दिनहुँ दाउरा बोकेर आफ्नो पढाइमात्र नभई आवश्यक घरखर्चको समेत जोहो

जाजरकोट–खगेनकोट वडा नं ६ सिमा टोलका ११ वर्षिय तुले विक बिहानै उठ्नुहुन्छ । अनि डोको बोकी हुस्सु र शीतले छपक्कै छोपेको गारकमद जङ्गलमा पुग्नुहुन्छ । 

नौ बजेसम्ममा एक डोको दाउरा ल्याएपछि हतारहतार घर फर्केपछि सुरु हुन्छ, स्कुल जाने तर्खर । दिउँसभरि पढेपछि साँझ भोक–थकानको प्रवाह नगरी तुलेले फेरि दाउराको भारी लिएर राडीबजारको होटेलमा हाजिर हुनुपर्छ । सीमाकै ९ वर्षिय बुदे विकको दिनचर्या पनि तुलेको भन्दा फरक छैन । तुले दिनहुँ दाउरा बोकेर आफ्नो पढाइमात्र नभई आवश्यक घरखर्चको समेत जोहो गर्नुहुन्छ । 

चरम गरिबी र बाबुआमाको बच्चाबच्चीप्रति ध्यान नदिने मानसिकताका कारण सिमा गाउँका दलित बालबालिका कलिला हातले घाँस, दाउरा बोक्न बाध्य छन् । गाउँकै लेकबेसी प्राविमा कक्षा ४ मा अध्ययनरत तुलेले बाबुले गर्नुपर्ने कामको जिम्मासमेत आफ्नै काँधमा आइपरेको बताउनुभयो ।  तुले भन्नुहुन्छ, “म पाँच वर्षको हुँदा बा बित्नुभयो । आमालाई सबै काम गर्न सम्भव हुँदैन । त्यसैले दुई–चार हजार कमाउन दाउरा र घाँस बोक्नै पर्यो ।” अहिलेसम्म कमाएको पैसाबाट घरायसी सरसामान, खाद्यान्न तथा कापी, कलम र पोसाकमा खर्चेको तुलेले बताउनुभयो । 

दाउरा बोकेर थरथरी का“पिरहेका अर्का बालक रामबहादुर विकले पारिवारिक अवस्थाका कारण आफ्नो पढाइ प्रभावित भएको पीडा सुनाउनुभयो । रामबहादुर भन्नुहुन्छ, “सरले गृहकार्य  दिनुहुन्छ । कक्षामै बसेर अर्का कुनै साथीलाई फकाएर सरसर्ती सार्नुपर्छ । घरमा लेखपढ गर्ने वातावरण छैन ।” दाउरा, घाँस, बालुवा सङ्कलन गर्नु आफूहरुको दैनिकी भएको बालबालिकाको भनाइ छ । उनीहरुले घरमा  दैनिक चामल, नुन, तेल, साबुन, लुगाफाटो जुटाउन दाउरा र घाँस नबोकी सुखै नपाइने गुनासो गरे । भएको पैसासमेत बाबुको उपचारमा खर्च हुन्छ, ५ कक्षाका विद्यार्थी देउमी विकको व्यथा थियो, त्यसका लागि आमा र म लागेर केही काम त गर्नै पर्यो । 

देउमी विक भन्नुहुन्छ, “दुईभाइ सानै छन् घरको जमिनमा उत्पादन गरेको अन्नले वर्ष दिनको चार महिना पनि खान नपुग्ने भएका कारण समस्य आएको उनको भनाइ छ ।”जाजरकोटका अधिकांश दलित समुदायका बालबालिकाको अवस्था यस्तै रहेको छ । लक्षित वर्गको भनेर गाविसबाट गएको पैसा दलित भित्रकै टाठाबाठाले कामै नगरी खाने र निम्न स्तरका दलित समुदायसम्म सो रकम जान नसेकेका कारण यस्तो समस्य बढी आएको सरोकारवाला निकायहरु बताउँछन् ।

No comments:

Post a Comment