|
बैदेशिक रोजगारले मुहार फेरी दिएको जुम्लादी गाउँ |
प्रेम सुनार असौज–१७, गुल्मी । ‘पहिला–पहिला त जुम्लादीका दलितहरुको वस्तीमा जाँदा नाक–मुख छोपेर जानु पर्ने अवस्था थियो ’ पिपलधारा ५ का ७८ वषिय बृद्ध भेषबहादुर जि.सीले कमाण्डर पोष्टलाई भने–‘ अहिले त उनिहरुको टोलमा खाँदै हिडेको मकै भट्ट (भटमास ) भुँईमा खसे पनि टिपेर खाउ जस्तो सफा–सुग्घर भएको छ ।’उनले थपे–‘ सर सफाईमा मात्र के भन्नु, पढाई, पैसो सवै कुराले क्षेत्री–वाहुनहरुलाई उनिहरुले उछिने , उनिहरुको रहन सहन देख्दा अहिले त कुन क्षेत्री–वाहुन, कुन दलित एक नास छ ।’ उनि मात्र होईन यति वेला पिपलधारा ६ मा रहेको दलित वस्तीको सर–सफाई, शैक्षिक र आर्थिक विकासलाई मुक्त कण्ठले तारिफ नगर्ने त्यस गााविसका कुनै ग्रैह दलित छैनन् ।गुल्मीको सदरमुकाम तम्घासबाट दक्षिण पश्चिम २८ कि.मि.दुरीमा पर्ने त्यस गाविसको जुम्लादी गाउँ तिन–चार घरधुरी ग्रैह दलित वाहेक पुरै दलितहरुको वसोवास रहेको गाउँ हो । जहाँ ९१ घरधुरी जुम्लादीको दलित वस्तीमा पुग्दा उनिहरुको घर–दलान, करेसोवारी, शौचालय, उनिहरुको वोली भाषा, अनुशासन र सभ्यता साच्ची नै पहिलेदेखि नै शिक्षित, सभ्य भनिएका व्राम्हण–क्षेत्रीहरुलाई माथ खुवाउने खालको छ । जुन कुरा स्थानिय ति समुदायका मान्छेले नै स्वीकार गर्दछन् ।
पिपलधाराका लागि सफलताको कथा के छ त ? भनेर सोध्धा नेकपा एमाले पिलधारा गाउँ कमिटी अध्यक्ष बाबुराम खड्काले भने –‘यस गाविसको सफालताको कथा भने कै हाम्रो जुम्लादी गाउँको दलित वस्ती हो, जुन यस जिल्ला कै नुमना दलित वस्ती हो भन्छौं हामी । ’एमाले अध्यक्ष खडकाको त्यस्तो दावीप्रति नेपाली कांग्रेस सभापति नविन जि.सी., एकिकृत नेकपा माओवादी पिपलधारा गाउँ कमिटी अध्यक्ष महेन्द्र वि.सी र गाविस सचिव देवेन्द्र कुँवर समर्थन जनाउँ छन् । उनिहरु सामुहिक रुपमा भन्छन्–‘ साँच्ची, हिजो कस्तो थियो आज कस्तो भयो यो दलित वस्ती , यस वस्तीलाई त जिल्लाको सरोकारवाला निकायबाट अनुगमन गरेर प्रोत्साहित गर्न नमुना गाउँ घोषणा नै गर्नु पर्ने हो ।’
आज भन्दा डेढ दशक अघि सम्म कतै खर त कतै सल्ली पिरलका स–साना झुपडी, बाहिरबाट मानिसहरु जाँदा पक्कै यो दलित वस्ती होला भनेर सहजै अनुमान गर्न सकिने जुम्लादी गाउँ अहिले कोखैमा रहेको वडा नम्वर ५ को व्राम्ह्ण टोल र उसमा केहि फरक देखिदैन । विहान वेलुकाको चुलो जलाउने र अन्य घरयासी गर्जो टार्ने आर्थिक भारले गाँजेपछि के को सर सफाई , के को शिक्षा र स्वास्थ्य ? यस्तो अवस्थामा गुजिएको त्यहाँको दलित वस्तीको अहिले मुहार फेराई दिने कुनै सरकारी निकाय होईन रहेछ त्यो सव बैदेशिक रोजगार रहेछ ।