मनुस्मृतिमा १२ वटा अध्याय छन् । ती अध्यायमा बेग्लाबेग्लै शीर्षकमा बेग्लाबेग्लै नीति नियमको व्याख्या गरिएको छ । पहिलो अध्यायमा सृष्टि तथा धर्मको उत्पत्तिबारे व्याख्या गरिएको छ । जसमा भनिएको छ कि यो संसार सृष्टिभन्दा पहिले अन्धकारमा ढाकिएको थियो । परमात्मा यो संसारलाई प्रकटावस्थामा ल्याउँदै उत्पन्न भए । उनले नै सामथ्र्यशाली तत्वको उत्पन्न गरे । आत्माको उपकार गर्ने मन, पाँच कर्मेन्द्रीयहरू मुख, हात, गोडा, गुद्वा र उपस्थ र पाँच ज्ञानेन्द्रीयहरू नाक, कान, आँखा, जिब्रो र छालालाई उत्पत्ति गरेको कुरा उल्लेख छ । दोस्रो अध्यायमा संस्कार र ब्रम्हचर्य आश्रमबारे उल्लेख गरिएको छ । जसमा हिन्दू संस्कारमा अपनाइने पूजापाठ, ब्रतबन्ध, विवाह, वेदविद्या आर्जन, आदर सम्मान, शिक्षा दीक्षा लगायतका विषयमा व्याख्या गरिएको छ । वेदविद्यालाई नै मनुस्मृतिमा सर्वश्रेष्ठ विद्या भनिएको छ । तेस्रो अध्यायमा विवाह लगायतका संस्कारका बारेमा बताइएको छ । आठ प्रकारका विवाहको वर्णन गरिएको छ । ब्रम्ह, देव, आर्ष, प्रजापत्य, गन्धर्व, राक्षस, आसुर र पैशाच । विद्याले सम्पन्न वरलाई बोलाएर गहना कपडाले सत्कार गर्दै गरिने कन्यादानलाई ब्रम्ह विवाह बताइएको छ । पिटेर, लुछाचुँडी गरेर, गाली गर्दै, रूँदै गरेकी कन्यालाई घरबाट बलपूर्वक अपहरण गरेर विवाह गर्नुलाई राक्षस विवाह भनिएको छ । यो विवाह कुनै पनि वर्णका लागि उपयुक्त छैन भनिएको छ । राजा–महाराजा तथा सामन्तहरूले थुप्रै विवाह गर्ने प्रचलन थियो । तर मनुस्मृतिले त्यसलाई कहीँ पनि ठीक भनेको छैन । धेरै विवाह गर्नु पर्छ पनि भनेको छैन । वर्तमान कानुनले कैयौँ विवाहलाई गैरकानुनी तथा अनैतिक बताएको छ । जस्तै बहुविवाह, अर्काकी श्रीमती लगिदिने, सौता बन्न जाने जस्ता विवाह अनैतिक र गैरकानुनी मानिन्छन् । त्यति बेलाको धार्मिक समाजलाई व्यवस्थित बनाउन नै त्यस प्रकारका विवाहको व्याख्या गरिएको अनुमान गर्न सकिन्छ । निदाइरहेकी, बौलाएकी, नसामा रहेकी कन्यालाई जबर्जस्ती करणी गर्नु सबैभन्दा नीच, दुष्ट र पापको मूल “पैशाच” विवाह भनिएको छ । ब्रम्ह, देव, आर्ष, प्रजापत्य विवाहलाई उचित मानिएको छ । प्रेम विवाहलाई पनि स्वीकार गरिएको छ ।
चौथो अध्यायमा जीवन, जीविका तथा ब्रतबारे उल्लेख गरिएको छ । जसको सुरूमै भनिएको छ ः “ब्राह्मण, क्षेत्री र वैश्यहरूले आयु (जीवन) को पहिलो चौथाई भाग २५ वर्ष गुरूको नजिकमा बसेर अध्ययन गरून् । दोस्रो चौथाई भागमा विवाह गरेर घरमा बसुन् । जीवनको उत्तरार्धमा वानप्रस्थान वा धर्मकर्ममा लागुन भनिएको छ । घुमघामलाई पनि महत्व दिइएको छ । आयु, क्रिया, धन, विद्या र कुल यिनको अनुरूप वेश, भेषभुषा, वाणी र समझदारीले आचरण गर्दै यो संसारमा घुम्नु पनि भनिएको छ । घरमा आएका अतिथिलाई भोजन, जल, कन्दमूल, फलहरूले सत्कार गर्नु तर धुर्त, पाखन्डी, नचाहिँदो कुरा गर्ने जस्ता व्यक्तिलाई बोलीले पनि सत्कार