आधुनिकताका कारण पुराना पेशाहरु विस्तारै लोप हुने क्रममा

गणेश सारु, ५ पुस, गुल्मी । आधुनिक प्रविधिको विकाससँगै पुराना पेशाहरु संकटमा परेका छन् । आधुनिकताका कारण दिनप्रतिदिन भित्रने नयाँ प्रविधिले गर्दा पुराना पेशाहरु विस्तारै लोप हुने क्रममा पुगेका छन् । 

केही वर्षपहिलेसम्म गाउँगाउँ सुचना प्रवाहको एक माध्यम वनेको गाईने पेशा अहिले संकटमा परेको छ । त्यस समयमा गाईनेहरुले सारङ्गी वजाएर सुचना पु¥याउँथे भने यसैवाट आफ्नो जिविको पार्जन गर्ने गर्दथे । तर, अहिले भित्रिएका नयाँनयाँ सुचना प्रविधिहरुका कारण आफ्नो पेशा संकटमा परेको गुनासा गर्नुहुन्छ गुल्मी वडागाउँका ६८ वर्षीया धनवहादुर गन्दर्भ । 

‘पहिला पहिला राजाका कुरा, पल्टनमा गएका छोराको खवर, भगवानका चरित्र सुनाईन्थ्यो,’ उहाँले भन्नुभयो, ‘अहिले रेडियो, टि।भी।, फोन हातहातै भए हाम्ले भन्दा तिनीहरुले छिटो खवर पु¥याउँछन् ।’ 

यही सारङ्गी वजाएरै केही वर्ष पहिले ११ जनाको परिवार पाल्न सकेका उहाँलाई अहिले यसैवाट ३ जनाको परिवार पाल्न धौ–धौ भएको छ । कटुवाल पेशा अंगाल्दै आएका वडागाउँकै चेरे विक पनि आफ्नो पेशा संकटमा परेको गुनासो गर्छन् । रेडियो, टेलिभिजन, फोनको वढ्दो प्रयोगले ५/७ वर्षपहिले ग्रामिण क्षेत्रमा सुचना पु¥याउने राम्रो माध्यम वनेको कटुवालको पेशा अहिले संकटमा परेको छ । 

अहिले आफुले भन्ने सुचना रेडियोले नै प्रशारण गर्न थालेपछि आफ्नो रोजीरोटी नै खोसिएको ६९ वर्षीया चेरे विकको गुनासो छ । ‘पहिले त दिनदिनै वैठक हुन्थे, झारा हुन्थे तिनको जानकारी मैले नै पुरै गाविसभरी खवर पु¥याउथेँ,’ कटुवाल विकले भन्नुभयो, ‘सवैका हात–हातमा फोन छन्, फोनैवाट खवर पु¥याउँछन्, अझ रेडियोले पनि भन्छ । हामीलाई त वोलाउनै छोडे ।’ 

वुढेसकालमा अरु काम पनि गर्न नसक्ने आफुले गर्दै आएको काम पनि नपाईँदा उहाँलाई कसरी जीवन धान्ने भन्ने चिन्ता छन् । सारङ्गी र कटुवालमात्रै होईन, विभिन्न भाँडाकुँडा वनाउने आरन, माटाका भाँडा वनाउने कुमाल, काठका ठेका वनाउने चुँदारा, काठमा फुलवुट्टा भर्ने, कपडा सिलाउने परियार लगायतका पुराना पेशाहरु पनि लोप हुन थालेका छन् । 

वजारमा सर्वत्र प्लाष्टिकका भाँडाहरु पाईन थालेपछि तामा, पित्तल, सिल्टीवाट विविध भाँडाकँुडा वनाउँदै आएका आरनेहरुको पेशा पनि संकटमा परेको छ । हँसिया, कोदालो, वञ्चरो, कुखुरी लगायतका औजारहरु पनि वनाउँदै आएका आरनेहरु अहिले ती औजार विक्न छोडेपछि चिन्तामा छन् । 

सहरवजारमा पाईने ती औजारहरुले उनीहरुको पेशालाई नै विस्थापित गरेका छन् । वालीघरे पेशाको रुपमा रहेका आरन तथा कपडा सिलाउने पेशाकै भरमा जिवन गुजारा गर्दै आएका उनीहरुले अहिले वाँच्नको लागी गाह्रो भएको गुनासो गर्छन् । 