कति छन् त्यहाँका दलितहरु बैदेशिक रोजगारमा ? स्थानियवासी एवं नेकपा एमाले पिपलधाराका सचिव गोपाल सुनार भन्छन्–‘३६ जना गल्फ कन्ट्रिीमा छन् एक जना नरेन्द्र सुनार अष्ट्रेलियामा र ६० जना भन्दा बढि भारतमा छन् । ’ सो गाविसका एमाओवादी अध्यक्ष महेन्द्र विसीका अनुसार भारत, वैदेशिक रोजगार सहित वार्षिक सरदर एक करोड रुपैयाँ त्यस गाउँमा भित्रिन्छ । यि दुवै जनाका अनुसार त्यस रकमले क्रमश जुम्लादी गाउँको मुहार फेरेको हो । त्यसबाट बढि मात्रमा नयाँ पिढीले शैक्षिक क्षेत्रमा फड्को मारे ।
९१ घरधुरी त्यस गाउँबाट एसएलसी पास गर्नेको संख्या ९० नाघि सकेको छ । एसएलसी दिन क्रममा ३६ जना जति छन् । ७ जना प्रमाण पत्र तह, ६ जना स्नातक, २ जना स्नाकोत्तर , ५ जना प्रमाण पत्र तह प्राविधिक शिक्षा, डेढ सय करिव वाल वालिका विद्यालयमा रहेका छन् । यसरी शैक्षिक क्षेत्रमा त्यस गाउँका विद्यार्थीहरुको फड्को मार्नु नेपाल सरकारको वाल वालिका विद्यालय भर्ना कार्यक्रमको प्रभाव पनि एक हो भन्छन गोपाल सुनार ।शैक्षिक क्षेत्रमा त्यति प्रगति गर्दा पनि सरकारी निकायबाट प्रोत्साहन मिल्न सकेको रहेन छ । मुस्कीलले एक जना राजेन्द्र रसाईली नेपाल प्रहरीको जवानतहमा, वावुराम रसाईली पुनरावेदन अदालत भैरहवामा खरदार तह, कृष्ण सुनार जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीको सुब्बा तह , उनका भाई शिव सुनार पनि सरकारी सेवामा खरदार छन् , विरेन्द्र सुनार चारपालमा शिक्षक रहेका छन् ।
परम्परागत पेशा अहिले कस्तो छ त ? ज्ञानबहादुर सुनार भन्छन् –‘यस गाउँको मुख्य पेशा विगतमा आरने, सुनारे र चित्रे काम थियो तर त्यस पेशाबाट गर्जो टार्न मुस्कील परेपछि देश विदेशतिर लागे अहिले एकाधा घर आरने र सुनारे छन्, अरु सवैले छाडे ’
राजनैतिक, सामाजिक क्षेत्रमा उनिहरुको नेतृत्वः महेन्द्र एमाओवादी पिपलधारको अध्यक्ष, गिरबहादुर सुनार एमालेको गाउँ कमिटी सदस्य, भोटबहादुर सुनार नेपाली कांग्रेसको गाउँ सदस्य सहित अधिकांस युवाहरु ति दलहरुको युवा संगठनमा जिल्ला स्तरिय कार्यकर्ता छन् । भारतिय सेनाबाट अवकासमा आएका देवबहादुर सुनार पिपलधारा मोटरबाटो समितिका अध्यक्ष, गिरबहादुर गणेश मा.वि.को अध्यक्ष रही सकेका छन् । अन्य मोटरबाटो , वन र मठ मन्दीमा समेत उनिहरुको निर्णायक भुमिका रहँदै आएको छ ।
अहिले उनिहरुको रहन सहनः सडकहरुमा चल्ने उनिहरु कै गाडी छन् । प्रायः घर घरमा टि.भी, ईन्टरनेट, शहरियासंग दाँज्नु पर्ने वेट रुम , वैठक कोठा , चुलो, दलान , करेसोवारी र धारा वरीपरीको बातवरण । ग्रामिण भेगका कतिपय स्थानका दलितहरुको वोल्ने भाषा , शैलीले पनि कता कता अलि भिन्नता जनाउछ तर त्यहाँका दलितहरुमा कत्ति भिन्नता छैन । लवाई खुवाई, रहन सहनमा आएको त्यो परिवर्तन संगै उनिहरुको परम्पारदेखिको खर्चिलो, भड्किलो चाड पर्व लागायतको गलत सांष्कृतिक पक्ष , जसले दलितहरुलाई अरु समुदाय भन्दा पछाडी पारेको थियो , त्यसलाई त्यागे उनिहरुले ।