जातीय छुवाछुतको मुद्धा श्रीमानकै चेम्वरसम्म आई पुग्यो भने ?- मिलन परियार

CDO ko Bidai
२०७१ चैत्र ८ गते विहान करिब ११ बजे सबै सरकारी कार्यालयका प्रमुख,गैरसरकारी संस्थाका प्रमुख र सुरक्षा निकायको बाक्लो उपस्थितिकाबीच कर्मचारी मिलन केन्द्र सिलगढीको सभाहलमा बिगत ६ महिनायता डोटीमा खरो तर ईमान्दार सिडियोको रुपमा कार्यरत रहदा निकै चर्चामा रहेका जिल्ला प्रशासन कार्यालय डोटीका सिडियो लोकनाथ पौड्यालको मध्यमश्चिमको दाङ जिल्ला प्रशासन कार्यालयमा सरुवा भएपछि बिदाई समारोह हुदै थियो । जिल्ला प्रशासन कार्यालयमा सिडियो भएर आए देखीनै आफू मातहतका कर्मचारीको कमान्डमा निकै तेजिला अनी खरो स्वभाव तर ईमान्दार भएकाले पनि उनको बिदाई भब्यताका साथ हुदै थियो । बिदाईमा सम्पूर्ण सरकारी कार्यालयका प्रमुख,सुरक्षा निकायका प्रमुखको अनिवार्य उपस्थिति थियो नै । गत भदौ २३ गतेदेखी जिल्ला प्रशासन कार्यालय डोटीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेनैै निकै चर्चामा रहेका सिडियोप्रति स्थानीय राजनीतिक दलका नेताहरु निकै चिडाएका थिए । दिपायल सिलगढी नगरपालिकाको भर्खरै सम्पन्न २१ औं नगर परिषद् होस वा गत फागुन ६ गते जिल्ला विकास समिति डोटीको १९ औं जिल्ला परिषद्को तयारीका लागि जिविसमा आयोजित योजना तर्जुमा बैठकमा आसन ग्रहणको बिषयलाई लिएर राजनीतिक दलका नेता र सिडियोबीच बिवाद उत्पन्न हुदै आएको थियो ।
आफू नेपाल सरकारको सह सचिव तहको कर्मचारी भएकाले सरकारको मर्यादा क्रम सम्बन्धि ब्यवस्था अनुसार जिल्ला स्तरका नेता,कार्यकर्ता भन्दा आफू मर्यादा क्रममा पहिलोनै भएको डोटीका सिडियोले पटक पटक दोहो¥याउदै आएपछि दलका नेताहरु उनी प्रति निकै चिडिदै आएका थिए । सरकारी कार्यालयको कार्यक्रम बाहेक गैरसरकारी संस्थाका कार्यक्रममा सहभागी नहुने,नेपाल सरकारको नीति,कानुन विपरित काम नगर्ने कार्यशैलीका कारण पनि सिडियोप्रति राजनीतिकर्मी मात्र नभएर एअजिओकर्मी पनि नकारात्मकनै देखिन्थे । बिभिन्न कार्यक्रमहरुमा उनीहरुबीच चर्काचर्की समेत हुने गरेको थियो । केही दलका नेताहरुले त सिडियोलाई घमण्डी,छुच्चो,साईकोका संज्ञा समेत दिर्दै आएका थिए । सिडियोले डोटीका नेता ज्यूहरुलाई टेर पुच्छर नलगाएपछि उनीप्रति बजारमा अनेकन हल्ला चलेका थिए ।
