दलित समुदायको पहुँच वृद्धि गर्ने विषयमा तयारी प्रशिक्षण सञ्चालन

काठमाडौं,पौष १ गते । दलित गैरसरकारी संस्था महासंघद्वारा सरकारले दलित समुदायको लागि कुन कुन क्षेत्रमा बजेट विनियोजन गरेको छ, दलित लक्षित बजेट तथा कार्यक्रमहरु प्रभावकारीढंगबाट कार्यान्वयन भए नभएको र त्यसमा दलित समुदायको पहुँच कसरी वृद्धि गर्न सकिन्छ भन्ने विषयमा स्रोत व्यक्ति तयारी प्रशिक्षण सञ्चालन गरिएको छ ।
महासंघले यही २०७० मंसिर २७ देखि २९ सम्म ३ दिने दलित लक्षित सरकारी बजेट ब्यवस्था सम्बन्धी सोधखोज तालिम काभ्रे जिल्लाको बनेपास्थित चेतना केन्द्रमा सञ्चालन गरेको हो । लुथरन विश्व महासंघ (एलडब्लुएफ) र प्लान नेपालको सहयोगमा सम्पन्न उक्त तालिममा १६ जिल्लाका २४ जना दलित अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।
उक्त प्रशिक्षण प्रमुख प्रशिक्षक हिरा विश्वकर्मा र सहायक प्रशिक्षक सरोजदिलु विश्वकर्माले दिनुभएको थियो । तालिममा दलितका आर्थिक तथा सामाजिक मुद्वाहरु र यसका कारणहरु, बजेटको विकासक्रम, महत्व, बजेटमा दलित तथा दलितका लागि बजेटको औचित्य, बजेट
निर्माण प्रक्रिया र दलितको सहभागिता (बजेट निर्माणका १४ स्टेपहरु, गाविसको बजेट तथा यसको कार्यान्वयनको अवस्था, वभिन्न सरकारी निकायको भूमिका र कार्यक्रमको समायोजन), जिल्ला विकास समिति भित्रका अंग तथा यसको बजेटलाई हेर्ने तरिका, बजेट सोधखोज गर्ने प्रचलित औजारहरु तथा त्यसको प्रयोग गर्ने तरिका, बजेट तथा कार्यक्रम दलितमुखि भए नभएको सूचकहरु तथा यसको प्रयोग, सहभागीहरुको जिल्ला विकास समितिका बजेटको समीक्षा, गाविस, जिविस तथा अन्य निकायहरुको बजेट सोधखोज गरी दलितममुखि बनाउने उपायलगायतका विषयहरु समावेश गरिएको थियो ।
तालिम उद्घाटन समारोहमा महासंघका कार्यकारी निर्देशक सुमन पौडेलले यस प्रकारको तालिम दलितका लागि अत्यावश्यक भएको बताउनुभयो । त्यसै गरी समापन समारोहमा महासंघका अध्यक्ष गजाधर सुनार तथा महासचिव जेवी विश्वकर्माले तालिमबाट प्राप्त उपलब्धीलाई सबैले कार्यान्वयन पक्षमा लैजानुपर्नेमा जोड दिनुभएको थियो ।साभार :- जागरण मिडिया

No comments:

Post a Comment