दलित प्राध्यापक भएको नरुचाउने प्रजातान्त्रिक प्राध्यापक संघको ब्राह्मणवादी सोंच

चैत १३, धरान/महेन्द्र बहुमुखी क्याम्पस धरानमा प्राध्यापक गंगाप्रसाद चौलागाईको नेतृत्वमा आन्दोलनरत प्रजातान्त्रिक प्राध्यापक संघले विधि, नियम र प्रक्रियालाई मिचेर जातीय अतिवादी सोच राखी उपप्राध्यापक कुलबहादुर परियार (दलित) को विरोध गरेकाले सो समूहलाई प्रजातान्त्रिक भन्नै नमिल्ने संविधानसभाका सदस्य कृष्णकुमार राईले दाबी गरेका छन् ।
सम्पूर्ण प्रक्रिया पूरा गरेर भोजपुरबाट धरान सरुवा भई आएका उपप्राध्यापक परियारलाई फिर्ता पठाउनु पर्ने एक सूत्रिय माग राखि फागुन २० गते महेन्द्र बहुमुखी क्याम्पसमा नेपाली काँग्रेसको भातृ संगठन प्रजातान्त्रिक प्राध्यापक संघले क्याम्पस प्रशासनमा तालाबन्दी गरेको थियो । हालसम्म सो ताला खुलेको छैन । घटनाप्रति धरानमा क्रियाशील सम्पूर्ण दलित संघसंस्थाहरुको ध्यानाकर्षण भएको भन्दै जातीय पूर्वाग्रह तथा विभेद गर्ने प्रजातान्त्रिक प्राध्यापक संघलाई त्यसरी एक जना दलितको विरुद्धमा आन्दोलन नगर्न चेतावनी दिँदै संयुक्त दलित संघर्ष समिति निर्माण गरेलगत्तै थप प्रशासनिक भवनको मुखय द्धारमा ताला लगाइएको छ । शुक्रबार संयुक्त संघर्ष समितिले महेन्द्र बहुमुखी क्याम्पसमा सर्वपक्षीय छलफलको आयोजना गरिएको भए पनि छलफलमा प्रजातान्त्रिक समूहले भाग लिएन भने क्याम्पस प्रशासनले समेत छलफल गर्न हल नदिए पछि धरान १२ स्थित पब्लिक हाई स्कूलमा कार्यक्रम सम्पन्न भएको थियो ।
संघर्ष समितिद्धारा आयोजित सो सर्वपक्षीय छलफलमा बोल्दै सुनसरी क्षेत्र नं. १ का सभासद कृष्णकुमार राईले उपप्राध्यापक कुलबहादुर परियारलाई विस्थापित गर्ने अधिकार त्रिवि कार्यकारी परिषद्बाहेक अरु कसैलाई नरहेको स्पष्ट पारे । विश्व विद्यालयका प्राध्यापकलाई क्याम्पस प्रशासनले सरुवा वा बढुवा गर्ने अधिकार नभएको जान्दा जान्दै दुइचार जना ब्राह्मणवादी चिन्तन भएका प्राध्यापकहरुले उपप्राध्यापक परियारको मनोबल गिराउने कार्य गरेकाले उनीहरुमाथि कारबाही हुनसक्ने दाबी गरे ।
सर्वपक्षीय छलफल कार्यक्रममा भाग नलिए पनि सञ्चार माध्यमलाई ३५ जना करार तथा अस्थायी प्राध्यापकहरुको हक हितमा कुलबहादुरको विरोध गरेको प्रजातान्त्रिक प्राध्यापक संघले जानकारी दिएको छ । तथापी १५ वर्ष देखि सोही क्याम्पसमा करारमा कार्यरत प्राध्यापक बालजित राईले कांग्रेसी प्राध्यापकहरुको आन्दोलन नाजायज र गलत भएको बताए । उनले भने –‘हामी अस्थायी तथा करारका प्राध्यापकहरुको नाम बेचेर एउटा दलितको छोरा प्राध्यापक भएर आफुसँगै सहकर्मी हुन आयो भन्ने ब्राह्मणवादी सोंचले आन्दोलन अग्रसर छ । यो आन्दोलन अपच, अभद्र र असामान्य माग राखेर भएको छ ।’ प्राध्यापक राई नेपाल राष्ट्रिय प्राध्यापक संघका केन्द्रिय सदस्यसमेत छन् । कार्यक्रममा उनले भने–‘हाम्रो माग त्रिविसँग हो । त्रिविले हतास मानसिकतामा प्रमाण पत्र तह खारेज गरेर प्राध्यापकहरुको भार कटौती गरेको छ यसले अस्थायी तथा करारका प्राध्यापकहरु विस्थापित हुने अवस्था भए पनि महेन्द्र क्याम्पसमा कुलबहादुर परियार आउादा अरु कसैलाई असर पर्दैन । यो कांग्रेसीहरुको सुनियोजित र दलित प्राध्यापक भएको नरुचाउने ब्राह्मणवादी सोंच हो । ३५ जनाको नाम लिने अधिकार उनीहरुलाई छैन ।’
कार्यक्रममा पूर्व क्याम्पस प्रमुख सूर्यकुमार राईले आफ्नो कार्यकालमा कुनै समूह वा संगठनसँग सरुवा बढुवा लगायतका कुनै पनि सम्झौता नभएको स्पष्ट पारे । प्रजातान्त्रिक प्राध्यापक संघले अप्रजातान्त्रिक र गैर जिम्मेवारी प्रस्तुत गरेको घटना प्रति दु:ख व्यक्त गर्दै आफ्नो कार्यकालमा कुनै सम्झौता भएको भए देखाउन चुनौती दिए । क्याम्पसलाई राजनीतिक थलो भनाएकोमा आपत्ति जनाउँदै तत्काल ताला खुलाउन आग्रह गरे । उनले महेन्द्र बहुमुखी क्याम्पस त्यहाँ कार्यरत प्राध्यापक, कर्मचारी र विद्यार्थीको मात्र नभएको दाबी गरे । सम्पूर्ण धरानवासीको साझा सम्पत्ति भएकाले त्यसको संरक्षण, विकास गर्ने अधिकार सबैलाई बराबर भएको बताए ।
त्रिवि प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिका अध्यक्ष प्राध्यापक डा. भोलानाथ पोखरेलले उपप्राध्यापक कुलबहादुर परियार धरान आउनु पूर्व नै व्यवस्थापन विषयमा दरवन्दी खाली रहेको र सो स्थानमा आई पठनपाठन गर्न पाउने सहमति लिएर त्रिवि कार्यकारी परिषद्मा बुझाई त्रिवि कार्यकारी परिषदले निर्णय गरेर पठाएको बताए । उपप्राध्यापक परियार कुनै गलत काम गरेर सरुवा भई नआएको तर पुरस्कृत भएर घरपायकमा आएकाले आफुहरु प्रजातान्त्रिक प्राध्यापक संघको मागसँग सहमत हुन नसक्ने जनाए पछि ४ घण्टासम्म थुनिनु परेको खुलासा गरे । उनले भने–‘हामीलाई प्रजातन्त्रवादी भन्ने साथीहरुले थुनेका छन्, टेबुल कुर्सी फुटाएका छन्, विद्यार्थी तथा अन्य कर्मचारीलाई समेत प्रभाव पार्नेगरी प्रशासनमा तालावन्दी गरिएको छ । सम्बन्धित निकायबाट त्यस्ता अराजक प्राध्यापकहरुलाई कारबाही हुनुपर्छ । हामी कुलबहादुर परियारलाई केही दिनमा भव्य कार्यक्रम गरेर स्वागत गर्छौं ।’
