हलिया प्रथा कायमै रहेकोमा अधिकारकर्मीहरू चिन्तित

ललितपुर , ०७० मङ्सिर २६ गते थुप्रै राजनीतिक र सामाजिक मान्यता तोड्दै मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भइसके पनि दास प्रथाको स्वरूप झल्काउने हलिया प्रथा मुलुकका पश्चिमी भेगमा अझै पनि कायम रहेकोमा मङ्सिर २६ गते ललितपुरमा आयोजित एक कार्यक्रममा अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् ।मध्यपश्चिमका केही क्षेत्र र देशभर नै छिटपुट चलिरहेको हलिया प्रथा र पूर्वी तराईमा रहेको हरूवा-चरुवा प्रथाले नेपालको मानव अधिकारको चिन्ताजनक स्थितिको झल्को दिएको भनदै उनीहरूले चिन्ता व्यक्त गरेका हुन् ।

मानव अधिकार राष्ट्रिय महाभेलाको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग र दलित गैरसरकारी संस्था महासंघद्वारा मङ्सिर २६ गते ललितपुरमा आयोजित 'मुक्त हलिया प्रथा र मानव अधिकार' विषयक कार्यशालामा अधिकारकर्मीहरूले यस्तो प्रथाको समुल अन्त्यको माग गरेका छन् । दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष गजाधर सुनारले दलित समुदायमाथि शोषण दमन कति भइरहेको छ भन्ने थाहा पाउन हलिया प्रथा नै प्रष्ट उदाहरण भएको टिप्पणी गरे ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कार्यसमिति सदस्य एवम् बरिष्ठ पत्रकार कुन्दन अर्यालले समाजको अवचेतन तोड्न सचेत वर्गको अग्रसरता आवश्यक रहेको बताए ।सरकारले ०६५ भदौ २० गते हलिया मुक्तिको घोषणा गरे यता नेपालमा १९ हजार ५९ जना हलिया रहेको भन्दै गएको असारसम्म सात हजार जना हलियालाई परिचयपत्र दिए पनि अहिले तथ्याङ्क सङ्कलन र परिचयपत्र वितरणको काम रोकिएको छ ।

No comments:

Post a Comment