लक्ष्मी विकले मृत्युको मुखमा पुगेको शिशुको उद्दार गरि धर्मपुत्र बनाइन

आदर्श केसी/उज्यालो । रुकुम, चैत्र ८ - जस्तो सुकै भएपनि आफूले जन्माएको सन्तानको माया कुन आमालाई हुँदैन होला ? तर पनि त्यस्ता निर्दय आमाहरुको पनि यो समाजमा छन्, जसले  आफैंले जन्माएको नवजात सन्तानलाई काँडेझारीमा फालेर हिँड्छन । भर्खर जन्मिएको आफ्नो छोराको कुनै दया र माया रहेन ती आमालाई जसले २०७० साल असोज महिनाको एक विहान आफ्नो सन्तानलाई काँडेझारीमा फालेर हिँडिन् । 
तर अहिलेसम्म पत्ता नलागेकी ती आमाले फालेर हिँडेको बालकलाई मुसिकोट नगरपालिका ५ की ३६ वर्षकी लक्ष्मी विकले भेट्टाउनु भयो । र अहिले पालनपोषण गरेर बालकलाई हुर्काई रहनु भएको छ । 
लक्ष्मी विहान ७ बजेतिर सल्ले विमानस्थलतिर जादै हुनुहुन्थ्यो । पिसाव लागेर उहाँ सडकको खोल्सातिर जादा निर्दयी आमाले छाडेको बच्चा रोइरहेको देख्नुभयो । साल समेत नकाटेर सायद जन्मिएको एक दुइ घण्टामा छाडेको उक्त वच्चाको अलाप विलापले लक्ष्मीको मन पग्लियो । विहे गरेको १९ बर्षसम्म पनि कुनै सन्तान नहुँदा श्रीमानसँग सम्बन्ध विच्छेद गरिसकेकी लक्ष्मीलाई लाग्यो अव यही बच्चालाई लिएर छोरा सरह पाल्छु । उहाँले भोलिका दिनमा कुनै अप्ठेरो पर्ने हो कि भनेर आफूसँग भएका अन्य साथीहरुसँग पनि सल्लाह गर्नुभयो । साथीहरुले कुनै समस्या आउने भएकाले सुरुमा प्रहरीलाई खवर गरेपछि मात्र सोच्नु पर्ने सल्लाह दिए ।  तर रगतसँगै पोतिएको बच्चाको ज्यान जोखिममा भएकाले बच्चालाई बचाएपछि मात्र घटनाको बारेमा प्रहरीलाई खवर गर्ने सोच लक्ष्मीले गर्नुभयो । लक्ष्मीले भेट्टाएको बच्चालाई धर्मपुत्रको रुपमा पालनपोषण गर्ने आँटका साथ घरमा लैजानुभयो ।
मजदुरी गरेर जेनतेन पेटपाल्दै आएकी लक्ष्मीलाई चुनौति र अवसर आयो । जसो तसो एक्लै पालिँदै आएको जीवनमा नवजान शिशु थपिएपछि लक्ष्मीलाई के खाने र वच्चा कसरी पाल्ने समस्या आयो । तर पनि उहाँले वच्चाको लालनपालनमा कुनै कमी गर्नु भएन । रोग प्रतिरोधात्मक खोपदेखि वच्चालाई आवश्यक सबै कुरा एक्लैले पुरा गर्नुभयो । 
बच्चा हुर्कदैँ गएपछि उसको जन्मदर्ता गर्नको लागि उहाँले कानुनी कुरा पुरा गर्नका लागि प्रक्रिया अघि बढाउनुभयो । लक्ष्मीलाई साथ दियो प्रहरीले । सोही अनुसार बच्चा कसैको हो भने दावी गर्न आउन ३५ दिने सुचना समेत जारी गरियो । आमाले फालेको वच्चालाई कसले पो मेरो भन्थ्यो र ? आइतबार जिल्ला प्रशासन कार्यालय रुकुममा जिल्ला वालकल्याण समिति रुकुमको आयोजनामा धर्मपुत्र राख्न पाउने लक्ष्मीको अधिकारलाई सुनिश्चितसमेत गरियो । 
निमित्त प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राणाले अवोध बालकको उद्दार गरि उच्च मानवियता देखाएकोमा लक्ष्मीप्रति आभार समेत प्रकट गर्नुभयो । सहभागी सवैको सल्लाहबाट वच्चाको नाम लक्कीसमेत राखियो । भाग्यमानी वच्चा भएकाले उसको नाम लक्की राखिएको निमित्त प्रजिअ राणाले बताउनुभयो । आफैं समस्यामा रहेकी लक्ष्मीले मृत्युको मुखमा पुगेको शिशुको उद्दार गरि आफनै सन्तान जस्तै मानेर पालेकोमा जिल्लास्थित सरोकारवाला निकायका प्रतिनिधिहरु पनि खुशीले गदगद भए । वच्चा ठुलो भएमा शिक्षादिक्षामा सहयोग हुने जिल्ला वालकल्याण अधिकृत मानवीर ओलीले बताउनुभयो ।
सानो हुँदा मायाले हुर्काएपनि ठुलो भएमा कसरी पढाउने भन्ने लक्ष्मीमा चिन्ता छ । ‘उमेरले नेटो काटिसक्दा पनि मेरो वच्चा भएन मैले यो वच्चा पाउनु ठुलो भाग्य ठानेको छु ।’ लक्ष्मीले भन्नुभयो । हाल वच्चाको उमेर एक वर्ष पुरा भएको छ । 

No comments:

Post a Comment