गन्धर्वहरुको विकास कसरी गर्न सकिन्छ ? - चम्फासिंह भण्डारी


गन्धर्व समुदायको पुख्र्यौली घर नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको कास्की बागलुङ र स्याङ्जा जिल्लाहरुमा रहेको पाइन्छ । घुम्दै आउने क्रममा सारंगी बजाउदै खानाको जोहो गर्ने गन्धर्व समुदाय मध्यपश्चिममाञ्चल विकास क्षेत्रको बर्दिया जिल्ला सोरहवा गाविस स्थित मानखोलाको किनारमा बसोवास गरे ।
गन्धर्व समुदायको बसोवासका लागि सुकुम्वासी समस्या समाधान आयोगले २०५२ सालमा १० धुर देखि १ का जग्गा मानखोलाको किनारमा उपलब्ध गराएको छ तर यति थोरै जग्गामा उनीहरुलाई खेतीपाती गरेर खान सक्ने अवस्था छैन । उनीहरुसंग रहेको जमिन उत्पादनशील नभएको कारण जमिनवाट उत्पादित अनाजले उनीहरुलाई खान पुग्दैन । नेपालमा गन्धर्व समुदायलाई गाइने समुदायको रुपमा सबैले जान्दछन । गन्धर्वहरु आफनो पीडा ब्यथाहरुलाई मिठो लयमा आफ्नो परम्परागत बाजाका रुपमा रहेको सारंगी बजाएर मानिसहरुको मुटु छुने स्वर र लय प्रस्तुत गर्ने गर्दछन । विशेष गरी हुनेखाने वर्गकोे घर घरमा गएर यसरी सारंगी बजाउ“दै केही खाद्यान्न संकलन गर्दै आफनो परिवारको जीविकोपार्जन गर्दै आइरहेका छन ।
गन्धर्व समुदाय परम्परागत सारंगी बजाउ“दै जीविका सञ्चालन गर्ने एकमात्र दलित समुदाय हो । यो समुदाय सामाजिक र आर्थिक रुपमा ज्यादै पछाडी पारिएको समुदाय पनि हो । गन्धर्व समुदायको परम्परागत गाएर जीविकोपार्जन गर्ने सीप र कला आधुनिक सञ्चार एवं मनोरञ्जनका साधनहरुको बढ्दो प्रभावका कारण विस्थापित अवस्थामा पुगेकोछ ।
गन्धर्व समुदायका युवाहरु छिमेकी मुलुक भारतमा गएर मौसमी रुपमा मजदुरी गर्ने र घर परिवारका अन्य वृद्ध तथा महिलाहरु गाउंमै मौसमी कृषि मजदुरका रुपमा काम गरेर जीविकोपार्जन गरिरहेका छन । अचेल केही युवाहरु खाडी मुलुकहरु कुवेत इराकमा गएर काम खोज्ने क्रम बढेपनि नेपालवाट श्रम इजाजत नभएको हु“दा भारतका विभिन्न दलालहरु मार्पmत ती मुलुकहरुमा गएर अवैध श्रम गर्नुपर्ने ह“ुदा त्यो पनि जोखिमपूर्ण रहेको छ ।
सुकुम्वासी समस्या समाधान आयोगले २०५२ गन्धर्व समुदायलाई बर्दिया जिल्ला सोरहवा गाविसको मानखोला किनारमा सानो टुक्रा जमिन दिएर बसोवास गराएकोछ । उनीहरुलाई उपलब्ध गराइएको जमिनवाट उत्पादित अन्नले वैशाख र मंसिर गरी दुई महिना मात्र खान पुग्छ । विगत दुई वर्ष देखि केही गैर सरकारी संस्थाहरु सहकर्मी समाज, गरिबी निवारण कोष, दलित सेवा संघ र थारु उत्थान महिला केन्द्रले गन्धर्व समुदायको उत्थानका लागि आफना केही कार्यक्रमहरु सञ्चालन गरेकोछ ।
आर्थिक अवस्था कमजोर रहेका कारण गन्धर्व परिवारको जीवन कष्टप्रद रहेकोछ, महिलाहरु उत्पादनशील तथा घरायसी काममा संलग्न रहेका छन । आधुनिक सञ्चारका माध्यमहरुको प्रभावका कारण उनीहरुको परम्परागत सन्देश सम्प्रेषण गर्ने काम विस्थापनमा परेकोछ । उनीहरुको नियमित काम परम्परागत नेपाली संगित सारंगी बजाएर अन्न संकलन गर्ने काममा कठिनाई आएकोछ र यो काम उनीहरुले पाउन छोडेका छन र यो सुरक्षित पनि छैन । यही कारणले उनीहरुको यो पेशा एउटा सा“स्कृतिक विधा मात्रै रहेकोछ ।
आर्थिक अवस्था कमजोर, सामाजिक रुपमा विभेदित र गरीवी र शिक्षावाट वञ्चित गन्धर्व समुदायले प्राथमिक शिक्षा भन्दा माथि पढने अवसर पाएका छैनन । धेरै गन्धर्वहरु विभिन्न मेला पर्वहरुमा संगीत क्षेत्रको काम पाइने आशाले लागि नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा वसाईसराई गरेका छन तर नेपालको पर्यटकीय नीतिमा उनीहरुको यो सारंगी बजाउने पेशाको सम्मान गरेको पाइदैन । उनीहरु राज्यले उनीहरुको सीप र कलाको आधुनिकीकरण र संगीत सामाग्रीहरुको उत्पादन र विक्री वितरणको ब्यवस्था गरिदेओस भन्ने माग गर्दछन ।
