युवा बलर सोमपाल कामी चार महिनामै राष्ट्रिय टिममा

काठमाडौ, मंसिर २३ -
 भनिन्छ, क्षमता र प्रतिभा भए व्यक्तिलाई अघि बढ्न कसैले छेक्न सक्दैन । आइतबार राष्ट्रिय क्रिकेट टिममा पर्न सफल युवा बलर सोमपाल कामीले यही पुष्टि गरे ।

मिडियम पेस बलर सोमपाल काठमाडौं टेकेको चार महिनामै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न मुलुकका तर्फबाट छनोट भएका हुन् । न्युजिल्यान्डमा जनवरी १३ देखि फेब्रुअरी १ सम्म हुने वान-डे विश्वकप छनोट खेल्न नेपाल क्रिकेट संघ -क्यान) ले घोषणा गरेको पन्ध्र सदस्यीय टिममा उनी पनि छानिएका हुन् । 'छोटो अवधिमै कुशल प्रदर्शन गरेर राष्ट्रिय टिममा पर्ने' १८ वर्षे सोमपाल सम्भवतः पहिलो नेपाली खेलाडी हुन् ।

पुख्र्यौली घर गुल्मी भएका सोमपाल तीन वर्षको उमेरमा परिवारसँगै भारतको पञ्जाबस्थित पटियाला पुगेका थिए । क्रिकेटको देश र क्रिकेटरलाई भगवान्को दर्जामा राखिने ठाउँ पुगेका उनलाई पनि बल फ्याँल्ने र ब्याट घुमाउने जोस चल्यो । 'सानोमा केही समय क्रिकेट हेरेरै बिताएँ,' सोमपालले कान्तिपुरसँग भने, 'बलिङ गर्दा सुरुमा मेरो हात पूरै घुम्दैनथ्यो । त्यसपछि मैले केही समय इँटा लिएर हात घुमाउन थालें र बलिङ गर्न सिकें ।'

उनले पटियाको मल्टिप्रपोज स्कुलमा पढ्दा क्रिकेट खेल्न सिके । मानविकी विषयमा १२ पूरा गरेका सोमपालले भने, 'त्यहाँको इन्डियन पि्रमियर कर्पोरेट लिग खेलें ।' उनका बाबु रामबहादुर पटियालाको विद्युत् कार्यालयमा काम गर्छन् । काका भारतीय आर्मी छन् । रामबहादुर छोरालाई पनि भाइजस्तै आर्मी बनाउन चाहन्थे । 'तर मलाई क्रिकेट मन पर्ने, त्यसैले काकाको जस्तो आर्मीमा जाने सोच बनाइनँ,' उनले सुनाए ।

फेसबुक मित्र काठमाडौंका अर्जुन अधिकारीले उनलाई एक दिन फेसबुकमा सोधे, 'नेपाली नागरिकता छ ?' सोमपाले जवाफ फर्काए, 'मेरो छैन, बुवाको छ ।' लगत्तै गएको भदौमा पहिलोपल्ट उनले काठमाडौं टेके । 'यहाँ आएपछि मिहिनेत गरेर पनि खेल्न थालें र नागरिकता पनि लिएँ,' उनले सुनाए ।

सोमपाल काठमाडौं आएपछि सुरुमा नेपाली क्रिकेट फ्यान क्लबबाट खेल्न थाले । उनको बलिङले सबैलाई चकित पार्‍यो । तुरुन्तै उनी काठमाडौं जिल्लाको टिममा परे । काठमाडौं क्षेत्र नम्बर-३ बाट सिनियर राष्ट्रिय प्रतियोगिता खेले । तीन साताअघि सकिएको राष्ट्रिय यू-१९ क्रिकेटमा १७ विकेट लिए । यसै साता यू-१९ एसिया कपका लागि पनि उनी नेपाली टिममा पर्न सफल भए ।

उनी अहिले नेपाली मिडियम पेस बलरहरूमध्ये बढी गति फ्याँल्ने खेलाडी हुन् । 'मेरो बलको गति करिब १ सय ३४ किलोमिटर पर-आवर छ,' सोमपालले भने । शनिबार काठमाडौंमा सकिएको जर्नी टु वल्र्ड प्रतियोगिता सोमपालका लागि राष्ट्रिय टिममा अटाउने 'टर्निङ-प्वाइन्ट' रह्यो । उनले चार खेलमा १० विकेट लिए र कीर्तिपुर मैदानमा प्रशिक्षक पुबुदु, कप्तान पारस र सबै नेपाली दर्शकको मन जिते । 'उनको बलिङ न्युजिल्यान्डका घाँसे पिच भएको ठाउँमा राम्रो हुनेछ,' पुबुदुले भने, 'तर उनले अझ धेरै सुधार गर्नुपर्ने छ । एकमहिने प्रशिक्षणमा धेरै सिक्ने छन् ।'

अचानक भारतबाट चार महिनाअघि काठमाडौं आएको आफू नेपाली टिममा पर्न सफल हुनुलाई उनले 'सपना पूरा भएको' बताए । 'मैले अघि बढ्न अझै धेरै मिहिनेत गर्नुपर्छ,' उनले नेपालीपनले मन छोएको खुलाए, 'उता हुँदा मेरो भन्ने थियो, यहाँ आएपछि हाम्रो भन्ने भएको छ । सबैले पे्ररणा दिएका छन् । सबैको आशालाई सफलतामा बदल्न चाहन्छु ।
साभार :कान्तिपुर

No comments:

Post a Comment