घरछेउमै छ, लक्ष्मी उच्च मावि । दलित परिवारमा जन्मिँदा त्यसको महत्त्व दैलेख साततलाकी गमता विक -४०) ले बुझिनन् । त्यसको भर्पाई उनले प्रौढ शिक्षाबाट गरिन् । अहिले उनी जिल्लाकै अगुवा महिलाको रूपमा चिनिन्छिन् । कुनै बेला 'कमिनी' भनेर हेला गर्ने समाज अहिले उनको सराहना गरेर थाक्दैन । दलित बस्तीमा मात्र नभई उनी कथित उपल्ला जातिको पनि अग्रजको रूपमा स्थापित छिन् ।
१८ वर्षको उमेरमा उनको विवाह भयो । विवाह भएकै वर्ष उनले उजाड भएको गाउँको सल्लेरी सामुदायिक वन समूहको नेतृत्व गरिन् । महिलाले बाहिर निस्कनु हुन्न भन्ने समाजमा वनको नेतृत्व लिन तम्सिँदा सबैले उनको क्षमतामाथि प्रश्न उठाए । उपल्लो जातिका महिलाले वनको नेतृत्व लिन नमानेपछि उनको पोल्टामा उपाध्यक्षको पद आइपुगेको थियो । त्यसपछि उनले गाउँमै सञ्चालन भएको प्रौढ शिक्षा पढिन् ।
साँझ बिहानको छाक टार्न पनि मुस्किल परिवारको हालत र महिलाले बाहिर निस्कन हुन्न भन्ने समाजको पुरातन सोचाइ उनका अगाडि तगारो थियो । उनले त्यो तगारोलाई अवसर बनाइदिइन् । 'पहिले म बस्तीमा घृणाको पात्र थिएँ, कमनीले हाम्रा बुहारी चेली बिगारी भन्ने आरोपसमेत लगाए,' आफ्ना दुःखका दिन सम्भिmँदा पनि उनलाई रमाइलो लाग्छ । उनलाई थाहा छ, अब त्यस्ता दिन फर्केर आउने छैनन् ।
दिउँसो घरपरिवारको जोहो गर्न विश्व खाद्य कार्यक्रमद्वारा सञ्चालित स्थानीय सडक खन्न जान्थिन् । त्यसबापत चामल प्राप्त हुन्थ्यो, सडक खन्ने गाउँकी उनी पहिलो महिला थिइन् । 'मैले पुरुषसँगै गैतीले सडक खनें, त्यत्रा पुरुषका माझमा म एक्ली हुन्थेँ, पछि अन्य महिला पनि जान थाले सजिलो भयो,' उनले भनिन् । साँझ ४-५ बजेतिर कामबाट फर्केर राति ७-८ बजेसम्म प्रंौढशिक्षा पढ्थिन्, त्यसपछि घरमा खाना पकाउने काम गर्थिन् । बिहान ३ बजे उठ्नु, पानीको लागि लाइनमा बस्नु, खाना बनाएर सडक खन्न जानु करिब पाँच वर्षसम्म उनको नित्यकर्मजस्तै भयो । त्यही साहस देखेर मध्यपहाडी लोकमार्गमा उनले तीन वर्षसम्म सुपरभाइजरको काम पाइन् । दैलेख रामघाटदेखि कणर्ाली नदीको साइखोलासम्म निरीक्षण तथा अनुगमनको काम उनले गरिन् ।
उता सल्लेरी वनको जिम्मेवारी छँदै थियो । दुई दिन बिराएर वनको रेखदेख गर्न जानुपथ्र्यो । 'घरमा सासू-ससुरा र श्रीमान्ले हेप्न थाले, श्रीमान्सँग सम्बन्धविच्छेदको अवस्था पुग्यो, बेलुका सधैं विवाद मैले सहेर बसँे,' उनले भनिन् । कैयौं दिन उनले सल्लेरी वनमा रूख काट्दै गरेका पुरुषको बन्चरो खोसेर ल्याएर समितिमा बुझाइन् । पेटमा बच्चा भएको बेलामा पनि समाज र घरपरिवारसँगको संघर्ष गरिन् । ती कठिन दिन सम्झँदै उनले भनिन्, '२०-२२ वर्षको उमेरमा म त एक छोरा र एक छोरीको आमा भइसकेकी रहेछु, पत्तै पाइनँ ।'