हल्लाको बास्तविकता पत्ता लगाई सिडियो प्रति दलका स्थानीय नेता ज्यूहरु किन चिडिनु भएको रहेछ वा उनीप्रति आम डोटेली जनताको बुझाई कस्तो रहेको छ भन्ने जिज्ञासा सिडियो यस जिल्लामा आएदेखिनै थियो । उनीप्रति दलका नेता ज्यूहरुले लगाउने गरेको खरो,अटेरी,साईको जस्ता आरोप बारे सिडियोको प्रतिक्रिया लिन आईतबार अर्थात चैत्र ८ गते बिहान साढे १० बजे जिल्ला प्रशासन कार्यालय पुगेको थिए । प्रशासन गेट प्रबेश गरे लगत्तै सुरक्षार्थ खटिएका तमाम सुरक्षाकर्मीहरु म तिर आएर सर कता होला ? भनेर सोधे मैले सिडियोलाई भेट्न आएको भने,उहा त हुनुहुन्न अन्तै जानु भएको छ उनले सुनाए । सिडियोका बारेमा बजारमा चलेका हल्लाहरु बारे लेखिएको आलेख पुरा नहुने भयो भन्ने चिन्ताले सुरक्षाकर्मीलाई अन्तै भनेको कता हो ? मैले पुनः जिज्ञासा राखे । उहा आज जादै हुनुहुन्छ त्यसैले उहाको कर्मचारी मिलन केन्द्रमा बिदाई कार्यक्रम हुदैछ । भनेर जवाफ फर्काए । त्यहा ककसलाई बोलावट छ,जान मिल्छ त भन्दा हजुर पत्रकार हो भने जानु न सर सुरक्षाकर्मीको सुझाए अनुसार हतार हतार प्रशासन कार्यालयको पछिल्तिरको बाटो प्रयोग गरी पर्खाल नाघदै मिलन केन्द्रको सभाहलमा पुगे । त्यहा फुलमाला पहिरिएर मलिन अनी गम्भिर मुढमा सिडियो साफलाई सभाहलको शिर्ष स्थानमा बसेको देखे । अघिल्तिरको कुर्ची भरिएकाले पछिल्तिरको कुर्ची रोजेर बसियो । क्यामरा अन गरे र सिडियो साफको एक पोज फोटो किलिक्क गरी हाले ।
फोटो खिच्ने को होला भन्ने सायद सिडियोलाई परेछ क्यारे छड्के नजरमा मतिर पुलुक पुलुक हेरि रहे । पोज लिएर कुर्चीमा बस्न भ्याको थिएन् हुल बाधेर कार्यालय प्रमुखहरु भित्र प्रबेश गरे । सोही क्रममा डोटी जिल्ला अदालतका माननीय न्यायाधीस धन सिं महरा ज्यू को पनि प्रबेश भयो । न्यायाधीस ज्यू को प्रबेश लगत्तै मान,सम्मानमा निकै ख्याल राख्ने सिडियोले श्रीमान,श्रीमान भन्दै हसिलो मुद्रामा स्वागत गरे । सिडियोको स्वरमा स्वर मिलाउदै स्थानिय विकास अधिकारी ध्यानकुमार थापा लगायतका सरकारी कार्यालयका प्रमुखहरुले पनि श्रीमान,श्रीमान भन्दै खुब भक्तिभाव गरे । सायद त्यही भक्तिभावकै कारण होला श्रीमान प्रफूल्ल अनि गम्भिर देखिनु हुन्थ्यो । सिडियो सापकै शब्दलाई सापटी लिएर यो पंक्तिकारले पनि यो आलेखमा श्रीमान शब्दनै प्रयोग गरी आफूमाथी भएको बिभेदको बेलिबिस्तार गरेको छ ।
कार्यक्रम संचालक जिल्ला निर्बाचन कार्यालयका प्रमुख बासुदेव खनालले औपचारिक कार्यक्रम सुरु गरेपछि कार्यक्रमको सभाध्यक्ष कर्मचारी मिलन केन्द्रका उपाध्यक्ष तथा दिपायल सिलगढी नगर पालिकाका कार्यकारी अधिकृत तिलक बहादुर खड्कालाई र प्रमुख अतिथि सिडियोलाई र बिशिष्ट अतिथि डोटी जिल्ला अदालतका श्रीमानलाई आसन ग्रहण गराएपछि शब्द करेक्सन गर्न लगाउदै सिडियोले संचालकलाई आसन