दश बर्षअघि अन्र्तजातीय विवाह गरेकी एक महिला अलपत्र

जाजरकोट, पुस १५ – श्रीमानले दोश्रो बिहे गरेपछि दश बर्षअघि अन्र्तजातीय विवाह गरेकी एक महिला अलपत्र परेकी छन् । श्रीमान गंगाराम बुढाले दोश्रो बिहे गरेपछि ४ छोरीकी आमा खलंगा ५ पोखराकी जमुना विक न्यायको खोजीमा सदरमुकाम आउनुभएको छ ।
१० वर्षअघि अन्तरजातीय बिबाह गर्दा घरपरिवारले स्वीकार नगरेपछि उनीहरु भारतको हिमाञ्चल प्रदेशमा बस्दै आएका थिए । उतै कमाई गरेर जहान छोराछोरी पाल्दै आएका गंगाराम गएको दशैमा घर आउँदा बिहे गरेर यतै बसे ।श्रीमान फर्किएर नगएपछि सोधी खोजी गर्दा अर्को विहे गरेको थाहा पाएपछि जमुना नेपाल फर्किनुभएको हो । रुकुम गराइलाकी भावना बुढासँग बिहे गरेका गंगाराम कुन ठाउँमा छन् भन्ने आफुलाई थाहा नभएको जमुनाले बताउनुभयो । ‘इन्डिया हुँदा एक पटक फोन गर्नुभएको थियो परिवारको आग्रहमा दोस्रो विहे गरेपनि दुवैलाई पाल्छु भन्नुभएको थियो, त्यसपछि भेटेको छैन’ उहाँले भन्नुभयो ‘सासु ससुराले घरमा बस्न दिनुभएन, यी छोरीहरुलाई मैले कसरी पाल्नु ?’  
जमुनाकी जेठी छोरी ३ कक्षामा र माइली एक कक्षामा पढ्दै थिइन् । नेपाल फर्केदेखि उनीहरुको पढाइ पनि रोकिएको छ । ‘आफ्नो भन्दा छोरीहरुको चिन्ता लागेको छ कसरी पढाउने र हुर्काउने भन्ने चिन्ता लाग्छ’ जमुनाले भन्नुभयो ।उजुरी दिन गाविसमा पुगेकी जमुना श्रीमानले एक महिनाअघि विहे गरेकी कान्छी श्रीमतीसँगमात्र बिवाह दर्ता गरेको थाहा पाउनुभयो । गंगारामले कान्छी श्रीमतीसँग मात्र विवाह दर्ता गरेका खलंगा गाविसले जनाएको छ । पहिलो विवाह भनेर दर्ता गराउन आएछि आफुहरुले गरिदिएको गाविस सचिव शेरबहादुर केसीले बताउनुभयो ।
विवाह दर्ता नहुँदा जमुनालाई श्रीमानबाट अंश दावी र कारवाही गराउन समेत समस्या परेको छ । जमुनाले न्याय दिलाइदिन महिला तथा बालबालिका कार्यालय र प्रहरीमा आइतबार उजुरी दिनुभएको छ । प्रहरीले गंगारामको खोजी भैरहेको जनाएको छ ।
साभार :- राजेन्द्र कार्की/उज्यालो

No comments:

Post a Comment