पूर्णबहादुर कामी र कमरा घर्तीले लालपूर्जा धितोमा राखेर गाउँलाई झिलिमिली बनाए

३० मंसिर, म्याग्दी । म्याग्दीको दरबाङ ३ दुखुवेशीका दुई जनाले आफ्नो नाममा रहेको लालपूर्जा धितोमा राखि बैंकबाट ऋण लिएका छन् । गाउँमा विद्युतीकरणका लागि प्राधिकरणदेखि नेतासम्म धाउँदा पनि बिजुली बाल्ने चाहना पूरा नभएपछि स्थानीय पूर्णबहादुर कामी र कमरा घर्तीले लालपूर्जा धितोमा राखेर गाउँलाई झिलिमिली बनाएका हुन् ।बिजुलीको पोल र तार खरिद तथा कामदारका लागि पारिश्रमिक अभाव भएपछि गाउँले सबैको सहमतिमा लालपूर्जा धितोमा राखेर ३ लाख ६० हजार रुपैयाँ ऋण लिएको उपभोक्ता समितिका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।

१ सय ४२ घरधुरी रहेको दुखुवेशीमा बिजुलीका लागि भनेर प्रत्येक घरधुरीबाट पाँचहजार पाँचसय चन्दा संकलन गरिएको छ भने आमा समूहले ५० हजार, सामुदायिक बनबाट १ लाख र स्थानीय विद्यालयले ५० हजार रुपैयाँ र दरबाङ गाविसले दुईलाख रुपैयाँ सहयोग गरेका छन् ।‘यो पैसाले पनि नपुगेपछि कामलाई अलपत्र बन्न नदिन हामीले ऋण लिने निर्णय गरेका थियौं,’ रोकाले भन्नुभयो, ‘अहिले मासिक रुपमा १० हजार रुपैयाँ ब्याज बुझाउँदै आएका छौं । त्यो ऋण चुक्ता गर्न समितिसँग कुनै स्थायी स्रोत छैन ।’

स्थानीय युवा क्बवले दुई वर्षसम्म दुखु र आसपासका गाउँहरुमा विद्युतीकरणकै लागि देउसीभैलो कार्यक्रम पनि सञ्चालन गरेका थिए ।म्याग्दीका स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले दरबाङ र पाखापानीमा चालु आर्थिक वर्षमा प्रत्येक वडामा विद्युतीकरण गर्ने भन्दै उपभोक्ता समितिलाई सहयोग गर्ने बताउनुभएको छ ।

No comments:

Post a Comment