दलित अगुवा ज्ञानबहादुर सुनार भन्छन्–‘ कुनै बेला दलितहरुलनई सडेगलेकोे खाने जाती भनेर घृण गर्थे त्यो हामीले त्यागेको तिसौं वर्ष भयो । जाँड रक्सीले पनि हामीलाई अरु जातीसंग झुकाएको थियो’ उनले थपे–‘ म दलितको छोरो हुँ तर यो उमेर भयो अहिले सम्म जाँड रक्सी पिएको छैन । ’
उनले त्यस गाउँका दलित युवाहरु पनि जाँड रक्सीप्रति नियन्त्रीत रहेको बताउँदै भने –‘अहिले यहाँका दलितहरु जाँड रक्सी पिएर क्षेत्री व्राम्हण समुदायबाट झुक्न र लज्जीत हुनु पर्ने अवस्था छैन, बरु अहिले उहाँहरु नै हामीसंग झुक्ने गरी पिएर हिड्नु हुन्छ । ’उनले थपे–‘ हामी घर घरमा रक्सी बनाउने, यस्ता दशै तिहार चाड पर्वहरुमा भड्काई गर्ने जस्ता विलासी सांष्कृतिक पक्षलाई त्यागेरै आज अन्य जातीहरुले समेत तारिफ गर्ने भएका हौं, विशेषतः नया पिढीलाई अनुशासनमा राख्न र शिक्षा दिनमा हामी पुराना पिढीहरुको योगदान छ ।’गणेश माध्यामिक विद्यालय पिलधाराका ब्यबस्थापन समिति अध्यक्ष रामप्रसाद खनाल भन्छन् –‘ सर्व प्रथम तः मुख्य कुरा त शिक्षा नै ठुलो कुरा रहेछ , जव यहाँका दलितहरुले शिक्षा पाए तव उनिहरुमा यो परिवर्तन आयो । ’ उनले जुम्लादी गाउँ देखाउदै भने–‘ ल हेर्नुहोस् हिजो कस्तो थियो आज कस्तो छ यो दलित वस्ती ।’
गोपाल सुनार भन्छन् –‘यसको श्रेय पहिलो त वैदेशिक रोजगार हो दोश्रो हिजोको गलत पक्ष त्यागेर अरुको हाराहारीमा पुग्नु पर्छ भन्ने हाम्रा अग्रज र हामी युवाहरुको जनचेतना मुलक अभियानको परिणाम हो । ’ सोही गाउँमा रहेको जन कल्याणकारी प्राथामिक विद्यालय ब्यबस्थापन समितका अध्यक्ष समेत रहेका सुनारले त्यहाँका पछिल्ला पिढीलाई सभ्य र अनुशासित बनाउन त्यस विद्यालयका व्राम्हण क्षेत्री समुदायका शिक्षकहरुको पनि देन रहेको बताउँछन् ।जुम्लादी गाउँका मात्र होईन वैदेशिक रोजगारले उनिहरुको छेवैमा रहेको नयाँगाउँ–१ , राहलेको दलित वस्तीको पनि मुहार फेरिएको छ । कुनै समय ‘राहलेका कामी र नादीका कुमाल’ भनेर उपेक्षा गरिने त्यहाँका दलितहरुलाई अहिले कसैले हेप्न सक्दैनन् । ४२ घर धुरी उनिहरु पनि झण्डै तिन दर्जन बढि युवा वैदेशिक रोजगारमा छन् ।सुरक्षित वैदेशिक रोजगारको क्षेत्रमा काम गर्दै आएको संस्था पौरखी नेपाल गुल्मी शाखाका अनुसार त्यस पिपलधारबाट कुल ६ सय ३ जना र नयाँगाउँबाट ८ सय ५४ जना युवाहरु बैदेशिक रोजगारमा रहेका छन् । मुलतः वैदेशिक रोजगारले नै सवै जात जातीलाई हाराहराीमा ल्याउन मद्धत पुराएको शाखाकी कार्यक्रम संयोजक संजिवनी अर्याल बताउँ छिन ।साभार :- ebaglung
No comments:
Post a Comment