दलितसँग बिहे गरेको भन्दै अभिभावकले लखेटे

बुट्टाबारी (झापा), पुस ७ - मनै चसक्क हुन्छ- कठ्यांगि्रँदो जाडो । त्यसमाथि खुला आकाशमुनि ओछ्यान । र, काखमा एकमहिने शिशु ।

बोल्न नसक्ने र अपांग सुत्केरी मनकुमारी चेम्जोङ एक महिने शिशु च्यापेर लगलग कापिरहेकी छन् । सँगै छन् पति लोकबहादुर गन्धर्व, जो चार वर्षकी अर्की छोरी सम्हालिरहेछन् । र, उनी पनि कठ्यांगि्रएर लगलगाइरहेछन् ।झापा बुट्टाबारीस्थित काली मन्दिर अघिल्तिर दुइटा चौतारामध्ये एउटामा गन्धर्व परिवारको घर बनेको छ । चौतारोमै पकाउनु, खानु र सुत्नु दिनचर्या बनेको छ । यो परिवारले यसरी बिताएको आठ महिना नाघिसकेको छ । 'गर्मीमा त खासै समस्या थिएन, जाडोमा रात काट्न साह्रै कठिन हुँदोरहेछ,' ४८ वर्षे लोकबहादुरले दुखेसो पोखे, 'त्यसमाथि भर्खर जन्मेकी छोरीलाई जाडोबाट लुकाउने पो कसरी !'

आङमा पर्याप्त कपडा नहुँदा सुत्केरी र शिशुलाई बढी पीडा भएको छ । सिमेन्टीको चिसोले मनकुमारी सुन्निएकी छन् । शिशुको पनि शरीरमा चिसो गडेको छ । मनकारीले दिएका केही पुराना कपडाका भरमा उनीहरू छन् । लोकबहादुरलाई सारंगी बजाएर उठेको थोरै रकमबाट परिवार धान्नु परेको छ । बिर्तामोड नजिकै डेरामा बस्दै आएको यो परिवार भाडा तिर्न नसक्दा चौतारोमा बस्न बाध्य भएको हो । 'थोरै पैसाले भाडा तिर्न र खान पुगेन,' लोकबहादुरले बिलौना गरे, 'त्यसपछि भाडा तिर्न पनि नपर्ने ठाउँ खोज्दै जाँदा यहाँ आइपुगियो ।'

पत्नी बोल्न नसक्ने र अपांग भएकाले परिवार धान्ने जिम्मा उनैको काँधमा छ । मनकुमारीले गत महिना यही चौतारोमा दोस्रो छोरी जन्माएकी हुन् । अस्पतालको मुखसम्म नदेखेकी उनले सुत्केरी बेला करिब ५ घन्टा प्रसव पीडा सहनु परेको थियो । तर, अहोभाग्य उनले स्वस्थ शिशु जन्माइन् ।

'सुत्केरी हुने बेलामा उनलाई धेरै पीडा भयो', लोकबहादुर भन्छन्, 'तर, हाम्रो पीडा कसले सुनिदिने ।' उनले सुत्केरीले पाउनुपर्ने आहार र स्याहार पाउन सकेकी छैनन् । 'एक छाक मासु ल्याएर ख्वाउन सकेको छैन,' लोकबहादुर भक्कानिन्छन् ।

करिब १० वर्षअघि शरणार्थी महिला मनकुमारीसँग भोजपुरे लोकबहादुरले अन्तरजातीय बिहे गरेका हुन् । लोकबहादुरलाई अपांग महिलासँग बिहे गरेको र मनकुमारीलाई चाहिँ दलितसँग बिहे गरेको भन्दै अभिभावकले लखेटेका हुन् ।
-साभार :- कान्तिपुर



No comments:

Post a Comment