दलित महिलाका लागि छुट्टै स्वास्थ्य नीति बनाउनुपर्छ :- स्वास्थ्यमन्त्री मल्लिक

राजेन्द्र ताम्राकार ,काठमाडौ÷१६ पुस । स्वास्थ्यमन्त्री विद्याधर मल्लिकले स्वास्थ्यमा दलित महिलाको पहुँच अभिवृद्धि गराउनका लागि दलित महिलाका सवाललाई समेटेर छुट्टै स्वास्स्थ नीति बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । दलित महिला संघद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री मल्लिकले दलित महिला संघद्वारा सन् २००९ देखि २०१३ सम्म पाँचबर्षका लागि सञ्चालित ‘स्वास्थ्य सेवामा दलित महिलाको समान पहुँच’ परियोजनाको समापन कार्यक्रममा दलित महिलाका लागि छुट्टै कार्यक्रम बनाएर अगाढि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको हो ।
                                                                        मन्त्री मल्लिकले दलित महिला संघले छोटो समयमा थोरै लगानीमा दलित महिलाको स्वास्थ्यमा पहुँच अभिवृद्धि गर्ने सवालमा उपलब्धीमूलक काम गरेकोमा संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले संस्थाद्वारा दलित महिलाका सवाललाई सम्बोधन गराउने सन्दर्भमा उपयुक्त प्रस्ताव आएमा आफूले आफ्नै कार्यकालमा नीतिगतरुपमै पारित गरेर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले यसका लागि संघलाई छिटोभन्दा छिटो आफ्नो प्रस्तुती र आगामी योजनाका साथ मन्त्रालयमा आउन आग्रहसमेत गर्नुभयो ।
कार्यक्रममा मन्त्री मल्लिकले दलित तथा पिछडिएको क्षेत्रका सवाललाई मुलप्रवाहमा ल्याउने र उनीहरुका मुद्दालाई सम्बोधन गराउने सवालमा यूरोपेली युनियन तथा अन्य दातृ निकायको भूमिका महत्वपूर्ण रहेको भन्दै आगामी दिनमा दलित महिलाका मुद्दालाई एकीकृतरुपमा अगाडि बढाउनका लागि दातृ निकायसंगै सरकार काम गर्न इच्छुक रहेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा खानेपानी तथा सरसफाई महासंघका अध्यक्ष राजेन्द्र अर्यालले दलित महिला संघद्वारा सञ्चालित स्वास्थ्य सेवामा दलित महिलाको समान पहुँच कार्यक्रमले दलित महिलाको स्वास्थ्य तथा सरसफाईको क्षेत्रमा महत्वपूर्ण काम गरेको भन्दै अब बन्ने संविधानसभामार्फत खानेपानी तथा सरसफाईको विषयलाई मौलिक हकमा व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
यूरोपियन यूनियनका प्रतिनिधी राजनप्रकाश श्रेष्ठले दलित महिला संघले अत्यन्तै चुनौतिपूर्ण समयमा यो कार्यक्रम सञ्चालन गरेकाले आफूहरुले कार्यक्रमको उद्देश्य पूरा हुनेमा आशङ्का गरिरहेका बेला संघद्वारा सम्पन्न कार्यक्रमको उपलब्धिले उक्त आशङ्कालाई समाप्त पारेको बताउनुभयो ।श्रेष्ठले विभिन्न अप्ठ्याराका बाबजूद दलित महिला संघले निकै राम्रो काम गरेको भन्दै संघले यूरोपियन यूनियनले सोचेअनुरुपको लक्ष्य, उद्देश्य अनुसारको काम गरेको बताउनुभयो । उहाँले आगामी दिनमा दलित महिला संघसंगको सहकार्यलाई निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रम दलित महिला संघका अध्यक्ष दुर्गा सोबले स्वास्थ्यमा एक दलित परिवार एक चर्पीको व्यवस्था गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो । दलित महिला संघ सवालमा काम गर्ने संस्था भएकाले यसले परियोजना भएपनि नभएपनि निरन्तररुपमा दलित महिलाका सवाल उठाउँदै आएको बताउनुभयो ।सोबले दलित महिलाका लागि अधिकारमुखी र निर्वाहमुखी दुवै किसिमका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ । आफूहरुले सामाजिक संस्थामार्फत सरकार र सरोकारवाला निकायकाबीचमा पुलको काम गरिरहेको र आगामी दिनमा दलित महिलाको समग्र विकासका लागि सबै सरोकारवाला निकायकाबीचमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले ‘स्वास्थ्य सेवामा दलित महिलाको समान पहुँच’ परियोजना सकिएपनि संघले आगामी दिनमा संस्थाबाट यि र यस्ता प्रकारका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।कार्यक्रममा स्वास्थ्य सेवामा दलित महिलाको समान पहुँच परियोजना सञ्चालन भएका जिल्लाहरु कपिलवस्तु, बर्दिया, सूर्खेत र दैलेख जिल्लाका दलित महिलाको परियोजना सञ्चाल हुनुपूर्वको अवस्था र परियोजना सञ्चालन भएपछि दलित महिलाको स्वास्थ्यमा पहुँच र उनीहरुमा आएको परिवर्तनको अवस्थालाई समेटेर तयार पारिएको भिडियो डकुमेन्ट्री पनि देखाईएको थियो ।
कार्यक्रममा परियोजना अबधीभर परियोजना सम्पन्न गराउनका लागि निरन्तर क्रियाशिल कपिलवस्तु, बर्दिया, सूर्खेत र दैलेखका कर्मचारी र पदाधिकारीलाई कदर–पत्रद्वारा कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्यमन्त्री विद्याधर मल्लिक र दलित महिला संघका अध्यक्ष दुर्गा सोबले सम्मान गर्नुभएको थियो ।पाँचबर्षसम्म सञ्चालित परियोजनाको उद्देश्य, उपलब्धी, परियोजनाद्वारा सम्पन्न कार्यक्रमको वर्तमान अवस्था र परिणामलाई दलित महिला संघका कार्यकारी निर्देशक भिमबहादुर विश्वकर्माले आफ्नो प्रस्तुतीमार्फत प्रस्तुत गर्नुभएको थियो ।

No comments:

Post a Comment