दलितको लागि बनेको विद्यालयमा कुखुरा पालन शुरु
Sunday, August 4, 2013
पर्सा, भौराटार–५ फूलकौल टोलमा रहेको दलित मुक्ति प्रावि अहिले कुखुरा पालनमा परिणत भएको छ।
विद्यालय स्थापनाका लागि स्थानीय अमरदेव पासवान र बारा जिल्ला
झिटकैयाका मुसाहेब पासवानले उपलब्ध गराएको १ कठ्ठा १८ धुर जग्गा सम्बन्धमा
विवाद भएपछि विद्यालयको पठनपाठन ठप्प भएको र विद्यालय व्यवस्थापन समितिका
अध्यक्ष अमरदेव पासवानले सो विद्यालयमा कुखुरा पालन शुरु गरेका हुन्। २०६४
सालमा ए. माओवादीका सांस्कृतिक फाँटका जिल्ला संयोजक एवं दलित मुक्ति
मोर्चा क्षेत्र नं. ३ का सदस्यसमेत रहेका अमरदेव पासवानले फूलकौलमा रहेका
५५ घरधुरी दलित परिवारका बालबालिकाको पठनपाठनका लागि विद्यालय स्थापना
गराएका थिए। उनी र बारा, झिटकैयाका मुसाहेब पासवानले १ कठ्ठा १८ धुर
विद्यालय स्थापनाको लागि जग्गा दिने घोषणा गरेपछि सो स्थानमा खर बाँसको
विद्यालय बनाइएको थियो।
आव २०६७/०६८ मा जिविस पर्साबाट संसदीय
विकास कोष अन्तर्गत साढे ४ लाख रुपियाँ बुझेर अमरदेवले दलित मुक्ति
प्राविमा १ कोठे पक्की भवन पनि निर्माण गरेका थिए। सो भवनमा अहिले
कुखुराहरूको लागि आवश्यक दाना, भेटेनरीका औषधिहरू सञ्चय गरिएको छ। करिब ५०
जना दलित परिवारका विद्यार्थी अध्ययन गर्दै आएको सो विद्यालयमा पछिल्लो
समयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्ने होडबाजीमा विवाद भएपछि
जग्गाधनी र स्थानीयबीच तनाव भएको र जग्गाधनीले विद्यालयमा आफ्नो कब्जा
जमाएको कारण पठनपाठन प्रभावित भएको हो।
दलित मुक्ति प्राविको
पठनपाठन सुचारु गर्न स्थानीय चन्द्रिका महराले जिप्रका र जिशिकालगायतमा
लिखित उजुरी गरेका छन् तर अहिलेसम्म कुनै सुनुवाइ भएको छैन। विद्यालय
व्यवस्थापन समितिका अध्यक्ष अमरदेव पासवानको १० धुर र मुसाहेब पासवानको १
कठ्ठा ८ धुर जग्गामा निर्मित खरबाँसको विद्यालय भवनमा अमरदेवले कुखुरा पालन
शुरु गरेका छन्। सो विद्यालयका लागि एकजना पिसिएफ शिक्षक जितेश जयसवालको
व्यवस्था गरिएको छ। उनी हालका दिनमा २० जना विद्यार्थी गरेको देखाउँदै
वार्षिक तलब २२ हजार बुझ्दै छन् तर विद्यालयको पठनपाठन विगत १ वर्षदेखि
पूर्णतया प्रभावित भएको छ र त्यहाँ अध्ययनरत दलित छात्रछात्राहरू डेढ
किलोमिटर टाढा रामनगरीमा अध्ययन गर्न गइरहेका छन्।
विद्यालय
व्यवस्थापन समितिका अध्यक्ष अमरदेव पासवान समितिको कारण विवाद भएको र स्कूल
सुचारु भएको खण्डमा आफूले सञ्चालन गरेको कुखुरा पालन अविलम्ब खाली गरिदिने
बताउँछन्।
दलित मुक्ति प्राविको यो अवस्था छ भने सोही गाउँमा
रहेको अर्को नेराप्रावि भौराटारको पनि अवस्था दयनीय रहेको छ। ४ कोठे पुरानो
पक्की भवन र ४ कोठे नयाँ पक्की भवन रहेको सो विद्यालयमा दुई वर्षअघिसम्म ४
सय विद्यार्थी अध्ययनरत थिए र उनीहरूको लागि ७ जना शिक्षकहरूको व्यवस्था
गरिएको थियो । हाल विद्यालयमा दैनिक १० जना विद्यार्थीहरू पनि आउँदैनन् तर
सात शिक्षकहरू आउने र हाजिरी गरेर तलब पकाउँदै जाने गरेका छन्। विद्यालयको
शौचालयमा भूत भएको हल्ला फिजिएपछि विद्यार्थीहरू दुई वर्षदेखि घट्दै गएका
हुन् र उनीहरू पनि डेढ किलोमिटर टाढा रामनगरी विद्यालयमा अध्ययन गर्दैछन्।
स्थानीय विद्यार्थीहरू विद्यालयको शौचालयमा भूत भएको हल्लाले स्कूलमा
अध्ययन नगएर टाढा रामनगरीस्थित विद्यालयमा अध्ययन गरिरहेको बताउँछन् । दुवै
विद्यालयको सम्बन्धमा जिल्ला शिक्षा कार्यालय, पर्साका जिशिअ हरिप्रसाद
बस्तीसँग बुझ्दा उनले दलित विद्यालयमा स्थानीय र जग्गाधनीबीच विवाद भएको
कारण विद्यालयको पठनपाठन प्रभावित भएको बताए। उनले सो सम्बन्धमा जिल्ला
प्रशासनलगायत निकायमा उजुरी परेको पनि जानकारी गराए। तर नेराप्रावि
भौराटारको सम्बन्धमा भने उनले अनभिज्ञता जाहेर गरे। भूतको कारण विद्यालय
बन्द भएको आफूलाई सूचना नआएको भन्दै यसबारे बुझेर प्रतिक्रिया दिने बताएका
छन्।
sourece: prateekdaily
सरोकार
No comments:
Post a Comment