दलित उत्थानको बाधक दलितका अगुवा नै

जनकपुरधाम, २७ मङ्सिर । दलित महिला सङ्घद्वारा आज यहाँ आयोजित ‘सार्वजनिक सेवामा दलितको पहँुच’ विषयक छलफल कार्यक्रमका सहभागीहरूले दलितका अगुवा नै दलित उत्थानको बाधक भएको आरोप र सरकारद्वारा दलितको उत्थानका लागि विनियोजन गरिएको रकम दलितका अगुवाले नक्कली कागजात बनाएर दुरूपयोग गरेको तथ्यको खुलासासमेत गरेका छन् । 
 
कार्यक्रममा सहभागी अधिकांश दलित महिलाले दलितका लागि आएको कार्यक्रम र बजेटका बारेमा अनभिज्ञता व्यक्त गर्दै दलितको उत्थानका लागि आउने अनुदान गाविस सचिव र दलित अगुवाकै सेरोफेरोमा समाप्त हुने गरेको आरोप लगाएका छन् । प्रमुख सहायक जिल्ला अधिकारी प्रह्लाद पोखरेलले दलित समुदायले आवश्यकताको पहिचान गरी सहकार्यका माध्यमबाट उत्थानमूलक कार्यको थालनी गर्नुपर्ने धारणा राख्नुभयो । 
 
मानव अधिकारकर्मी विजय दत्तले अगुवा दलित नै पिछडिएका दलितको उत्थान कार्यमा उदासीनता देखाउने गरेको प्रसङ्ग उल्लेख गर्नुभयो ।  जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख घनश्याम नायकले जिविस र नगरपालिकामा आउने गरेको रकम र कार्यक्रमप्रति जागरणको आवश्यकतामाथि जोड दिनुभयो । 
 
जनकपुर नगरपालिकाका लेखा प्रमुख जयचन्द्र मिश्रले दलित समुदायका अधिकांश अगुवामा कामभन्दा पनि समूह गठन गरी रकम निकासा गर्ने र लक्षित कार्यक्रमलाई प्रभावकारी रूपले कार्यान्वयन गर्नेतर्फ चासो कम हुने प्रवृत्तिका कारणले पनि दलित उत्थानको रकम सदुपयोगभन्दा दुरूपयोग अधिक पाइएको बताउनुभयो । 
 
दलित महिला सङ्घका सुमित्रा महरा र दलित अधिकारकर्मी गीता रजकले दलित समुदायमा शैक्षिक जागरणको खाँचो औँल्याउनुभयो । रासस

No comments:

Post a Comment