|
लेखक :- –गणेश परियार सिवा, दोहा कतार |
नेपालको दलित आन्दोलनलाई पछिल्लो समयमा धेरैले जनजाती र
मधेशको आन्दोलनसंग जोडेर यो पनि जातीय आन्दोलननै हो भनेर हेर्ने गरेका छन ।
वास्तबमा नेपाली दलित आन्दोलन उनीहरुले सोचे जस्तो जातीय आन्दोलन चाही हैन
। दलितहरुले उठाएको मुद्दा र जनजाती, मधेसीहरुले उठाएका केहि मुद्दाहरु
समान छन भने केहि मुद्दाहरु बिपरित पनि । जातका आधारमा हुने विभेद, रंग र
समुदायका आधारमा हुने विभेद झन्डै–झन्डै दलितहरु, जनजातीहरु र मधेसीहरु
सबैमा उस्तै उस्तै हो । अहिले पनि काठमाडौँको पढेलेखेका पहाडे समुदायका
मानिसहरु पनि आफु जस्तै समान नागरिक हैसियत राख्ने अर्काे मधेसी मुलको
नपालीलाई दाई, भाई भनेर सम्बोधन गर्दैनन । भैया, धोति, मधिसे जस्ता अपमानित
शब्द प्रयोग गर्ने गरेका प्रसस्त देखिन्छ । त्यस्तै जनजातीहरुलाई पनि
गाईखाने, भोटे जस्ता अपमानित शब्द प्रयोग गरिन्छ । दलितहरुलाई अछुत,
सानोजात, डुम जस्ता अपमानित शब्द प्रयोग गरिन्छ । अहिलेपनि नेपाली समाजमा
जनजातीलाई पनि शुद्र जस्तै ब्यबहार गरि उनीहरुले छोएको नखाने ठुलो जमात छ ।
यस अर्थमा विभेद बिरुद्दको यो मुद्दाहरुमा दलित जनजाती र मधेसीहरुमा धेरै
समानता छ ।
त्यस्तै राज्यसत्तामा उपस्थिति, स्रोत साधनहरुमा पहुचको सबालमा
पनि दलित, जनजाती र मधेसी समुदायहरुको मुद्दाहरुमा समानता छ । तर त्यो
बाहेक एक मधेश एक प्रदेश, स्वयात मधेश एक प्रदेश, अग्राधिकार सहितको एकल
जातीय पहिचान जस्ता कुराहरुमा दलित आन्दोलनको लक्ष्य र मधेस, जनजातिका
आन्दोलनका लक्ष्य एकदम बिपरित छन । दलित आन्दोलनले कहिलेपनि जातका आधारमा
कुनै एउटा निश्चित जातिलाई अग्राधिकार दिने कुरा स्वीकार्ने सक्दैन ।
हिजोको शामन्ती राज्यसत्ताले कुनै एक विषेश जातलाई विशेष संरक्षण र
अग्राधिकार दिएकै कारण आज पचासौ लाख जनताहरु दलित भएका हुन । ब्राह्मणले
बाहेक अरुले पढ्न लेख्न नपाउने, शुद्रले बेदका मन्त्र पढे जिब्रो काटिदिने,
बेदका मन्त्र सुने कानमा लाहा पगालेर हालिदिने, सेना र राजकाजमा भागलिन
क्षत्रीयनै हुनु पर्ने, यदि शासनमा शुद्र छ भने त्यो ठाउमा एकछिन पनि बस्न
नहुने जस्ता कानुनहरु त्यो कुनै निश्चित जातिलाई संरक्षण र बिषेश अधिकार
दिएर बनेका नियमहरुनै हुन । जसको फलस्वरूप आजका दलितहरुको यो दुरा अवस्था
भएको हो ।
अब फेरी जातजातिका आधारमा बिशेष अधिकार दिनु भनेको एउटा ब्राह्मणलाई
राज्यसत्ताबाट हटाएर अरु थुप्रै ब्राह्मणहरु जन्माउनु जस्तै हो । जनजाती र