गर्नु हुँदैन भनिएको छ । यस अध्यायमा दानप्राप्तिको धेरै आशक्ति छोड्नु पर्ने बताइएको छ । “नपढेका ब्राम्हणले यदि सुन, भूमि, घोडा, गाई, कपडा, अन्न, तिल, घिउको दान ग्रहण गर्दछ भने त्यो दाउरा जस्तै जलेर जान्छ” लेखिएको छ । पाँचौँ अध्यायमा नै खानपान तथा धर्मको बारेमा बताइएको छ । लप्सी, खिर तथा मालपुवालाई बेकारको अन्न मानिएको छ । धेरै जमेको वा बासी खानेकुरालाई बर्जित मानिएको छ । च्याउ, लसुन, कुखुरा, प्याज, सलगम जसले खान्छ, त्यो पतित हुन्छ भनिएको छ । तर आज यी चीजमा पर्याप्त पौष्टिकता पाइने भएकाले खान उत्तम हुने वैज्ञानिक परीक्षणबाट पुष्टि भइसकेको छ । मृत्यु, सुत्केरी अवस्था, वैवाहिक अवस्थापछिका धार्मिक कार्यको पनि विभिन्न कोणबाट वर्णन गरिएको छ ।
छैटौँ अध्यायमा वन प्रस्थान र सन्यास धर्मको बारेमा वर्णन गरिएको छ । जीवनको उत्तरार्धमा जब शरीरका छाला कमजोर हुन थाल्छन्, अनि केशहरू पनि फुल्न लाग्छन्, यस्तो अवस्था भएपछि, छोराको पनि छोरा (नाति) जन्मिएपछि, वन प्रस्थानको आश्रममा हिँड्नु पर्छ भनिएको छ । सबै सम्पत्ति छोरा र श्रीमतीलाई छोडेर वा श्रीमतीलाई सँगै लिएर जाने उल्लेख गरिएको छ । वनमा गएर ऋषिमुनिहरूसँग बस्ने, कन्दमूल र फलफूल खाने, रूखका बोक्रा लगाउनुसम्म भनिएको छ । वेद अध्ययन गर्ने, सबैको मित्र बन्ने, यथासक्य दान गर्ने, सधै सत्य बोल्ने, कसैको अपमान नगर्ने, सन्यासीले दिनको एकपटक मात्र भिक्षा माग्ने र कसैको लोभमा नपर्ने, सम्पत्ति जोड्नतिर नलाग्ने भनिएको छ । भिक्षा पाइएन भने पनि दुःख नमान्ने र धेरै पाइयो भने खुशी पनि नहुने भनिएको छ ।
सातौँ र आठौँ अध्यायमा राजाहरूको धर्मको विषयमा उल्लेख गरिएको छ । परमात्माले राजा बिना सबैमा त्रास हुन्छ । त्यस्तो त्रासमा रहन दिनु हुँदैन भनेर सबै प्राणीको रक्षाका लागि “ईन्द्र, वायु, यम, सूर्य, अग्निे, वरूण, चन्द्रमा र कुवेरका सारभूत गुणलाई निकालेर यिनको स्वाभाविक मात्रा अर्थात् अंशको सारतत्व लिएर यी दिव्य गुणले सम्पन्न राजाको निर्माण गरे भनिएको छ । त्यसकारण परमात्माले यी शक्तिशाली देवशक्तिको अंशले राजाको पद बनाए । राजाले आफ्नो तेजद्वारा सबै प्राणीहरूलाई वशीभूत एवं पराजित गर्न सक्छन् भनेर लेखिएको छ । राजाले राज्य सञ्चालन गर्दा असल मन्त्रीहरू छान्नु पर्ने, देश र जनताको रक्षा गर्नु पर्ने, शत्रुसँग लडाई गरेर देश जोगाउनु पर्ने लेखिएको छ । राष्ट्रविरोधी तत्वलाई उखेलेर फ्याँक्दै राजाले राष्ट्रको रक्षा गर्नु पर्छ । पापी मन भएका, घुस खाने र ठग काम गर्ने कर्मचारी र वादी÷प्रतिवादीबाट कुनै प्रकारको घुस लिइहाले भने पनि तिनीहरूको सबै कुरा सर्वस्वहरण गरेर देश निकाला गरिदिनु पर्छ भनेर भनिएको छ । लडाइँको क्रममा हारेको वा आत्मसमर्पण गरेका सिपाहीलाई मार्नु हुँदैन भनिएको छ । आजका राष्ट्रघाती नेताहरूको चरित्र मनुस्मृतिको विपरीत छ । मनुले राष्ट्रलाई जोगाउनका लागि लडाइँ गर्नु परे पनि तयार रहनु पर्छ भनेका छन् । तर विदेशीहरूसँग हारगुहार गर्दै सरकारमा बसिरहने नीति कति राष्ट्रघाती छ भन्ने कुरा छर्लङ्ग हुन्छ ।
