सरदार बस्तीमा आगलागी हुदा जलेर एक ६० वर्षीय वृद्धको मृत्यु

चैत १३, राजविराज- सप्तरीको कञ्चनरूप नगरपालिका ६ को दलित बस्तीमा बिहीबार आगलागीमा जलेर एक ६० वर्षीय वृद्धको मृत्यु हुनुका साथै ३३ परिवारका ७९ घर जलेर नष्ट भएका छन्। आगो नियन्त्रण गर्न आसपासका २८ घर भत्काइएको छ।
आगोमा जलेर ६० वर्षीय चलितर सरदारको ज्यान गएको हो। झमेली सरदारको घरमा लागेको आगो बस्तीभरि फैलिएको थियो। प्रहरी उपरीक्षक शिशिर कर्माचार्यका अनुसार १२ बजे सुरु भएको आगलागी सशस्त्र, नेपाल प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दा र राजविराज, इनरुवा तथा इटहरी बारुण यन्त्रको प्रयासमा ४ घण्टापछि नियन्त्रणमा आएको  थियो। क्षतिको पूर्ण विवरण आइसकेको छैन।

सरकारले केही महिनाअघि उक्त गाउँलाई पनि कञ्चनरूप नगरपालिकामा गाभेको थियो। उक्त क्षेत्रका ११ वटा गाविसलाई मिलाएर नगरपालिका घोषणा गरिए पनि दमकल छैन। सदरमुकाम राजविराजमा भने एउटा दमकल छ। घटनास्थल राजविराजबाट ३० किलोमिटर उत्तर-पश्चिममा रहेकाले दमकल आइपुग्न ढिलो भएको स्थानीयले बताए।
ज्यान गुमाएका सरदारका परिवारलाई प्रमुख जिल्ला अधिकारी एवं जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष वीरेन्द्रप्रसाद यादवले साढे १० हजार रुपैयाँ किरिया खर्च प्रदान गरेका छन्। पीडित प्रत्येक परिवारलाई १५ हजार रुपैयाँ र खाद्यान्न दिइएको छ। ‘अग्निपीडितलाई त्रिपाल उपलब्ध गराउनका लागि रेडक्रसलाई भनेको छु, सकेसम्म चाँडो  उपलब्ध गराउने प्रयास हुनेछ,’ प्रमुख जिल्ला अधिकारी यादवले भने।

नेकपा (एमाले) ले सप्तरीको कञ्चनरुप नगरपालिका पडेमारा टोलको दलित बस्तीमा गए राति भएको भीषण आगलागीबाट पीडित परिवारलाई उचित क्षतिपूर्ति, राहत र पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । 

अध्यक्ष केपी शर्मा ओलीले आज विज्ञप्ति जारी गरी मृतकका परिवारप्रति समवेदना र पीडित परिवारमा सहानुभूति प्रकट गर्दै आफैँमा गरिबीबाट आक्रान्त बनेको सो बस्तीमा तत्कालीन राहत र पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ भने अन्य सङ्घसंस्थालाई मानवीय सहयोग गर्न आह्वान गर्नुभएको छ । 

No comments:

Post a Comment