मधेसीहरुले उठाएका अग्रधिकार, स्वायत्त प्रदेश जस्ता मुद्दाहरु दलित
आन्दोलनको बिपरित छ । राज्यका स्रोत साधनहरुमा पहुच नपुगेका जातजाती,
भाषाभाषी र समुदायहरुलाई केहि निश्चित समयसम्म राज्यले बिशेष नीती बनाएर
पहुच स्थापित गर्नै पर्छ ।
त्यस्तै जनजातिका भेषभुषा, कलासस्कृती,
रितिरिवाज, चाडपर्व, लिपि र ईतिहास संरक्षणकालागि बिषेश स्वायतता दिनुपर्छ
तर जातकै आधारमा अग्राधिकार र स्वशासन जस्ता कुराहरुले अन्तवगोत्व
नेपालीसमाजलाई जातिवादतिर डोर्याउने काम गर्छ । नेपाली दलित आन्दोलन
जातिवादको अन्तगर्ने आन्दोलन हो त्यसलाई स्थापित गर्ने होइन । त्यसकारण
दलित आन्दोलनलाई जातिवादी आन्दोलनको कित्तामा राखेर हेर्नु ठुलो गल्ति
हुन्छ । यो आन्दोलन जातीय आन्दोलन नभएर मानवअधिकार र समावेशीकरणको आन्दोलन
हो । यो सामाजिक बिकृति, विसंगति, कुरुति र कुसस्कार बिरुद्दको आन्दोलन हो ।
नेपाली दलित आन्दोलन सबै नेपालीहरुका बिचमा भएको सबै प्रकारको विभेदहरुको
अन्तगर्दै समावेशी, शान्त र समृद्ध नयाँ नेपाल निर्माणगर्ने एउटा सामाजिक
अभियान हो ।
पछिल्लो समय छुवाछुत र जातीय बिभाजनबाट केवल दलितहरु मात्रै
पिडित भएका छैनन । गैरदलितहरु पनि त्यतिनै पिडित छन । मिलनसार दलित साथीहरु
र आफ्नो परिवार बिचमा भएको असमझदारीका कारण पिसिएका छन धेरै गैरदलित
युवासाथीहरु ।
अर्कातिर अहिलेको प्राय नयाँ पुस्ता यो कुसस्कारलाई ठाडै
अस्विकार गर्ने गरेका छन जुन एउटा सकारात्मक कुरा पनि हो । तर त्यतिले
मात्रै समाज रुपान्तरणको यो आन्दोलनले सार्थकता पाउदैन । अहिलेको दलित
आन्दोलनले हाम्रो घरमा आएर, भान्सा कोठामा बसेर हामीसंगै एकै थालमा खाने
मित्र होइन उनीहरुको घरमा बोलाएर, उनीहरुको भान्साकोठामा लगेर पानी पिलाउन
सक्ने युवापुस्ता खोजेको छ । यो समस्यालाई अब यहि पुस्तामा समाप्त गर्ने हो
भने त्यो आवश्यक पनि छ । छुवाछूतको दुईवटा पक्षहरु छन एउटा पिडित र अर्काे
पिडक । जबसम्म प्रताडित गर्नेहरु पनि स्यंम यो समस्याको बिरुद्ध आगाडी
आउदैनन तबसम्म केवल दलितहरुको एक्लो प्रयासले मात्रै यो समस्याको
दिर्घकालीन समाधान हुनसक्दैन । हामीले यसो भनिरहदा धेरै साथीहरुले समस्या
दलितभित्रै छ भनेर पन्छिने पनि गर्नुभएको छ । समस्या दलितहरुभित्रै छ ।
उनीहरुको न्यून चेतना, संगठन, शिक्षा र उनीहरुमा रहेको पछौटेपनामा छ भनेर
उल्टो दोष दलितहरु माथिनै थोपर्ने गरेको पनि प्रसस्त देखेका छौ । हो समस्या
दलितहरुमै छ तर दलितहरु किन अशिक्षित भए, किन गरिब भए, किन साधन र
स्रोतहरुबाट टाढा भए, किन उनीहरुको चेतनास्तर न्यून भयो भनेर हामीले कहिले
