सञ्चार माध्यमले दलित समस्या समाधानका लागि आवश्यक भूमिका निर्वाह गर्नुपर्ने

काठमाडौ, पुस १२ – दलित समुदायका अगुवाहरुले सञ्चारमाध्यमहरुले सामाजिक उत्तरदायित्वभन्दा व्यवसायिकतालाई प्राथमिकता दिँदा  दलित समुदायका मुद्दा ओझेलमा परेको बताएका छन् ।दलितका समस्यालाई सामान्यीकरण गर्ने प्रवृत्तिले गर्दा यो समुदायका खास मुद्दाहरुले अझै पनि सञ्चारमाध्यममा आवश्यक स्थान पाउन नसकेको उनीहरुले बताएका हुन् ।
जागरण मिडिया सेन्टरले शुक्रबार गरेको सञ्चार माध्यम स् संविधान निर्माण र दलित अधिकार विषयक अन्तरक्रियामा दलित समुदायका अगुवा र अरु सहभागीले सञ्चारमाध्यमले दलितको मुद्दालाई निकै कम मात्र उजागर गरेको बताएका हुन् ।पूर्व सभासद विनोद पहाडीले दलित सभासदले गरेको रचनात्मक कामलाई मिडियाले बेवास्ता गरेको आरोप लगाउनुभयो । 
‘५० जना दलित सभासद हुँदा दलित समुदायलाई के—के उपलब्धि भयो भनेर कुनै मिडियाले समाचार बनाएनन्’ उहाँले भन्नुभयो ‘तर दलित सभासद विश्वेन्द्र पासवानले कुर्ची फालेको कुरा प्रमुख समाचार बनाइयो ।’
नेपाल टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागाईँले सञ्चार माध्यमले व्यवसायिक चरित्र बोकेका कारण सामाजिक विषयहरु छुटिरहेको बताउनुभयो । अन्नपूर्ण पोष्टका सम्पादक गुणराज लुइँटेलले दलित समुदायका मुद्दा स्थापित गराउन नेपाली सञ्चारमाध्यमले धेरै काम गरेको भएपनि त्यो अझै अपुग रहेको विचार राख्नुभयो ।
दलित अधिकारकर्मी एवम् समता फाउण्डेशनका अध्यक्ष पदम सुन्दासले अघिल्लो संविधान सभाले दलितका मुद्दामा सहमति जुटाएका कुरालाई यो संविधान सभाले स्वामित्व लिनुपर्ने बताउनुभयो । त्यसका लागि राजनीतिक दललाई दबाब दिन सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ ।  
जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्माले सञ्चार माध्यमले दलितका मुद्दालाई सहानुभुति प्रकट गर्ने तवरले मात्रै स्थान दिएको भन्दै अब समस्या समाधानका लागि आवश्यक भूमिका निर्वाह गर्नुपर्ने विचार राख्नुभयो ।

No comments:

Post a Comment