समयमै उपचार नपाउँदा मीना विकको मृत्यु

२०७० पुस ८, सोमबार ,वीरगन्ज : समयमै उपचार नपाउँदा चितवनको दुर्गम बाँदरझुला गाउँकी सुत्केरी महिलाले अकालमै ज्यान गुमाउनुपरेको छ। अयोध्यापुरी गाविस ९ स्थित सुकुमबासी बस्ती बाँदरझुलाकी ३८ वर्षीया मीना विकले यस्तो मृत्यु बेहोर्नु परेको हो।
पाँच सन्तानकी आमा मीनाले शनिबार दिउँसो घरमै असुरक्षित रूपमा सुत्केरी गराउँदा छोरा जन्माए पनि धेरै बेरसम्म नाल नझिकिएकाले अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको ठोरी हेल्थ पोस्टका इन्चार्ज अहेव अशोक राउतले बताए। उनले भने, 'जन्मिएलगत्तै नाल काटेर शिशु झिक्नुपर्नेमा नालमै बेरेर राखिएको अवस्थामा १२ घन्टापछि सालनालसहित आमा र शिशुलाई ल्याइएको थियो।'
दिउँसो २ बजे नै सुत्केरी भए पनि यातायातको साधन तत्कालै उपलब्ध नहुँदा घन्टौंपछि नवजात शिशुसहित मीनालाई बयलगाडामा राखेर पर्साको ठोरी गाविसस्थित हेल्थ पोस्टमा उपचारका लागि ल्याइएको थियो। अत्यधिक रक्तश्रावका कारण मीनाको बीच बाटोमै मृत्यु भए पनि शिशुको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताए।
'गोजीमा एक पैसा थिएन', श्रीमतीको शव लिएर गाउँ फर्किनुअघि मीनाका श्रीमान् हर्क विकले भने, 'बेलैमा राम्रो अस्पताल पुर्‍याउन सकेको भए ज्यान बाँच्थ्यो।' २०५४ सालमा घरजम गरेका हर्कले छोरा पाउनकै लागि १० सन्तान जन्माएको बताए।
सुकुमबासीको बाक्लो बसोबास रहेको बाँदरझुलाको ३ नम्बर ब्लकमा सानो कटेरोमा श्रीमान् हर्कसँगै मजदुरी गरेर गुजारा चलाउँदै आएकी मीनाले यसअघि नौ सन्तान जन्माए पनि पाँच छोरीमात्र जीवित छन्। अन्य तीन छोरा र एउटी छोरीको शिशु अवस्थामै मृत्यु भएको थियो।
जिल्ला सदरमुकाम भरतपुरबाट ६८ किलोमिटर र छिमेकी जिल्ला पर्साको सदरमुकाम वीरगन्जबाट ७० किलोमिटर दूरीमा रहेको बाँदरझुलाको सुकुमबासीगाउँमा स्वास्थ्य उपचार र यातायात सेवा उपलब्ध नभएकाले अकालमै सुत्केरीले ज्यान गुमाउने गरेको स्थानीय बासिन्दाको भनाइ उद्धृत गर्दै ठोरीस्थित सरस्वती उच्च माविका शिक्षक प्रेम लामाले बताए।
पत्नीको निधनको शोक मनाउन नपाउँदै नवजात शिशुको स्याहारको जिम्मेवारी पनि हर्कको काँधमा छ। उनले दुखेसो पोख्दै भने, 'यो नानीलाई दूध खुवाउन पनि छिमेकी गुहार्नुपर्ने अवस्था छ।' बाँदरझुलाका सर्वसाधारणले आपतै आइलागे पनि गाउँबाट अन्यत्र जानका लागि गाडी चढ्न कम्तीमा पाँच किलोमिटर पैदल यात्रा तय गरेर ठोरी आइपुग्नुपर्छ।

No comments:

Post a Comment