दलित युवासँग प्रेम विवाह गरेको भन्दै बाउआमाले कपडा जलाए

२०७० पुस ४, गोरखा : छोरीले दलित युवासँग प्रेम विवाह गरेको भन्दै गोरखाकी समुन्द्रा रेग्मीले 'छोरी मरी' भन्दै उनको लुगाकपडा जलाइदिएकी छन्। गोरखा नगरपालिका १० श्रीडाँडा निवासी समुन्द्राले गाउँकै राजेन्द्र नेपालीसँग प्रेम विवाह गरेर गएकी छोरी अप्सराको कुर्था सुरूवाल लगायतका चारथान कपडा गत मंगलबार घर नजिकैको फोहर जलाउने ठाउँमा जलाएकी हुन्।

पँधेरामा भेट भएकी छोरी अप्सरालाई आमाले तथानाम गाली गर्दै आफूहरुले किनिदिएको लुगा कपडा फर्काउन चेतावनी दिएकी थिइन्। 'मंगलबार बिहान आमा धारामा भेट हुनु भयो। अनि बेस्सरी गाली गर्नुभयो', अप्सराले भनिन्, 'हामीले दिएको लुगा खुरुक्क फिर्ता ले भन्नुभयो। मैले धाराबाट घर गएर सबै लुगाहरु फर्काइदिएँ। उहाँहरुले एउटी 'छोरी मरी' भनेर जलाइदिनु भएछ।'

घरको फोहोर पोल्ने ठाउँमा दाजु राजिव र आमा मिलेर लुगा जलाएको उनले बताइन्। आमा बुबाले मागेकाले आफूले लगाएको गहना पनि फर्काइदिएको उनले बताइन्।

अप्सराका बुबा कृष्णप्रसाद रेग्मीले छोरीको लुगा कपडा आवेगमा जलाइदिएको स्वीकार गरे। 'सानैदेखि माया गरेर हुर्काएको छोरी पोइल गएकोले आमाले रिसले लुगा जलाइ दिएको हो,' उनले भने, 'पसलको सबै सामान उसको तन्नेरीलाई पोसेकी रहिछे। दु:ख गरेर कमाएको पैसा पनि लुकाइछिपाइ उसकै ठिटालाई पोसेकाले उसको दाइ र आमा मिलेर जलाएका हुन्।'

अप्सराले दलित केटालाई पोसेका कारण दुईलाख रुपियाँ ऋण लागेको पनि उनले आरोप लगाए। तर लुगा पोलेको चाहिँ उसको बिहेको कारण नभएको उनले बताए।दुई बर्षदेखि प्रेम सम्बन्ध भएका १७ बर्षे अप्सरा र २१ बर्षे राजेन्द्रले गत दशैंको फूलपातीको दिनमा विवाह गरेका थिए ।

साभार :- अन्नपुर्ण पोस्ट 

No comments:

Post a Comment