ग्रहणका क्रममा श्रीमान शब्दनै प्रयोग गर्न लगाई डोटी जिल्ला अदालतका श्रीमानलाई निके महत्व दिएका थिए । खरो स्वभाव अनी मर्यादा क्रममा निकै ख्याल गर्ने सिडियोको बिदाई कार्यक्रम भएकाले पनि कार्यक्रम कसरी अघी बढाउने भनी संचालक बासुदेव खनाल अलमल्ल परेपछि सिडियो सापकै निर्देशनमा स्थानीय विकास अधिकारी र श्रीमानले मन्तब्य राखेर बिदाईका लागि टिका ग्रहण कार्यक्रम तय गरियो । मन्तब्यको क्रममा श्रीमानले पनि सिडियो सापको निकै प्रशंसा गर्नु भयो । उहा जस्तो क्षमता भएको ब्यक्ति यहा प्यासिव रहेर बसी रहन पनि गारो छ त्यसैले डोटी भन्दा निकै ठूलो र बिशाल जिल्लामा जान लाग्नु भएकोमा अग्रिम शुभ कामना दिदै सफल कार्यकालको लागि शुभेच्छा दिनुभयो ।
मन्तब्य कार्यक्रम सकिए पश्चात टिका लगाउने कार्यक्रम सुरु हुने भयो । टिका कस्ले सुरु गर्ने भन्नेमा सबैमा द्धिबिधा थियो यही बिच श्रीमानले टिका त ब्राम्हणको छोरालेनै लगाई दिनु पर्छ आफु त क्षेत्रीको छोरा परियो त्यही पनि टिका चल्दैन् । आफू आमाको बर्षिमा रहेको कुरा समेत श्रीमानको शब्द र पहिरनबाट ब्यक्त भयो । श्रीमानको फैसला अनुसार बिदाई कार्यक्रमका सहभागी मध्येमै ब्राम्हण कर्मचारीको खोजि भयो । कतिले सभाहलमा अग्रस्थानमा बसेका दिपायल सिलगढी नगर पालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशी तिर आखा तेस्र्याए त कतिले जिल्ला कृषि विकास कार्यालय डोटीका योजना अधिकृत कृष्णदत्त पाण्डेतिर आखा लगाए । रमेशचन्द्र जोशी र कृष्णदत्त पाण्डे दुबैलाई टिका लगाई दिन अनुरोध गरे । कृषि विकास कार्यालयका योजना अधिकृत भन्दा पछिल्तिरको कुर्चीमा बसेका दिपायल सिलगढी नगर पालिकामा एलजिसिडिपी कार्यक्रम अन्र्तगत सुशासन बिज्ञको रुपमा कार्यरत अर्जुन बिश्वकर्मा र यो पंक्तिकार श्रीमानको त्यो फैसलाले अन्यायमा परेका थियौ । कहि कतै हेर न फेर सिधै गरेको श्रीमानको एकल फैसलाले आफू अन्यायमा मात्र होईन अपमानितनै भएका थियौ । श्रीमानको फैसला स्थलमै किन आईएछ भन्ने पनि लागी रहेको थियो ।
सरकारी वकिल र कानुन ब्यवसायीको बहस सुनेकै आधारमा फैसला सुनाउने बानी लागेको भएर पनि हुनसक्छ श्रीमानले कार्यक्रममा सहभागी कोको भएका छन् । भन्ने ख्यालै नगरी राज्यको न्यायालय जस्तो क्षेत्रमा आसिन ब्यक्तिबाटै पनि दलितमाथी गरिने ब्यवहार,चिन्तन उजागर गरेको छ । डोटीका श्रीमानलाई यसमानेमा बधाई पनि दिन चाहान्छु कीनकी उहाले दलितप्रति राज्यको न्यायालयमा न्यायमूर्तिको रुपमा आसिन गैर दलितहरुको नियत प्रष्ट उजागर गरेको छ । फेरी