भाई, नेपाल फर्कन्नँ कामी भनेर सबैले हेप्छन् - प्रकाश ढुंगाना


एक वर्षअघि पारिवारिक कामले दुईपटक नयाँ दिल्ली जानु पर्‍यो। पहिलोपटक जाँदा दिल्लीमा भएका आफन्त र छरछिमेक कसैलाई भेट्ने साइत जुरेन। दोस्रोपटक भने धेरैजसोसँग भेट्न पाइयो।
दिल्ली विधानसभा निर्वाचनका कारण सरकारी कार्यालय र कूटनीतिक निकायहरू बन्द थिए। यसको असर हाम्रो काममा पर्‍यो। दिल्ली बसाई लम्बिँदै गयो। दिल्ली पुगेर फेसबुकमा स्टाट्स र फोटो अपलोड गर्नेबित्तिकै त्यहाँ रहेका साथीभाइ र इष्टमित्रले फोन गरिहाल्ने।
‘अघिल्लोपटक त आइनस्, यसपटक त पक्कै आउँछ्स् होला नि,’ गाउँले छिमेकी दाइले फोन गरे, ‘जसरी पनि खाना खाने र बस्नेगरी आइज। घरमा आमालाई मोबाइल र केही रुपैयाँ पठाइदिनु पर्ने छ।’
‘बस्नेगरी त होइन, खाना खानेगरी आउँछु,’ मैले उनको ठेगाना मागेँ।
दिल्लीको पहारगन्जनजिकै आफू बसेको होटलबाट अटो लिएर म र्‍याडिसन ब्लु होटल पश्चिम बिहारआसपासको क्षेत्रमा ठेगाना हेर्दै पुगेँ।
दाइ पर्खिरहेका थिए। ड्राइभर पेसामा रहेका उनी गाडी लिएरै आएका थिए। गाडीमा बसेँ।
‘बिहे गरेपछि मोटाउँस् भनेको उस्तै ख्याउटे रैछ,’ दाइले मेरो चिन्ता गरे। म मुसुमुसु हाँसे।
‘आज अफिस जानुपर्दैन दाइ?’
‘मेरो बोसलाई अफिस पुर्‍याएर आएँ,’ उनले भने, ‘अब एकैपटक ६ बजेतिर लिन जाने हो।’
१५-२० मिनेट जति टाढा पुर्‍याएपछि उनले गाडी रोके। गाडी वरै पार्किङमा राखेर ५ मिनेटजति भित्र गल्लीमा लगे। सात तल्ले अपार्टमेन्टको चौथो तल्लामा पुगियो।
‘ल हेर, यही हो दाइको फ्लाट। दुई वर्ष मात्र भो लिएको, नत्र रेन्टमा बस्थेँ,’ उनले सगौरव भने।
चार कोठा र किचेन। शानसँग बसेका रहेछन् दाइ। दुई छोरीको भारतीयसँग नै बिहे गरिदिएका थिए उनले। ४२ वर्षका दाजु २१ वर्षकै उमेरमा दिल्ली लागेका हुन्। पछि दुई भाइ पनि उत्तै लिएर जानुभयो। दुईपटक नेपाल आएको थाहा छ मलाई, त्यही पनि दसैँमा। पछि फेसबुकले सम्बन्ध अझ गाढा नबनाइदिएको भए चिनिँदैनथियो होला।
हामी दिउसो १ बजेतिर पुगेका थियौँ। भाउजूले खाना बनाइराख्नुभएको रहेछ। भाउजूलाई नेपाली बोल्न नआउने, मलाई हिन्दी। तर, कुरा दुवैले दुवैको बुझ्ने। खाना खायौं।
मैले कुरा अघि बढाएँ, ‘दाइ, जग्गाजमिन उत्तै छ। बुढी आमा छिन् अब नेपाल नजाने?’
‘जान्नँ भाइ। त्यहाँभन्दा मलाई यतै ठिक छ,’ उनले कारण खुलाए, ‘त्यता छि: छि: र दूरदूर। कामी भनेर सबै ठाउँमा हेला गर्छन्। पानी पधेँरोदेखि चिया पसलसम्म।’
‘सधैँ यतै बस्ने त?’
