बादी समुदायका महिला सम्मानित जीवनको बाटोमा

नेपालगन्ज , २२ असोज -बादी समुदायका महिला सामाजिक विकास तथा रोजगारमूलक व्यवसायमा संलग्न हुने क्रम यहाँ क्रमशः बढ्दै गएको पाइन्छ । विगतमा देहव्यापारमा संलग्न जाति भनी समाजद्वारा हेपिने सो समुदायको सामाजिक विकास र रोजगारमूलक गतिविधिमा संलग्नता बढ्दै गएपछि समाजले पनि उनीहरुलाई हेर्ने दृष्टिकोण विस्तारै परिवर्तन गरेको छ ।
“हाम्रो समुदायका महिलाले अहिले देहव्यापारलाई चटक्कै छाडिसकेका छन्”, महिला विकास कार्यालयमा सामाजिक परिचालकका रुपमा कार्यरत मञ्जु नेपालीको थप भनाइ छ, “पुनः त्यस्तो कार्यमा समुदायका कोही महिला नलागुन् भन्नका लागि समुदायले कडा नियम बनाएको छ ।”सो समुदायका ५४ जना महिलाले यहाँ ‘शान्ति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था’ गठन गरी चकलेट उद्योग सञ्चालन गर्नुले पनि सो समुदायका महिला सम्मानित जीवनयापन गर्न चाहन्छ भन्ने कुरालाई इङ्गित गर्दछ । 

सेभ द चिल्ड्रेन, बाँके युनेस्को क्लब, महिला विकास कार्यालय र लुमन्ती संस्थाको रु तीन लाख ५० हजारको लागतमा स्थापना गरिएको सो उद्योगले दैनिक एक क्विन्टलभन्दा बढी चकलेट उत्पादन गर्ने लक्ष्य निर्धारण गरेको छ । 

उत्पादित चकलेट मध्यपश्चिमाञ्चलको बर्दिया, बाँके, सुर्खेत, जुम्ला, हुम्ला, दाङलगायतका जिल्लामा निर्यात हुने गरेको संस्थाका अध्यक्ष कल्पना नेपालीले बताउनुभयो । बादी समुदायका ४४ घरधुरीको सहभागिता रहेको सो उद्योगबाट दैनिक सरदर रु पाँच हजार मुनाफासमेत आर्जन हुने गरेको छ । यता, केही समयदेखि भने चकलेट उद्योगको मेसिन बिग्रेकाले उत्पादन अवरुद्ध भएपछि महिला विकास कार्यालयले थप दुई मेसिन खरिद गर्नका लागि रु एक लाख २५ हजार  आर्थिक सहयोग उपलब्ध गराएको महिला विकास अधिकृत शोभा शाहले बताउनुभयो ।

त्यसैगरी, संस्थाअन्तर्गत गठन गरिएका युथ प्रेरणा समूह र सिर्जना बाल क्लबले जिल्लाका बादी समुदायका बालबालिका तथा युवायुवतीलाई शिक्षा तथा सामाजिक विकासको दिशामा अग्रसर गराउने अभियानसमेत सञ्चालन गर्दै आएको छ । बादी समुदायका महिलाले चालेको आर्थिक उपार्जनको चकलेट उद्योगबाट अहिले बाँके युनेस्को क्लबले भने हात झिकेको छ । “समुदायका महिलालाई आत्मनिर्भर बनाउन त्यसो गरिएको हो”, सो संस्थाका अध्यक्ष परवेज  सिद्धिकीको भनाइ छ । 
- Source:-.harekpal

No comments:

Post a Comment