नवौँ अध्यायमा पति–पत्नीको कर्तव्य र व्यवहारबारे बताइएको छ । जसमा पतिले पत्नीको रक्षा गर्नु पर्ने, पत्नीले पतिको सेवा गर्नु पर्ने लगायतका कुरा उल्लेख छन् । सबै दाजुभाइले विवाह नभएकी दिदीबहिनीलाई चौथो भाग आफ्नो भागबाट दिनु पर्ने उल्लेख छ । महिलाको पेवा वा सम्पत्तिसम्बन्धी मुलुकी ऐनमा जुन विद्यमान व्यवस्था छ, ती सबै मनुस्मृतिबाट सापटी लिएर राखिएका देखिन्छन् । धर्मसँग सम्बन्धित मनुस्मृतिमा अधर्मी पुरूषहरूले ढाकेको, पाखन्डी र चन्डालहरूले भरिएको देशमा नबस्नु भन्ने जस्ता अर्ती उपदेश दिइएको छ । जहाँ धेरै बिरामी छन्, त्यहाँ नजानु भनिएको छ । तर वर्तमान समाजमा धेरै बिरामी भएको बखतमा त डाक्टरहरूसहित गएर पो मान्छेलाई उपचार गर्नु पर्छ र बचाउनु पर्छ । के मनुस्मृतिले भने झैँ गर्ने ?
पति मरेपछि कुनै पनि पुरूषको इच्छा गर्नु हुँदैन, फलफूल वा कन्दमूल खाएर दुब्लो पातलो बनाउने, शरीर दुब्लो पातलो भएपछि शरीरका सबै इच्छाहरू शान्त हुन्छन् भन्ने जस्ता अप्राकृतिक एवं विभेदकारी कुरा पनि उल्लेख गरिएका छन् । मनुस्मृतिले स्त्री पुज्य हुन्छिन्, जुन कुलमा स्त्री जातिहरू पति जस्ता पुरूषहरूबाट अपमानित भएर शोकाकुल हुन्छन्, त्यो कुल चाँडै नै नासिएर जान्छ । जुन कुलमा पत्नीबाट पति र पतिबाट पत्नी खुशी रहन्छन्, त्यो कुलको कल्याण हुन्छ भनेको छ । स्त्री जाति बाल्य अवस्थामा पिताको, यौवन अवस्थामा पतिको र पति मरेपछि छोराको अधिनमा रहुन् । यसरी स्त्री जाति कहिल्यै पनि स्वतन्त्र नबसुन् अर्थात् उनीहरूको रक्षाको आवश्यकता देखिन्छ भन्ने वाक्यको सबैभन्दा बढी आलोचना गरिएको पाइन्छ । तर यसको विभिन्न तरिकाले अर्थ लगाउन सकिन्छ । परिवारका सदस्यहरूको रक्षा गर्नु जुनसुकै घरमूलीको पनि कर्तव्य हो । नाबालक छोरा छ भने त्यसको रक्षा आमाले गर्नु पर्छ । आमाले रक्षा गर्नका लागि मनुस्मृतिमा लेखिरहनु पर्दैन । अशक्त पति छ भने पत्नीले रक्षा गर्नु पर्छ । त्यसको लागि पनि मनुस्मृतिमा लेख्नु पर्दैन । स्त्री जातिले घरको मात्रै काम गर्नु पर्छ कुलको निन्दा हुने काम गर्नु हुँदैन इत्यादि लेखिएको छ । तर त्यहाँ पुरूषले पनि कुलको निन्दा गर्ने काम गर्नु पर्छ भनेर लेखिएको छैन ।
विभिन्न व्यक्तिहरूले आफ्ना रचना वा प्रवचनमा हिन्दू धार्मिक कृतिहरूको उग्र विरोध गरेको पाइन्छ । मनुस्मृतिमा विभेदपूर्ण कुराहरू पनि उल्लेख गरिएका छन् । त्यति बेलाको समाजमा मनुस्मृतिले वर्तमान समयको मुलुकी ऐनको काम गरेको थियो पनि भन्न सकिन्छ । सत्य के हो भने मनुस्मृतिको आडमा हिन्दू समाजमा जात÷जातिको नाममा कलङ्कित जातिभेद स्थापित भयो र त्यसले हजारौँ वर्षसम्म मानिसहरूलाई अपहेलित, पीडित र दमित बनायो । जसलाई हिन्दूहरूले आजसम्म अँगाल्दै आएका