पर्यटकलाई अब दलितका घरमा पनि बसाउँछौं,’ - अध्यक्ष प्रेम घलेले

आश गुरुङ चैत १५, लमजुङ,
घलेगाउँ र काउलेपानी क्षेत्रका दलितका घरमा होमस्टे सञ्चालनको तयारी गरिएको छ । जातीय छुवाछूत न्यूनीकरण गरी आयआर्जनमा वृद्धि गर्न दुवै ठाउँका ग्रामीण पर्यटन विकास समिति र होमस्टे व्यवस्थापन समितिले तयारी थालेका हुन् । घलेगाउँमा १४ वर्षदेखि होमस्टे सञ्चालनमा छ । ‘पर्यटकलाई अब दलितका घरमा पनि बसाउँछौं,’ ग्रामीण पर्यटन विकास समिति घलेगाउँका अध्यक्ष प्रेम घलेले भने, ‘पर्यटक जहाँ बस्न रुचाउँछन्, त्यहीं बसाउनु हाम्रो कर्तव्य हो ।’
घलेगाउँमा बर्सेनि पर्यटक बढिरहेका छन् । दलित समुदायलाई पनि ग्रामीण पर्यटनको लाभमा भागीदार बनाउन होमस्टे विस्तार गर्न लागिएको उनले बताए । ‘अहिले भएकाले पुगेको छैन, सबै जातजातिको समान सहभागिताका लागि यस्तो कदम अनिवार्य भएको छ,’ उनले भने । घलेगाउँका ३२ घरधुरीमा होमस्टे सञ्चालित छ ।
दुवै गाउँका दलित समुदायका चार घरमा होमस्टे सञ्चालनका लागि जिविसले ३०/३० हजारका दरले एक लाख २० हजार रुपैयाँ विनियोजन गरेको कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेलले जानकारी दिए । यसबाट पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने काउलेपानी होमस्टे सञ्चालक समितिका अध्यक्ष देउबहादुर गुरुङले बताए ।
source: ekantipur

No comments:

Post a Comment