कारण खोजेका छौ ? यसका कारणहरुका विश्लेषण नगरी केवल परिणाम मात्रै हे¥यौ
भने अबश्यपनि समस्या दलितहरुमै देखिन्छ तर जब कारण खोज्न थाल्छौ समस्या
हिजोको राज्यसत्ता, हिजोको समाज र शामन्ती सोचहरु संग जोडिएर आउछ । अब
कम्तिमा पनि हामीले स्वयंम दलितहरुलाई दोष देखाएर भाग्ने होइन कारण र
ईतिहासको खोजि गरेर समस्या समाधानका लागि हातेमालो गर्न जरुरि भैसकेको छ ।
मुलुकमा यति धेरै परिवर्तन भैसक्दा र स्वयंम नेपाली दलित आन्दोलनले झन्डै छ
दशकको यात्रा पुरा गरिसक्दा पनि दलितहरु माथि हुने विभेदमा खासै परिवर्तन
नहुनुको पछाडी यो समस्यालाई केवल दलितको समस्याको रुपमा मात्रै हेर्ने
हाम्रो दृष्टिकोण हो । अनि यो आन्दोलनमा केवल दलितहरु मात्रै आगाडी आउनु हो
। हरेक समस्याका पछाडी दुईवटा पक्षहरु हुन्छ । छुवाछूत जस्तो मानव
समाजलाईनै प्रदुषित बनाउने समस्याका पछाडी पनि दुईवटै पक्षहरु छन । जबसम्म
यी दुवै पक्षहरु समस्या समाधानकालागि मिलेर आगाडी आउदैनन एउटा पक्षले
मात्रै चिच्याएर केहि हुनेवाला छैन । त्यसैले पनि दलितका समस्यालाई अब
राष्ट्रिय समस्याको रुपमा र सबै नेपालीहरुको साझा समस्याको रुपमा परिभाषित
गर्दै दलित गैरदलित सबैजना अगाडी आउन जरुरि भैसकेको छ । विशेष गरि गैरदलित
साथीहरु यसकारण पनि आगाडी आउन जरुरि छ कि कानुनले सार्वजनिक स्थानहरुमा
न्याय दिनसक्छ, राज्यका स्रोतसाधनहरुमा पहुच स्थापित गर्नसक्छ तर तपाई
हाम्रो घरभित्र, व्यक्तिगत जिबनभित्र कानुन प्रवेश गर्नसक्दैन ।
तपाई
हाम्रो घरपरिवार भित्र लुकेर बसेको त्यो विभेदकारी सोच र ब्यवहारहरुलाई
खोजि खोजि समाप्त गर्ने जिम्मा गैरदलित साथीहरुकै हो । हामीले साच्चैनै
हातेमालो गरेर अगाडी बढ्ने हो भने यो समस्या यहि पुस्तामा समाप्त हुने कुरा
पक्का छ । हाम्रो चाहना पनि यहि हो कि हामी भन्दा पछिका हाम्रा पुस्ताले
दलितको ट््याग भिरेर आफ्नो स्वाभिमानकालागि फेरी हामीले जस्तो संघर्ष गर्नु
नपरोस । अन्तमा हिजोको तितो बिर्सिएिर भोलिको मिठो नयाँ नेपाल बनाउने
जिम्मा हामी युवाहरुकै हो । त्यो मिठो नयाँ नेपाल त्यतिबेला मात्रै बन्नेछ
जतिबेला हामी बिचको विभेद र असमानताहरुको अन्त भएर शान्त, समृद्ध र समावेशी
नयाँ नेपाल निर्माणगर्न हामी सक्षम हुने छौ ।
(यो लेख गत साता प्रवासी तनहु दलित समाज, दोहा कतारद्वारा सनैयामा आयोजित
कार्यक्रममा लेखकले बोल्नु भएका केहि अंशहरु हुन ) published date-
18-dec-2013,
rajdhani international weekly
No comments:
Post a Comment