क्याम्पस प्रमुख चन्द्रकुमार राई उपस्थित नभए पनि सहायक प्रमुख गोविन्दमणी दाहालले सोही कार्यक्रममा कुलबहादुर परियार नियम संगत आएकाले उनलाई क्याम्पस प्रशासनले सोही अनुसार हाजिर गराएको बताए । तर प्रजातान्त्रिक प्राध्यापक संघले आन्दोलन गर्दैमा फिर्ता पठाउने वा अन्य ठाउँमा सरुवा गर्ने कुनै अधिकार आफुहरुलाई नरहेको स्पष्ट पारे । प्रजातान्त्रिक प्राध्यापक संघको माग त्रिवि कार्यकारी परिषदमा लान सुझाव दिँदै तत्काल तालाबन्दी खोल्नुपर्ने बताए । संघको माग क्याम्पस प्रशासनको क्षेत्राधिकार भित्र नपरेको भन्दै क्याम्पसमा तालाबन्दी गरिनुको कुनै अर्थ नरहेको बताए । त्यसैगरी प्रगतिशिल प्राध्यापक संघका अध्याक्ष प्राध्यापक हरिप्रसाद दाहालले देशभर रहेको ६० वटा क्याम्पसमा हालसम्मै नभएका माग राखेर प्रजातान्त्रिक प्राध्यापक संघले आफ्नो सक्कली व्यवहार प्रदर्शन गरेको बताए । उनले भने–‘कुलबहादुर परियारलाई फिर्ता गर भनेर एक सूत्रिय माग राख्ने अनि अप्ठ्यारो हुने भएपछि ३५ जना साथीहरुको सवाल छ भन्दै वार्ता र छलफलमा पनि सहभागि नहुने ? यो कस्तो प्रजातान्त्रिक संघ हो ? अहिले प्रजातान्त्रिक प्राध्यापक संघको आन्दोलनका कारण क्यापस प्रशासन पूर्णरुपमा ठप्प छ जसका कारण नियमित कामकाजमा असर परेको छ, तत्कालै ताला खोल्ने तर्फ सबैको ध्यान जान जरुरी छ ।
कार्यक्रममा दलित सेवा संघका केन्द्रिय सह अध्यक्ष रमेश गजमेरले प्राध्यापन जस्तो प्राज्ञिक क्षेत्रमा समेत जातीय भेदभावको शिकार गर्नेलाई आफुहरु कालोमोसो दल्न र टायर बाल्न तयार भएको प्रतिक्रिया दिए । त्यस्ता भेदभाव गर्ने प्राध्यापकलाई सरकारले कानुन अनुसार तत्काल कारबाही गर्न माग समेत गरे । कार्यक्रममा सहभागी परियार सेवा समाजका वरिष्ठ उपाध्यक्ष खगेन्द्र नेपालीले क्याम्पसमा प्रजातान्त्रिक प्राध्यापक संघको आन्दोलन जातीय हिंसा उन्मुख भएको निष्कर्षमा पुगिसक्दा समेत सम्बन्धित निकायबाट दोषीलाई कारबाही नहुनु कानुनी राज्यको प्रत्याभूति हुन नसकेकोले अब दलित समुदायले नै कारबाही गर्ने बताए । उनले सेना, प्रहरी जस्ता क्षेत्रमा पनि छुवाछूत हुने गरेको खुलासा गरे । निबृत्त प्रहरी समेत रहेका नेपालीले शैक्षिक क्षेत्रमा समेत छूवाछूत विद्यामान रहेकाले आफुहरुमा विद्रोही मानसिकताले बढि काम गर्ने वातावरण राज्यले बनाउदै लगेको बताए ।
कार्यक्रममा प्रा.डा.टंक न्यौपाने, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य किशोरकुमार कार्की, अखिल क्रान्तिकारीका समिप साम्पाङ, अग्रगामी विद्यार्थी युनियनका सुमन राई, नेकपा –माओवादीका दिलबहादुर रामदाम, संघीय समाजवादी पार्टीका पारस काम्माङ, नेकपा एमालेका नारायण सुवेदी, धरान उप–महानगरपालिका शिक्षा समितिका अध्यक्ष शंकरप्रसाद पोखरेल लगायतले प्रजातान्त्रिक प्राध्यापक संघले गलत माग राखि आन्दोलन गरेकाले तत्काल ताला खुलाउन पहल गर्नुपर्नेमा जोड दिएका थिए । यदि ताला नखुले सम्पूर्ण धरानवासीको तर्फबाट ताला खोलिने चेतावनी समेत दिएका थिए ।

source:- महाप्रतिवाद समाचार

No comments:

Post a Comment