छुवाछुत अन्त्यका लागि सप्तरीका दलित युवाद्वारा रणनीति तयार

सप्तरी, ९ पुस । सप्तरीका दलित समुदायका युवाले जातीय छुवाछूत र भेद्भाव अन्त्यका लागि पैरवी सम्बन्धित रणनीति तयार गरेका छन् । दलित नेटवर्क सप्तरी, छुवाछूत निगरानी केन्द्र र दलित जनकल्याण युवा क्लब लहान सिरहाको संयुक्त आयोजनामा आज राजविराजमा आयोजित रणनीति तयारी गोष्ठीका सहभागी युवाले पैरवी रणनीति तयार गरेका हुन् ।
कार्यक्रममा सहभागी दलित युवाले जिल्लामा हुने जातीय छुवाछूत र भेद्भावबिरुद्ध जनचेतना जगाउने, भेद्भाव अन्त्यका लागि अभियान सञ्चालन गर्ने र पीडितलाई न्याय दिलाउन सामूहिक पहल गर्ने रणनीति बनाएका छन् । जातीय भेद्भाव र छुवाछूतबिरुद्ध आवाज उठाउँदै आएका सप्तरीका करिब ३० जना दलित समुदायका युवा एउटै मञ्चबाट जातीय भेद्भाव अन्त्यका लागि रणनीति तयार गरेका छन् ।
कार्यक्रममा दलित अगुवा तथा पूर्व सांसद् असर्फी सदाले जातीय भेद्भाव र छुवाछूत अन्त्यका लागि ऐन कानुन भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा छुवाछूत हट्न नसकेको बताउनुभयो ।
कार्यक्रममा दलित जनकल्याण युवा क्लबका कार्यकारी निर्देशक विनोदकुमार बिसुन्खे, पत्रकार वैद्यनाथ झा, दलित नेटवर्क सप्तरीका अध्यक्ष युक्तिलाल मरिक, दलित युवा राजेश रिसाल, बच्चेलाल सरदार, दलित जनकल्याण युवा क्लब लहानका कार्यक्रम संयोजक रामअवतार साहलगायतले दलितमाथि हुने उत्पीडनबिरुद्ध सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
साभार :- हाम्रा कुरा

No comments:

Post a Comment