उनले भने- फर्कन त मन छ नि। आफू जन्मको हुर्केको ठाउँ कसलाई मन पर्दैन। तर के गर्नू? जातका कारण मैले सहनुपर्ने हेयको कारण मलाई यहीँ ठिक छ भाइ। कमसेकम यहाँ मैले सम्मान त पाएको छु।
दाइको यति कुरा सुनेपछि मैले यही विषय तन्काइराख्न सकिनँ। पहारगन्जसम्म दाइले आफैँले चलाउने गाडीमा छाडिदिँदा मन खिन्न भयो। जातका नाममा हुने विभेदका कारण यी दाइ गाँउ छाडेर बिरानो ठाउँमा आए। यस्ता दाइ कति होलान्?
* * *
९ वर्षअघि हात्तीपाइले र जुकाको औषधी खुवाउने अभियानमा जिल्ला जनस्वास्थ्य कार्यालय हेटौंडाको टिममा छानिएको थिएँ। मेरै नाम गरेका प्रकाश ओलीसँग मिलेर मैले हेटौँडा चुरियामाई गाविसको वडा नम्बर २ का तीन हजारभन्दा बढी घरपरिवारका सदस्यलाई हात्तीपाइले र जुकाको औषधी खुवाउनु पर्थ्यो।
हामी दुई भाइ बस्तीमा गयौँ। वैशाखको महिना। गर्मी, उखरमाउलो घाम अनि चिटचिट पसिनाले शरीर भिजेको छ। औषधी खुवाउँदै जाँदा म एक घरमा पुगेँ। औषधी खुवाए। प्यास औधी लागेको थियो।
‘आन्टी पानी खाउँ न,’ मैले स्वाभाविक आग्रह गरेँ।  
अन्दाजी ६ वर्षको बाबु बाहिर निस्क्यो र भन्यो, ‘अंकल, तपाईंले हामीले दिएको पानी खान हुँदैन।’
‘किन?’
‘हामी दमाईंले दिएको पानी तपाईंहरूले खान हुँदैन रे, आमाले भनेको,’ राम्रोसँग बोली फुट्नसमेत नसकेको बाबुले कण्ठ गरेको पाठ सुनाएझैँ एकै सासमा भन्यो, ‘तपाईंको घरमा त हामी पनि जानु हुँदैन।’
म झसङ्ग भएँ। यति सानो बालकको दिमागमा जातीय विभेदको कुरा कसरी गाडिएको छ।
‘त्यसो होइन,’ मैले यति मात्र भन्न सकेँ। र, पानी खाएँ। त्यो बाबुले पछिसम्म मलाई जिस्क्याउँदै थियो।
* * *
बसन्तपुरमा केही समयअघि भएको एसिड कान्डले मलाई यी दुई घटना फेरि एकपटक आँखाअगाडि ल्याइदिएको छ। संगीता मगरलगायतलाई एसिड छ्यापेको अभियोगमा पक्राउ परेका जीवन विकले जातीय विभेदका कारणा बाध्य भएर ‘त्यसो’ गरेको बयान दिएका छन्। 
२०६३ जेठ २१ गते छुवाछुतमुक्त राष्ट्र घोषणा गरिए पनि नेपालमा जातीय भेदभाव अझै हटेको छैन । बारम्बार ‘कामी’ भन्दै जातीय बाणले घोचेपछि त्यसको बदलामा संगीतामाथि एसिड छ्यापेको जीवनले प्रहरीसमक्ष स्विकारिसकेका छन्।
जीवन मात्र होइन, जातीय भेदभावको सिकारमा परेको। अन्तरजातीय विवाह गरेका कारण कयौं जोडी विस्थापित भएका खबर हामीले बेलाबेलामा सुनिरहेकै छौं।
नेपालमा छुवाछुत र जातीय विभेद ऐन २०६८ लागू भए पनि कार्यान्वयन हुन सकेको छैन। जातीय विभेद अन्त्य नभएसम्म जातपातकै विषयमा जीवन बिकजस्ता अरू पनि अपराधमा होमिइँदैनन् भन्न सकिन्न।
source:- setopati

No comments:

Post a Comment