बिदाई कार्यक्रमकै प्रसंगलाई निरन्तरता दिन चाहान्छु । सबै पालैपालो लाईनबद्ध सिडियोलाई टिका,माला लगाएर शुभ कामना दिदै थिए । श्रीमानको फैसला सुन्ने बित्तिकै अर्जुन बिश्वकर्माले भने मेरो डायरी समातेर ब्राम्हणलेनै टिका लगाई दिनु पर्छ भन्ने कुरा बिभेद होईन र भन्ने शब्द लेखेर देखाउनु भयो । मैले यो बिषयमा आलेख लेख्ने बचन दिए । बिदाई कार्यक्रममा सिडियोको भब्य विदाई भई रहदा सबै पालैपालो टिका,माला लगाई दिदै बिदाई शुभ कामना दिदै थिए । मलाई भने मनमनै आफूमाथी भएको अपमानले बिभेद्को आगो सल्कि रहेको थियो । श्रीमानको बिभेदको तिखो काडाले मुटु चसचस घोचि रहेको थियो । खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ । बर्षौ देखि चोट सहदै आएका नेपालभरका ५० लाख दलितहरुलाई मात्र थाहा होला । सायद त्यसैले होला भित्रभित्रै बिभेदको ज्वाला बली रहेको थियो ।
त्यसै बेला सबैको पालो सकिनै लाग्दा करिब अन्त्यतिर अर्जुन बिश्वकर्माले टिका लगाएर शुभ कामना दिनु भयो अन्तिममा पालो मेरै आयो तर श्रीमानको फैसला अनुसार सुरुमा टिका लगाउन अयोग्य भएको मेरा लागि भने निकै पिडाले सताई रहेको थियो अन्तः फूल दिएर शुभेच्छा जनाए । अन्यायमा परेका जनतालाई न्याय दिलाउने जस्तो गरिमामय पदमा आसिन श्रीमानलेनै सार्बजनिक स्थलमै परम्परालाई निरन्तरता दिर्दै ठाडो अपमानित शब्द प्रयोग गरी बिभेद गर्नु हुन्छ भने स्वयं जातीय छुवाछुतबाट पिडित बनेका निम्छरा दलितहरु न्यायका लागि न्यायालयको ढोका ढकढक्याउन पुगे श्रीमानबाट कस्तो न्यायको आस गर्लान ? श्रीमानहरुकै जातीबादी सोचकै कारण जातीय छुवाछुतको मुद्धा सरकारबादी मुद्धा हुदाहुदै पनि अहिलेसम्म दलितले कहि कतै जितेको वा पिडिकलाई कारवाही भएको उदाहरण छैन् । जातीय छुवाछुत गर्नेलाई अपराधको रुपमा लिदै कडा कारबाही गरिने कुरा मुलुकी ऐन २०२० मा कानुनी ब्यवस्था गरिएको छ । तर त्यो लागु भएको ५१ बर्षसम्म कार्यान्वयनमा नआउनुको कारण यस्तै जातीबादी सोच हाबी भएको प्रष्ट बुझिन्छ । कालान्तरमा जातीय छुवाछुतको मुद्धा श्रीमानकै चेम्वरसम्म आई पुग्यो भने पिडितको पक्षमा सरकारी वकील र विपक्षमा कानुन ब्यवसायीको बहस भई रहदा बहस सुनेर चेम्बरमा बस्नु हुने श्रीमानले निम्छरा दलितलाई कस्तो न्याय दिनुहोला ? म लगायतका दलित समुदालाई उहाको ब्यवहारले शंका जन्माई दिएको छ । यदी उहाको कार्य अबधीभर न्याय सम्पादनमा त्यसो भएको छैन भनेपनि अब श्रीमानले शब्द प्रयोगमा ख्याल गर्ने होकी ? सबैलाई चेतना भया ।

No comments:

Post a Comment