आरन पेशावाटै ५ वर्षपहिलेसम्म १४ जनाको परिवार निर्धक्क पालेका हस्तिचौर–८ का शन्त वहादुर विकले अहिले परिवार पाल्न कठिन भएको गुनासो गुनासो गर्नुहुन्छ । ‘पहिला हामीले वनाएका भाँडा पनि वजारमा विक्री हुन्थे, उहीँवाट किन्न आउँथे,’ उहाँले भन्नुभयो, ‘तर अहिले वजारमा छ्याप छ्याप्तै मेसिनले वनाएका भाँडा पाईन्छन, हामीले वनाएका किन्नै छाडे ।’ 

वर्षभरी एक जना विष्ट(ग्राहक)को भाँडा वनाएवापत उनीहरुले प्रत्येक वालीको पाक्ने समयमा एकमुरी भन्दा धेरै पाउने गर्छन् । मकै, कोदो, धान, गहुँ लगायतका खाद्यन्न उनीहरुले एक वर्षमा एकमुरीसम्म पाउँछन् । विभिन्न चाडपर्वमा उनीहरुलाई मिठोचोखो छुट्याएर दिईने गरिन्छ । तर वदलिँदो समयअनुसार आफुहरुलाई चाहिने समान सहरवजारवाट लैजाने गर्नाले उनीहरुले वनाएका समानहरुको माग हुन छोडेको छ । 

‘पहिले त यहीँ मेरै घर आएर मैले वनाएका हँसिया, वञ्चरा, कोदाला किनेर लान्थे, तर, अहिले त कोही किन्न पनि आउँदैनन्,’ वडागाउँका जीतवहादुर विक भन्नुहुन्छ ‘अहिले त विष्टहरुले पनि छोड्न थाले आफुलाई चाहिने समाज वजारैवाट ल्याउन थाले ।’ युवापुस्ताले वेवास्ता गर्ने, सहर वजारका समानको वढ्दो प्रयोग गर्ने प्रवृत्तिले पनि उनीहरुका समान विक्री हुन छाडेका छन् । 

ग्रामिण क्षेत्रका परियारहरुले अंगालेको कपडा सिलाउने पेशाले पनि उनीहरुको टाक टार्न मुस्किल हुन थालेको छ । पश्चिमेली संस्कृतिको प्रभावका कारण फेसन/फेसनका कपडा वजारमा वनीवनाउ पाईने भएकाले अहिले परियारले सिलाएको कपडा लगाउन धेरैले छाडेका छन् । 

१२ वर्षको उमेरदेखि अहिलेसम्म कपडा सिलाउँदै आएका वडागाउँका ७० वर्षीया ठुले परियार अव कसरी साँझ विहानको गुजार चलाउने भन्ने चिन्तामा हुनुहुन्छ । ‘छोराले हेर्दैनन्, छोरी विहे गरेर अर्कैको घर गए, खेती गर्ने पनि वारी छैन,’ उहाँ भन्नुहुन्छ, ‘यही सिलाएरै छ जना छोराछोरी हुर्काएँ तर अहिले त वुढावुढीलाई खान पनि पुग्दैन ।’ वजारमा पाईने नयाँ नयाँ पेशनका कपडा ग्राहकको रोजाईमा पर्ने गरेका छन् । ‘हाम्ले सिलाएका कपडा वलिया हुन्छन् तर अहिलेकाले हाम्ले सिएको कपडा लाउँदैनन्,’ उहाँ भन्नुहुन्छ, ‘भने जस्ता फेसनका सिउन जानिन्न, विष्टहरुले छोड्दै जान थाले अव त दुईजना वुढावुढी पालिन पनि धौ भो ।’ 

यी पेशाहरु मात्रै नभएर पुराना परम्पराहरु पनि लोप हुँदै गएका छन् । पानी घट्ट, ढिँकी, जाँतो, तोरी पेल्ने कोल लगायतका पुराना सामग्रीहरु पनि हराउँदै जान थालेका छन् । नयाँनयाँ प्रविधिका कारण यीनीहरु यस्तो अवस्थामा पुगेका हुन् । अहिले मेसिनले कुट्ने पिस्ने भएपछि ढिँकी जाँतोको प्रयोग हुन छोडेको छ ।
साभार :- jhilko 

No comments:

Post a Comment