गन्धर्व समुदायले सुकुम्वासी समस्या समाधान आयोगले दिएको जग्गा आफनो नाममा दर्ता गर्नुपर्ने, गन्धर्व समुदायका वालवालिकाहरुलाई अध्ययनका लागि पुरै छात्रवृत्ति प्रदान गरिनुपर्ने,प्रत्येक घरपरिवारलाई रोजगारीको अवसर प्रदान गरिनुपर्ने र आयआर्जनका कार्यक्रमहरु जस्तै बंगुरपालन, बाख्रापालन तथा कुखुरापालनका लागि आवश्यक स्रोत उपलब्ध गराउनुपर्ने र सामुदायिक वनमा पहुंच स्थापित गर्नुपर्ने माग गरेका छन ।
आफना मागहरुलाई लिएर गन्धर्व समुदायले फियान नेपालको सहयोगमा १७–१९ जनवरी २०११ मा तिनदिने तालिम कोहलपुरमा सम्पन्न गरेकोछ जसमा वांके बर्दिया, सुर्खेत र दाङ जिल्लाका ४० जना को सहभागिता रहेको थियो । गन्धर्व समुदायका लागि सामाजिक सुरक्षा सम्वन्धी कार्यक्रमहरु अन्तर्गत स्थायी बसोवासको ब्यवस्था हुनुपर्ने,जग्गाको लालपुर्जाको ब्यवस्था, गन्धर्व समुदायको परम्परागत गाइने पेशाको संरक्षण र सम्वद्र्धनका लागि गन्धर्व जागरण समाजको गठन, जिल्ला र क्षेत्रीय स्तरमा ३१ जनवरी २०११ मा फियान नेपाल र मध्यपश्चिमाञ्चल गन्धर्व जागरण समाज बीचमा बांकेको नेपालगन्जमा अन्तरक्रिया भएको थियो ।
खाद्य अधिकारका लागि वकालत गर्दै आएको आधकारवादी संस्था फियान नेपालको सहयोगमा क्षेत्रीय स्तरको गन्धर्व समाज संघर्ष समितिले सुर्खेतमा पुनरावलोकन तथा योजना बैठक सम्पन्न भयो जसमा ११ जिल्ला बांके, बर्दिया, सुर्खेत, जाजरकोट, दा¨,सल्यान, दैलेख, प्यूठान, अर्घाखाची, कास्की र पाल्पाका ६० जना सहभागिहरुले आ–आफनो जिल्लामा र्यालीहरुको आयोजना गर्ने र गन्धर्व समुदायका मागहरु जिल्ला प्रशासन मार्फत नेपाल सरकारलाई पठाउने काम गर्यो ।
गन्धर्व समुदायले र्याली, धर्ना र ज्ञापनपत्र मार्पmत आफना मागहरु अघि सारेको, क्षेत्रीय प्रशासन मार्फत सरकारसंग ११ सूत्रीय माग प्रस्तुत गरेको, सुर्खेतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको, सम्वन्धित मन्त्रालयमा डेलिगेशन गई स्मरणपत्र बुझाउने काम गरेको,प्रेस सम्मेलन, रिपोर्टस क्लव काठमाण्डौमा संविधानसभा सदस्य तथा मन्त्री दलवहादुर सुनार,गैर सरकारी संघसंस्थाहरुसंगको अन्तरक्रिया, जुन २१ मा स्टाफ कलेज फियान नेपाल संगको अन्तरक्रिया, अन्तराष्ट्रिय स्तरको इन्टरभेन्सन एसियन ह्यूमनराइट्स कमिशन हडकडले नेपाल सरकारलाई लिखित पत्राचार गरेको जस्ता दर्जनौ दवावमूलक कामहरु सम्पन्न भएका छन ।
गन्धर्वहरुको विकास कसरी गर्न सकिन्छ ? कसरी उनीहरुको जीवनमा सहजता ल्याउन सकिन्छ भन्ने सन्दर्भमा गन्धर्व समुदायका बीचमा धेरै छलफल र अन्तरक्रियाहरु भएका छन । आपूmभित्रको समस्याको समाधान खोज्ने, गन्धर्वहरुकै उत्थान कसरी हुन्छ भन्ने कुरामा उनीहरु स्वयंपनि सचेत र जागरुक हुनु महत्वपूर्ण छ र सामाजिक रुपान्तरणको यो अभियानमा उनीहरुको शक्ति एकत्रित हुनु अनिवार्य छ । प्रतिभा, कला, र संस्कृति भएको गन्धर्व समुदायको सम्पत्ति राष्ट्रकै सम्पत्ति हो र उनीहरुको सीप क्षमता, कला बढाउदै बजारीकरण गर्न सक्यौ भने त्यसवाट स्रोत सिर्जना गर्न सकिन्छ । गन्धर्व समुदायसंग भएको कला, सारंगी उनीहरुको विशेष सम्पत्ति हो र त्यो नेपाली सबैको सम्पत्ति पनि हो त्यसको प्रवद्र्धन संरक्षण गर्नु आवश्यक छ ।
source:- नेपालगन्ज

No comments:

Post a Comment