छुवाछुत झल्किने दृश्य र विभेदको पूर्णरुपमा अन्त्य हुन नसकेको स्पष्ट

नेपालमा जातीय भेदभाव र छुवाछुत उन्मुलन भएको भनिएको वर्षौं बितिसक्यो। तर, ग्रामीण क्षेत्रमा भने यस्ता भेदभाव र छुवाछुत कायमै छन्। यतिसम्मकी सार्वजनिकस्थलमा रहेका खानेपानीका धारा पनि दलित र गैरदलितका लागि भनेर छुट्याइएका छन्। दैलेखको जम्बुकाध गाविसमा दलित र गैरदलितले खानेपानीका छुट्टाछुट्टै धारा प्रयोग गर्छन्।
दैलेखको जम्बुकाध गाविसको वस्तेकोट गाउंमा मूख्य गरी चार जातिको बसोबास छ। दमाइ, कामी, कार्की र ब्राह्मण। बसोबास एउटै गाउंमा छ। पंधेरो एउटै छ। तर, पंधेरामा धारा भने जातिपिच्छे फरक छन्। एउटै पंधेरामा जाति विशेषका लागि धारा बनाइएका छन्। र नामाकरण र संकेतका आधारमा दमाई, कामी, कार्की र ब्राह्मण समुदायले प्रयोग गर्छन्। धाराका आकार पनि जनसंख्या र जातिकै आधारमा निर्माण गरिएका छन्। सबैभन्दा होचो धारा दमाईंको, मध्यम खालको धारा कामीको, अलि अग्लो कार्की र सवैभन्दा अग्लो धारा ब्राम्हण समुदायले प्रयोग गर्ने गरेका छन्। पछिल्लो समयमा धारा प्रयोग तथा छुवाछुतमा कमी आएपनि पानी भर्दा उच्च जातिकालाई अगाडि भर्न दिनुपर्ने चलन अझै कायम रहेको दलित महिलाहरु बताउछन्।
ब्राम्हण समुदायका व्यक्तिहरु भने धारा प्रयोग गर्न नपाइने चलन हटेको तर, दलितले छोएको धारा प्रयोग गर्दा भने चोख्याउनुपर्ने चलन रहेको बताउछन्। उनीहरु जातीय छुवाछुतको अन्त्य भएको आफुहरुलाई थाहा भएपनि मनले नमानेर यस्तो गर्ने गरेको बताउछन्। राकम कर्णालीको शेरावाडामा प्रयोग हुंदै आएका माझी, कामी र दमाई जातिका तीन वटा कुवालाई भने गाविस र स्थानीय एक गैर सरकारी संस्थाको पहलमा भत्काएर एउटै बनाइएको छ।
यी कुवाहरु तीन जातिकाले अलग अलग प्रयोग गर्दै आएका थिए। जातीय छुवाछुत अन्त्यका लागि गाउंमा धेरै संघ संस्थाहरुले काम गरिरहेका भएपनि यस्ता छुवाछुत झल्किने दृश्य र विभेदको पूर्णरुपमा अन्त्य हुन नसकेको स्पष्ट हुन्छ। जाति विशेषका आधारमा फरक फरक धारा र कुवा निर्माण गर्दा तत्कालका लागि कुनै समस्या त देखा पर्दैन। तर, यसले कालान्तरसम्म पनि विभेदको संकेत भने गरिरहने छ।
साभार : - रत्न शाही / himalayatv

No comments:

Post a Comment