छाउपडी हुँदा मकैबारीमा बस्ने समाजमा उनले बच्चा जन्माउँदा खासै पीडा नभएको बताइन् । भन्छिन्, 'घर नजिक कतै सर्प देखियो कि छाउपडीले छोयो भन्ने आरोप लाग्यो, म त कति दिन मकैबारीमा बसें, त्यो भनी साध्य छैन ।' वषर्ात् होस वा हिउँदको कठ्यांगि्रँदो जाडोमा छाउपडी गोठ नभए मकैबारीको बास हुन्थ्यो । समाजमा महिला बाहिर निस्कन थालेपछि उनले छाउपडी गोठ भत्काउने अभियान थालिन् । 'गमताले झन् बिगार्न थाली' भनेर समाजमा उत्पात् मच्चियो । उनले हिम्मत हारिनन् । समाजका अरू महिला जम्मा गरेर छाउपडी गोठ भत्काउने अभियान थालिन्, सफल पारेर छाडिन् । बिस्तारै छाउपडी केही पनि होइन भन्ने समाजमा छाप छोडिन् ।
'समाजमा त अलि परिवर्तन ल्याएँ, उपल्लो जातिका महिलाले पनि साथ दिन थाले, आफ्नो परिवारमा त सम्झाउनै गाह्रो, कहिले त दिक्क लागेर आउँथ्यो,' विगत सम्झँदै उनी भन्छिन् । उनी सदरमुकामसम्म जाँदा केही गाउँलेले श्रीमान्लाई 'तिम्री स्वास्नी बिग्री' भनेर उचाल्दिइसकेका हुन्थे । 'घरमा आउँदा श्रीमान्सँग झगडा', उनका पतिले विस्तारै उनको कुरा बुझे । अहिले उनीहरुको सम्बन्धमा यस्तो समस्या छैन ।
समाजमा भएका एकपछि अर्को कुरीतिविरुद्ध आवाज उठाउँदै जान थालेपछि उनले अहिले गाविसलाई खुला दिसामुक्त बनाउने अभियानमा जुटेकी छन् । समुदायमा आधारित संस्थाकी अध्यक्षसमेत रहेकी विक अहिले सबै घरमा शौचालय निर्माण अभियानमा छिन् ।
अहिले गाउँमा कुनै नयाँ काम गर्नुपरे पूरै समुदायले उनकै अग्रसरता खोज्छ । स्थानीय लक्ष्मी उच्चमाविका सहायक प्रअ भद्रबहादुर थापा उनको साहससँग परिचित छन् । अचम्म मान्दै भन्छन्, 'यहाँ शिक्षितमा पनि छैन, उनको जति लगनशीलता, धैर्य ।' भन्छन्, 'उनी जिल्लाकै अग्रज महिलामा पर्छिन्, जति पनि खट्न सक्ने महिला हुन् ।' समाजका लागि खट्ने चेतनामा उनमा कहाँबाट आयो त ?
सानैदेखि उनको रेडियो सुन्ने बानी थियो । जता रेडियो बज्थ्यो उनको पाइला उतै डोरिन्थ्यो । ५५ प्रतिशतभन्दा बढी दलित बाहुल्य रहेको बस्तीमा गाउँका उपल्लो जातिका घरमा मात्र रेडियो हुन्थ्यो । 'रेडियो नेपाल' को आवाज सुन्न उपल्लो जातिको घरआँगन जान्थिन् । 'लुकीलुकी रेडियो सुन्थँे, मलाई रेडियो नाटक खुब मन पर्थे,' उनी सम्झन्छिन् ।
कखरासमेत नसिकेकी उनी रेडियोका शिक्षामूलक कार्यक्रम सुन्नचाहिँ पछि पर्थिनन् । रेडियोबाटै सिकेको ज्ञानले उनलाई दैलेख जिल्लामै अग्रज महिलाको दर्जामा पुर्याएको छ ।
No comments:
Post a Comment