्यवहार हुनसकेको छैन,’ भूमि अधिकार मन्चकी जिल्ला अध्यक्ष लक्ष्मी सार्कीले भनिन्, ‘पुनस्र्थापनामा ढिलाइ गरेकाले समस्या बल्झिँदै गएको छ ।’ ६ वर्षअघि सुरु भएको हलिया मुक्ति र सशक्तीकरण कार्यक्रमले दुर्गमका हलियालाई अहिलेसम्म नसमेटेको उनीहरूको गुनासो छ ।
डडेल्धुरामा १ हजार ४ सय ४२ जनाले मुक्त हलियाको परिचयपत्र पाएका छन् । तीमध्ये घरजग्गा दुबै नभएका २ सय ६१ जना, घर भएका जग्गा नभएका ५ सय १७, जग्गा भएका घर नभएका ६५ र दुबै भएका अति विपन्न हलियाको संख्या ५ सय ९९ जना छन् ।

source:- ekantipur

No comments:

Post a Comment