कांग्रेसभित्र नेताहरुको ओछ्यान तताउने र सँगै बसेर रक्सी खाने मात्रै सभासद -राजन बिक

काठमाडौं । नेपाली कांग्रेसकी नेत्री राजन बिकले कांग्रेसभित्र नेताहरुको ओछ्यान तताउने र सँगै बसेर रक्सी खानेले मात्रै सभासद बन्ने अवसर पाएको आरोप लगाउनु भएको छ । महिला संघकी केन्द्रीय सदस्य एवं बन्दसूचीमा रहेर सभासदमा नपरेकी विकले पार्टी नेताहरुको चरित्रमाथि नै प्रश्न उठाउनुभएको हो ।
 
मंगलबार नेपाल महिला संघले राजधानीमा गरेको पत्रकार सम्मेलनमा अब काग्रेस भन्न पनि लाज लाग्ने अवस्था आएको बताउनुभयो । ‘म राम्री छैन । राम्रो लगाउन पनि आउँदैन । त्यसो भएपछि सभापतिसहितका शीर्ष नेताहरु कहाँ ठिम्किन पनि दिएनन्’ उहाँले भन्नुभयो-’ मैले न्यानो दिन सकिन, ओछ्यान तताउने र संगै बसेर रक्सी खानेहरुले अबसर पाए ।’ तपाईसँग प्रमाण छ भन्ने प्रश्नमा उहाँले ‘कांग्रेसमा प्रमाण किन चाहिन्छ’ भन्ने जवाफ दिनुभएको छ ।

समानपातिकको सूचीमा परेपछि केन्द्रीय सदस्य नारायण खड्काले आफूसँग ८ लाख मागेको उहाँको आरोप छ । ‘८ लाख भनेको कति हो मलाई थाहा छैन । ५ प्रतिशत खर्च नगर्ने हो भने नाम काटि्दन्छु भने’ उहाँले भन्नुभयो-’मैले पैसामा पद किन्न चाहिन । त्यसैले मेरो नाम काटिएछ ।’

२०३७ सालदेखि कांग्रेसमा सक्रिय विक उदयपुरबाट महासमिति सदस्य हुनुहुन्छ । दलित संघको गठनमा समेत आफ्नो भूमिका रहेको दावी गर्दै उहाँले अब कांग्रेस सभापति सुशील कोइराला नालायक भएको भन्दै उनीप्रतिको सम्मान समेत नरहेको बताउनुभयो ।
 
यसबारे कांग्रेस नेता डा. नारायण खड्कासँग जिज्ञासा राख्दा उहाँले आफ्नै दलकी नेतृलाई आरोप लगाउँदै भन्नुभयो, ‘यिनी अन्तरराष्ट्रिय पागल हुन्, यिनलाई मञ्च दिएर बोल्न लगाउने झन् ठूलो पागल हुन् ।’ राजनलार्इ बन्दसूचीमा आफूले सिफारिस पनि नगरेको भन्दै उहााले पैसा मागेको आरोपको खण्डन गर्नुभयो ।
साभार:-  onlinekhabar

No comments:

Post a Comment