गौर स्थित दलित समुदाय प्राथमिक विद्यालयमा तालाबन्दी


१ पुस, गौर (रौतहट) । विद्यालयमा आर्थिक अनियमितता भएको भन्दै व्यवस्थापन समितिले बिहीबारदेखि अनिश्चितकालीन गरेको तालाबन्दी अझै खुल्न सकेको छैन ।गौर नगरपालिका–१३ सिर्सियास्थित दलित समुदाय प्राथमिक विद्यालयमा प्रधानाध्यापक राजेन्द्र हजराले विभिन्न शीर्षकमा लाखौँ रुपैयाँ अनियमितता गरेको आरोपमा व्यवस्थापन समितिका पूर्वअध्यक्ष चन्दर पासवानले विद्यालयमा गरेको तालाबन्दी अझै खुल्न नसकेको हो ।
प्रधानाध्यापक हजराले विद्यालय भवन निर्माण, छात्रवृत्ति रकम, ब्लक लगायतको शीर्षकमा करिब साढे ६ लाख रुपैयाँ हिनामिना गरेको भन्दै तालाबन्दी गरेको पूर्वअध्यक्ष पासवानले बताउनुभयो । प्रअसँग पटकपटक हिसाब माग गर्दासमेत बेवास्ता गर्दै आएकाले बाध्य भएर तालाबन्दी गरेको उनले जानकारी दिनुभयो । विगत तीन वर्षदेखि विद्यालयमा बसेर प्रअ हजराले विभिन्न शीर्षकमा उक्त रकम हिनामिना गरेको भए पनि हिसाब पारदर्शी गर्न आग्रह गर्दा बेवास्ता गरेकाले तालाबन्दी गरिएको स्थानीय बासिन्दाले बताउनुभयो । पूर्वअध्यक्ष पासवानले विद्यालयको प्रशासन कोठामा तालाबन्दी गरेका छन् भने तालाबन्दीका कारण पठनपाठन ठप्प भएको छ ।
यता जिल्ला शिक्षा कार्यालयबाट विद्यालय भवन निर्माण गर्न रकम निकासा भएपछि प्रअ हजाराले विद्यालयको नाममा रहेको जग्गामा भवन निर्माण नगरी पासवान सेवा समितिको जग्गामा विद्यालय भवन निर्माण गरेको समेत स्थानीय बासिन्दाले आरोप लगाएका छन् । आर्थिक पारदर्शिता कायम नभएसम्म विद्यालयमा गरिएको तालाबन्दी नखोलिने समेत पूर्वअध्यक्ष पासवानले चेतावनी दिनुभएको छ । विद्यालयमा १५० जना बालबालिका अध्यनरत छन् ।

No comments:

Post a Comment