बजारभाउको महङ्गाइले आकाशै छुन आँटेकोबेला कसैले मूफ्तमा आफ्नो श्रम बेच्छ भनेको सुन्दा जोकोहीलाई आश्चर्य लाग्नसक्ला । दुर्गम् गाउँका महिलाहरु अझैपनि विनामूल्य शरीर थिलथिलो पारेर श्रमगर्न बाध्य छन् । लालाबालाका मुखमा माड्लाउन समयको सीमाविनै बझाङ्का अधिकांश गाउँका हलिया महिलाहरु दिनरात नभनी श्रम गर्छन् । सरकारले मुक्तघोषणा गरेको पाँचवर्षसम्म पनि मालिक्का घरबाट मुक्त हुननसकेका अधिकांश हलिया परिवारका महिलाहरु श्रीमान्सँगै मालिकको घरमा विनामूल्यको श्रम बेचिरहेका छन् । उनीहरुको कुनै ज्याला तोकिएको छैन ।
लुयाँटा–४ वस्तीगाउँ, बझाङ्की मस्तकला नेपाली (५१) ले श्रीमान्सँगै स्थानीय मालिकको घरखेत र बारी स्याहार्नमा दिन बिताउँछिन् । तर उनको ज्याला कति हो मस्तकलालाई थाहा छैन । पाँच छोरी र एक छोराकी आमा नेपालीले बालबच्चाको पेटपाल्न पनि दुधेबच्चा काखीच्यापेर श्रीमान्सँग बारीमा काम गर्छिन् । उनको कामगर्ने समयसीमा तोकिएको छैन । जतिबेला पनि अह्राएको काम
गर्नुपर्छ । “के गर्ने हजुर ! आफ्नो त जग्गा, घर केही छैन, मालिकले दिएको खाने हो, सुविस्ता भए त अन्तै काम गर्नुहुन्थ्यो” उनी भन्छिन् ।
समय मिलेकाबेला कहिलेकाहीं अरुको साथलागेर ज्यालामजदुरी गर्न जानेगरेको बताउने नेपालीले दैनिकज्याला १५० रुपिया पाउने सुनाइन् । “नदीबाट ढुंगा, बालुवा, गिट्टी निकाल्ने काम गर्छौ, पुरुषले दैनिक ३०० रुपिया पाउँछन्, हामी त्यसको आधामात्र” नेपालीले सुनाइन् । महिला पुरुषबीच ज्यालामा आधाआधीको फरक हुनुको कारणबारेको जिज्ञासामा नेपालीले भनिन् “त्यसबारे हामीलाई त केही थाहा हुँदैन, ठेकेदारले लागेको रेट यही हो, ‘गरे गर नगरे घरजाउ’ भन्छ गर्नै प¥यो ।” पुरुषभन्दा महिलाको काममा कुनै अन्तर नहुने दावीगर्दै नेपाली थप्छिन् “पुरुषहरु सुर्ती, खैनी, चुरोट खानेबहानामा विश्राम गर्छन्, दिनभरी काममा लागेकोलाग्यै हुन्छौं, तर पनि ज्याला कम छ, कसैले बोल्दैन काम नगरी साँझको खान पुग्दैन ।”
सोही गाउँकी मन्धरी नेपाली (६१) को पीडा पनि उस्तै छ । तर उनी मुक्तहलियाकी श्रीमती हुन् । ज्यालामजदुरीकै सहारामा जीवन गुजारा गरेको बताउने मन्धरीले दलित भएकैकारण चियापसल र व्यापार रोजगार नपाएको गुनासो गर्छिन् । “हामीले गरेको श्रम मेहनत चल्छ तर हामीले पकाएको चिया, नास्ता, खाजा केही चल्दैन, त्यहीकारण चियापसल पनि राख्न सकिएन” उनी गुनासो गर्छिन् । “स्थानीय विद्यालयमा पियनको जागीर खानपनि सकिएन । शिक्षक सबै गैरदलित छन्, हामीले बनाएको चिया र गिलासको पानी चल्दैन” उनले समस्या विसाइन् ।
गाउँमा अझै छुवाछूत व्याप्तरहेको अनुभव सुनाउने मन्धरीले स्थानीय मन्दिरमा गैरदलितले अझै प्रवेशगर्न नदिएको बताइन् । “घर नजिकै भगवतीको मन्दिर छ, प्रवेश गर्न पाइँदैन, गैरदलितका धारामा पानीथाप्न पाइदैन, घण्टौं हिडेर मूलको पानीथाप्न जानुपर्छ” उनले पीडा सुनाईन । कहिलेकाहीं पाउने ज्याला मजदुरीमा पनि विभेद रहेको बताउने नेपालीले न्यून ज्यालामा श्रम बेच्नुपर्ने बाध्यता रहेको बताइन् । नेपालीले थपिन् “काम गरुँ भने ज्याला कम छ, नगरुँ साँझ विहानको गर्जो
टर्दैन ।”
लुयाँटा (७ कोटेली, बझाङ्की मनकला सार्की (५२) पनि मुक्तहुन नसकेकी हलियाकी श्रीमती हुन् । दिनलगाएर मालिकको घरकै ओखलमा धान कुट्छिन् तर त्यसको मूल्य पाउँदिनन् । धान कुट्ने मिलमा जानआउन दिनभरी समयलाग्ने बताउने सार्कीले घरकै ओखलमा धान क्ट्दा छिटोहुने बताइन् । ओखलमा कामगर्दा हातमा फोकैफोका परेको देखाउँदै सार्कीले भनिन् “मालिक्ले धानकुट्ने पैसा दिंदैन, ओखलमै कुट भन्छ, जसोतसो गर्नैपर्छ हजुर !” भन्दै सार्कीले थपिन् “हामी त अरुले दिएको खाने मान्छे, अह्राएको काम दुःखसुख गर्नैप¥यो ।”
