कतारमा पिसाव गर्न नपाएर जगतराम वर्देवा नेपाल फर्किएँ

किरण लोहनी/उज्यालो । गोरखा, चैत ७ - गोरखा नगरपालिका १० का जगतराम वर्देवा गएको पुसको पहिलो हप्ता रोजगारीका लागि कतार उड्नुभयो ।  यसअघि ५ वर्ष त्यहाँ बसेर फर्केकाले उहाँलाई कतारका हरेकजसो ठाउँ, त्यहाँको रहनसहन र बोलीचालीका लागि आवश्यक पर्ने भाषाको ज्ञान थियो ।
तर यो पटक भने २ महिना पनि उहाँ कतारमा टिक्न सक्नु भएन । म्यानपावरको ठगी, भनिएभन्दा कम तलव जस्ता आम नेपालीले भोग्ने समस्या पनि उहाँले भोग्नु परेन । सुन्दा सामान्य लाग्ने तर एउटा गम्भीर खालको समस्याका कारण उहाँ नेपाल फर्कनु भयो । उज्यालो अनलाइनसँगको कुराकानीमा वर्देवाले भन्नुभयो ‘खासमा म पिसाव गर्न नपाएर नेपाल फर्किएँ ।’
अघिल्लो पटक दोहामा गाडी चालकको काम गरेका वर्देवा यो पटक भने ७५ हजार रुपैयाँ खर्च गरेर अल रायन शहरमा पुग्नुभएको थियो र काम गाडी चालककै थियो । ‘यो पटक कस्तो भैदियो भने कति वजेदेखि कति वजेसम्म गाडी चलाउने भन्ने निश्चित नै भएन’ वर्देवा भन्नुहुन्छ “बिहान ५ वजेदेखि राति ११ वजेसम्म यात्रु ओसार पसारकै क्रममा भइन्थ्यो ।’
उहाँ नेपालीहरुले सञ्चालन गरेको मुनलाइट लेमोजिन सर्भिसेज नाम गरेको कम्पनीमा भाडाका गाडी चलाउनुहुन्थ्यो । कामको प्रकृति अन कल ट्याक्सीको जस्तै । ‘एकतिर यात्रु पुर्‍याउन नपाउँदै अफिसबाट अर्को ठाउँमा जानका लागि फोन आइसक्थ्यो’ वर्देवा हाँस्दै भन्नुहुन्छ ‘अनि कहाँबाट दिसा पिसाव गर्न भ्याउनु ?’ समयको चाप एउटा कारण भएपनि गाडी पार्किङ गर्ने अप्ठ्यारो र सार्वजनिक शौचालय भेट्नै मुस्किल हुनाले वर्देवाले दिसापिसावका लागि सधैं सास्ती बेहोर्नु पर्‍यो । ‘बिहान ५ वजे कोठाबाट निस्केपछि ११ वजेतिर खाना खान नफर्केसम्म दिसा पिसाव रोक्नु पर्थ्यो’ उहाँले भन्नुभयो ‘बिहान कम पानी खाएर निस्कने गरेको थिएँ, तर लगातार ६ घण्टासम्म रोकेर बस्न पनि सम्भव भएन ।’ कतारमा मस्जिद र पेट्रोल स्टेसनहरुमा बाहेक अन्त सार्वजनिक शौचालय भेट्न मुस्किल हुने उहाँको अनुभव छ ।  
त्यसो भए अरु सवारी चालकले चाहिँ के गर्छन् त ? वर्देवा भन्नुहुन्छ ‘धेरैजसोले त रोकेर बस्ने नै हो, सकिएन भने बोतलमा पिसाव गर्ने, बेलुका कोठामा फर्केपछि तह लगाउने ।’ तर आफूलाई त्यस्तो गर्न मनले नमानेको र नेपाल फर्किएको उहाँले सुनाउनुभयो ।
सार्वजनिक स्थलमा पिसाव गरेको मात्रै ५ सय रियल अर्थात झण्डै १३ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने नियम छ । सार्वजनिक गाडी भन्दा निजी गाडी र त्यसमा पनि वर्देवाले जस्तो अन कल गाडी चलाउनेलाई शौचालयको सास्ती हुने गरेको छ । सवारी चालककै काम गर्न जाँदा पनि त्यसबारे विस्तृतमा बुझेर जान उहाँको सल्लाह छ ।

No comments:

Post a Comment