२१ बर्ष पछि अन्तरजातिय बिबाहपछि जन्मेको सन्तानलाई बाबुले स्वीकारे

nagaritaचैत १०, पर्वत,नेस / जमिनमा टेकेपछि नावालकले आफ्ना बाबु आमाको काख खोज्छ , तर  एउटा अवोध बालकले  आफ्नो बाबुलाई बाबा भनेर बोलाउन त पाएन छोराको दर्जा पाउन पनि उसले २१ बर्ष कुर्नुप¥यो । अन्तरजातिय बिबाहपछि जन्मेको सन्तानलाई बाबुले स्विकार नगर्दा  २१ सम्म छोराको पहिचान लिनका लागि लड्दै आएका एक युबाले अन्ततः बाबुकै नामबाट नागरिकता पाएका छन ।
पर्वतको  कुश्मा नगरपालिका वडानं १ पाङ्गका २१ बर्षिय सुवाष मल्ललाई बाबु यामबहादुर मल्ले छोराको रुपमा स्विकार गरि नागरिकता दिएका हुन ।  पर्वत जिल्ला अदालतमा चलिरहेको अंश, मासिक खर्च लगायतका मुद्दामा मिलापत्र गर्दै बाबु यामबहादुरले सुवाषलाई छोराको रुपमा स्विकार गरेर आफ्नै नामबाट  नागरिकताको प्रमाणपत्र दिएका छन ।

स्थानिय कोपीला नेपाली र यामबहादुर मल्लको अन्तरजातिय बिबाहपछि जन्मेका सन्तानलाई बाबुले छोराको रुपमा स्विकार नगरेपछि सुबासले बाबुका बिरुद्ध पर्वत जिल्ला  अदालतमा  अंश, मासिक खर्च लगायका ८ वटा मुद्दा दायर गरेका थिए । चैत्र ४ गते अदालतमा उपस्थित भएका बाबु यामबहादुरले नागरिकता दिन र अंश वापत २ लाख रुपैया दिन मञ्जुर भएपछि दुबै पक्षका बिचमा  मिलापत्र भएको सुवाषको पक्षबाट मुद्दा लडिरहेका अधिबक्ता दिलीप पौडेलले जानकारी दिए ।
सुवासले २०६७ सालमा प्रबेशिका परिक्षा पास गरेपछि उच्च शिक्षा हासिल गर्न तथा रोजगारीका अवसर समेत नागरिकताको अभाबमा गुमाउँदै आएका थिए  । जन्मेपछि बाबुको माया त के छोरा हुँ भन्ने अधिकार खोज्दैमा २१ बर्ष बितेपनि अहिले आफुँको  पहिचान र अधिकार दुबै पाएको सुवासले बताए । ‘अहिले सम्म नागरिकता नहुँदा र बाबुले छोरा नभन्दा मैले ठुलो दुःख पाएको थिए’ उनले भने‘तर अहिले सबैभन्दा ठुलो सफलता प्राप्त गरेको महसुस गरेको छु ।’
दलित समुदायकी कोपिला नेपाली र गाउँको संभ्रान्त परिवार मानिने यामबहादुर मल्लका बिचमा प्रेम बिबाह भएको थियो । प्रेम बिबाह पछि जोडी भागेर दैलेख पुगेको समयमा २०४९ सालमा सुवाष मल्लको जन्म भएको थियो । अन्तरजातिय प्रेम सम्वन्धबाट स्थापित वैवाहिक सम्वन्धबाट सुवाष मल्लको जन्म भएपनि परिवारको दबाबमा यामबहादुरले कोपिला र सुवाषलाई गाउँमा छाडेर बेपत्ता भएका थिए । उनले अर्को बिबाह गरि बुटवलमा बस्दै आएका थिए ।
सुवासले बाबुलाई आफुँ जान्ने भएपछि  अदालतमा पहिलो पटक देख्न पाएको बताए । पहिले मल्लको परिवार संग नागरिकता र अंश माग गर्दा छोरा भएको अस्विकार गरि पटक पटक दुःख दिएपछि घर परिवारबाट सुवाष  आफ्नो छोरा नभएको भनी असहयोग भए पछि उनले  पर्वत जिल्ला अदालतमा अंश मासिक खर्च लगायतका ८ वटा मुद्दा दायर गरेका थिए । सुवाषको  सम्पर्कबाट टाढा रहेका यामबहादुर मल्लले सुवाष आफ्नो छोरा नभएकोले अंश दिनु नपर्ने व्यहोराको प्रतिउत्तर वारेश मार्फत लगाएका थिए ।
पर्बत जिल्ला अदालतले सुवाष मल्ल र यामबहादुर मल्लको विचको नाता एकीन गर्नका लागी डि.एन.ए.परिक्षणको आदेश सम्म गरेको थियो । डि.एन.ए.परिक्षणमा यामबहादुर मल्ल अनुपस्थित भए ।  अन्ततः मुद्दा दायर भएको तीन बर्ष पछाडी सुवाषका वावु यामबहादु्र मल्लले सुवाषलाई आफ्नो छोरा स्वीकार गरी आफ्नै नामबाट नेपाली नागरिकताको प्रमाण पत्र दिन राजी भएका हुन् ।

वावुले आफ्नो छोरा स्वीकार गर्न इन्कार गरी नेपाली नागरिकताको प्रमाण पत्र नपाएकाले १२ कक्षा अध्ययन गर्दा गर्दे आफ्नो अस्तित्व रक्षाका लागी मुद्दा लड्नु परेको हुँदा सुवाषको अध्ययन कार्य विचैमा रोकिएको थियो । “मुद्दा ममिलाको कारण मेरो पढाई विचैमा छाड्नु परे पनि वावुको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकामा आफुलाई ठूलै युद्द जितेको महसुस भएको छ ।” हर्षित हुँदै सुवाष मल्लले वताए ।
पर्बत जिल्ला अदालतमा यामबहादुर मल्लले सुवाष मल्ललाई छोरा नाता कायम गरी मिलापत्र गरेका हुँदा सुवाषलाई वावुको नामबाट नेपाली नागरिकताको प्रमाण पत्रका लागी सहज वनेको हो । पर्वत जिल्ला अदालतमा मिलापत्र हुने क्रमको छलफलमा सुवाष मल्ले आफुले जस्तो नियति अरु कुनै पनि छोराहरुले भोग्नु नपरोस भन्छन ।  वावु यामबहादुर मल्लले सुवाषलाई आफ्नो छोरा स्वीकार गर्नु निकै सकारात्मक कार्य भएको र यो कार्यले सुवाषका सवै प्रकारका नागरीक हकहरु स्थापित भएको हुँदा भविष्यमा विगतमा जस्तो सुवाष मल्लले कुनै पनि प्रकारको कानुनी जटिलता व्यहोर्नु नपर्ने कुरा सुवाष मल्लका तर्फबाट  विगत तीन वर्ष देखि मुद्दा लडदै आएका  अधिवक्ता दिलीपराज शर्माले वताए । हाल  सुवाष मल्ल पर्बत कुश्मामा आमा सँगै वस्दै आमाको पेशामा सहयोग गर्दै आएका छन् ।

साभार :- नेपाल समाचार 

No comments:

Post a Comment