सरकारले हलिया मुक्त घोषणा गरे पनि अछामका गाउँमा अझैँ हलिया कामयमै

०७० पुस ७ गते, अछाम । सरकारले हलिया मुक्त घोषणा गरे पनि अछामका गाउँमा अझैँ हलिया कामयमै रहेका पाइएको छ । साहु महाजनबाट ऋण लिएवाफत गाउँमा अहिले पनि हलिया बसेको पाइएको हो ।

जिल्लास्तरिय हलिया अधिकार अनुगमन सञ्जालले हालै गरेको अनुगनमका क्रममा जिल्लाको तुमाखाँद, भैरवस्थान,धमालीलगायतका गाविसमा अझै हलिया बसिरहेका भेटिएको अनुगमन सञ्जालका संयोजक तथा पत्रकार महासंघ अछामका उपाध्यक्ष रामबहादुर कुँवरले जानकारी दिए । इन्सेक जिल्ला प्रतिनिधि शिवराज खत्री, जिल्ला मुक्त हलिया महासंघका सचिव तेजबहादुर बिक सम्मिलित अनुगमन टोलीले तीन गाविसको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा तुमाखाँद गाविस-३ का ३४ वर्षीय काले ढोली छिमेकी गाउँका गोरे बयकबाट ३३ हजार ऋण लिएवाफत ०६५ भदौबाट हलिया बसिरहेका भेटिए । उनले व्याजवाफत हलो जोतिरहेको बताए । जहिलेसम्म साँवा पुरै तिर्न सक्दैनन् त्यो बेलासम्म व्याजवाफत हलो जोत्ने सहमति उनले साहुसँग जनाएका छन् । सरकारले हलिया मुक्त घोषणा गरेको वर्षनै ऋण लिएर साहुको हलो जोतिरहेका कालेले हलिया मुक्त घोषणा भएको बारेमा कुनै जानकारी नभएको बताए ।

यसैगरी, अनुगमनका क्रममा तीन ओटै गाविसमा अहिलेसम्म हलियाको तथ्याङ्क सङ्कलन गर्न सरकारी टोली पुगेको छैन । तीन ओटा गाविसमा करिव डेढ सय मुक्त हलिया परिवार रहे पनि उनीहरुको नाम सरकारी तथ्याङ्कमा नसमेटिएको जिल्ला हलिया महासङ्घका सचिव तेजबहादुर बिकले बताए ।

सरकारले ०६५ भदौ २१ गते हलिया मुक्तीको घोषणा गरी सबै हलियाको तथ्याङ्क सङ्कलन गर्न शान्ति तथा पुनःनिर्माण मन्त्रालयलाई जिल्लामा दिइएको भए पनि तुमाखाँदलगायत त्यस क्षेत्रका भैरवस्थान, धमाली, तोषी, रानीबनलगायतका गाविसमा तथ्याङ्क संकलन गर्न टोली नपुगेको पाईएको छ ।

जिल्लास्तरमा गठित मुक्त हलिया पुनःस्थापना तथा अनुमगन कार्यदलका संयोजक तथा निमित्त प्रमुख जिल्ला अधिकारी कृष्ण गिरीले हालसम्म तथ्याङ्क सङ्कलनमा छुटेका भनि कोही पनि भन्न नआएको बताए । हालसम्म परिचय पत्र पाएका १ सय ६० जना मुक्त हलियाहरु जिल्लाका विभिन्न ११ ओटा गाविसका मात्र रहेका छन् । ७५ वटा गाविस मध्ये अरु गाविसमा तथ्याङ्क लिने काम भएको छैन ।

No comments:

Post a Comment