लुयाँटा–४ की सञ्जा वि.क. (४१) अपाङ्ता भएको श्रीमान् धनविरे वि.क.की श्रीमती हुन् । मुक्त हलिया विकको परिवारमा ११ जना सदस्य छन् । मुखले बोल्ननसक्ने र कान नसुन्ने शारीरिक अपाङ्गता भएका विक यसअघि स्थानीय जयलाल सिंहको घरमा हलिया
थिए । स्थानीयस्तरमा ज्यालामजदुरी गरेर जीवन पालिरहेका विक परिवारले मेहनत गरेजस्तो पारिश्रमिक
पाउँदैनन् । २५ वर्षसम्म मालिक्को घरमा हलिया जीवन विताएका विक परिवारको गर्जोटार्ने समस्या छ ।
बझाङ्का प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमिल्सिनाले अधिकांश दलितहरु हलिया भएकाले उनीहरुको श्रमअझै बजारमा विक्नेअवस्था बन्न नसकेकोमा दुःख व्यक्त गर्नुहुन्छ । हलियाले बनाएको चिया विक्दैन, उत्पादन गरेको दुध विक्दैन, चुल्हो चल्दैन त्यसले पनि गुजारागर्नेमा समस्या परेको तर्क तिमिल्सिनाको छ । यद्यपि मुक्तहलियाको जिविकोपार्जनका लागि सरकारी तवरबाटै तरकारी खेतीगर्ने तालिम दिने तयारी भएको उहाँ बताउनुहुन्छ ।
स्थानीयस्तरमा छुवाछूतको परम्परागत सोच विद्यमान रहेकाले समस्या समाधानमा कठिनाई भएको बुझाई तिमिल्सिनाको छ । ज्याला मजदुरी गर्दा महिला र पूरुषमा विभेद नगरी समान ज्याला निर्धारण गरिएको भएपनि व्यवहारमा सो अझै कार्यान्वयन नभएको बुझाई प्रमुख जिल्लाअधिकारी तिमिल्सिना स्वीकार्नुहुन्छ । प्रायः सोबारेमा गुनासो नआउने गरेको बताउने उहाँले ज्यालामा विभेद भएको गुनासो आएको भए त्यसलाई कार्यान्वयनमा प्रशासनिक पहल गरिने बताउनुहुन्छ ।
मुक्तहलियाको क्षेत्रमा लामो समयदेखि पैरवी गर्दैआउनुभएका अधिवक्ता तथा राष्ट्रिय मुक्त हलिया महासंघका कानूनी सल्लाहकार बालाराम भट्टराईले पाँचवर्षअघि सरकारले हलियालाई दासदासी जिवनबाट मुक्तगरेको घोषणा गरेपनि सो घोषणाले हलिया हैन, मालिक मुक्तभएको तर्क गर्नुहुन्छ । सरकारले विनातयारी हलियाको मुक्ती घोषणा गरेर हलियालाई थप समस्यामा पार्नेकाम गरेको भन्दै अधिवक्ता भट्टराईले भन्नुहुन्छ “पाँचवर्षसम्म सरकारले मुक्तहलियाको लगत नै लिनसकेको छैन, पुनस्र्थापनाको कामगर्न झन कति समय लगाउला, लाजमर्दो भएको छ ।”
मुक्तहलिया पुनस्र्थापना कार्यदलका पूर्व संयोजक हरि श्रीपाइलीले सरकारको गैर जिम्मेवारीपनले हलियाको श्रमको मूल्यसमेत तोक्न नसकिएको बताउनुहुन्छ । आम मजदूरहरुको दैनिक ज्यालाको मूल्यसमेत मुक्तहलियाले पाउन नसकेकोमा दुःख व्यक्तगर्दै श्रीपाइलीले भन्नुहुन्छ, “हलियाहरु हिजोसम्म मालिकका दासदासी थिए, आज सरकारको दासदासी बनेका छन् ।”
राष्ट्रिय मुक्त हलिया महासंघका अध्यक्ष मोहनबहादुर सार्कीका अनुसार हलियाको समस्याबारे सरकार र राजनीतिकदलहरु जानकार भएपनि इच्छाशक्तिको अभावले पुनस्र्थापना हुन सकेको छैन । मुक्तहलिया परिवारका सदस्यहरु ज्याला मजदुरी गरेर जीवन बाँचिरहेका भएपनि उनीहरुको श्रम शोषण अझै भइरहेको तर्क सार्कीको छ । स्थानीय बजारमा ज्यालामजदुरी काम नपाएपछि मुक्त हलियाहरु पुरानै मालिकको घरमा विनाज्याला कामगर्न बाध्य भइरहेको बुझाई अध्यक्ष सार्कीको छ । “बाहिर काम नपाएपछि के गर्नु ?
मालिकले एक छाक खानदिएर दिनभरी श्रम शोषण गर्छ, केही नपाएकाहरु निशुल्क श्रमगर्न बाध्य छन्” सार्कीको दुखेसो छ । सुदूरपश्चिमका नौ र मध्यपश्चिमका तीन गरी १२ जिल्लामा १९ हजार ५९ घरधुरी हलिया रहेको सरकारी तथ्याङ्क छ । सोमध्ये १० हजार १० जनाले मात्र परिचयपत्र प्राप्त गर्न सकेका छन् ।
यस्तै, बझाङमा २८४८ मध्ये १९०१ हलिया घरपरिवारको प्रमाणिकरण भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ । तत्कालिन सरकारले २०६५ भदौ २१ गते हलियाहरुलाई मुक्त घोषणा गरेको थियो ।
source:-लक्की चौधरी//nepalgunjnews
No comments:
Post a Comment