छन् । मनुस्मृतिमा लिपिबद्ध गरिएका कुराहरूले हिन्दू समाजमा एकछत्र राज गरे मनुस्मृतिअनुसार श्रीकृष्ण ब्राह्मण र क्षेत्रीलाई छाडेर केवल वैश्य र शूद्रलाई चाहिँ रक्त अशुद्धता भएको जाति ठान्छन् । यसर्थ यादव समावेश रहेको सरकारद्वारा जारी अध्यादेशमा तराईका दलित, जनजाति र धार्मिक अल्पसंख्यक समुदायका मानिसहरू मनुस्मृति धार्मिक ग्रन्थअनुसार पापयोनिबाट जन्मेका हुनाले उनीहरूको अधिकार हरणयोग्य छ भन्ने मान्यता राखेको हुनुपर्छ । जम्बुद्वीप, आर्यावर्त वा महाभारत जे भने पनि त्यहाँ बाहुनवाद थियो । वेद पढेमा शूद्रका कानमा सिसा पगालेर हालिन्थ्यो । ब्रह्माको मुखबाट ऊ जन्मिएकाले, उसलाई सर्वश्रेष्ठ मान्ने परम्परा थियो । यो व्यवस्था सात सालअघिसम्म कानुनी रूपमै रह्यो । आर्यहरूको मानवताद्रोही र जातिभेदवादी दस्ताबेजको नाम मनुस्मृति ग्रन्थ हो । यद्यपि, मनुनामक क्षेत्रीले समाजमा राम्रो व्यवस्था कायम गर्नका लागि योे ग्रन्थ रचेका हुन्, तर भृगु बाहुनहरूले मनुस्मृतिलाई भृगुस्मृति बनाइदिए । यसमा आर्यहरूको जन्मदेखि मृत्युसम्मको कर्मकाण्ड, उनीहरूका भक्ष-अभक्ष पदार्थको विवरण उल्लेख गर्दै ब्राह्मणले क्षेत्रीय, वैश्यलाई कसरी कजाउने र शूद्रलाई भोजननिम्ति जुठो अन्न, आङ ढाक्न पुराना वस्त्र तथा ओछ्यानका लागि धानको पराल र ओढ्नका लागि जीर्ण सिरक दिनुपर्छ भनेर उल्लेख गरिएको छ ।
शूद्रलाई बुद्धि दिनु हुँदैन । आफ्नो सेवकलाई बाहेक कुनै दोस्रो शूद्र -भोकै मर्छ भने पनि) लाई जुठो अन्नसमेत खान दिनु हुँदैन । देवतालाई मन्सिएको खाद्यपदार्थ पनि शूद्रलाई भक्षण गर्न नदिइयोस् । शूद्रजातिले ब्राह्मणादि उच्च तीन वर्णलाई कठोर वचनसाथ आक्षेप लगाउँछ भने त्यस शूद्रको जिब्रो काटिदिनुपर्छ, किनभने त्यो सबैभन्दा नीच वर्णमा उत्पन्न भएको हो । शूद्रले बाहुन, क्षेत्रीको जात तथा नाम काट्दै निन्दा गरेमा त्यसको मुखमा दस अङ्गुल लामो फलामे किला आगोमा पोली रातो पारेर घुसारिदिनू । शूद्रले घमण्डका साथ बाहुनलाई उपदेश दिएमा राजाले त्यस शूद्रका मुख र कानभित्र उम्लँदो तेल खन्याइदिनू । शूद्रले आफ्नो हात-गोडामध्ये जुन अंगद्वारा उच्च जातिउपर प्रहार गर्छ त्यही अंगलाई राजाले काटी फ्याकिदिनू, यो मनुको आज्ञा हो । शूद्र बाहुनसँगसँगै एउटै आसनमा बस्यो भने राजाले त्यसको कम्मरमा आगोले रातो पारिएको फलामे डन्डीले डामेर देशनिकाला गरिदिनू वा नाक काटिदिनू । शूद्रले घमण्डका साथ ब्राह्मणको शरीरमा थुकिदिएमा त्यसका दुवै ओठ, मुतिदिएमा यौनांग कटाई फ्याँकिदिनू ।
कस्तो अमानुषिक तरिकाले यातना दिनुपर्ने हो, ती उपदेश मनुस्मृतिमा उल्लेख गरिएका छन्, जुन मनुस्मृतिको हिमायती पार्टी हो फोरम । मनुस्मृतिमा उल्लेख छ— चाण्डाल र स्वपच -अछुत) हरूको बसोवास गाउँबाहिर हुनुपर्छ । यिनीहरूसँग भाँडाकुँडा केही हुनु हुँदैन, कुकुर र गधा यिनीहरूको सम्पत्ति हो । लासलाई ढाकी फालेको कात्रो यिनीहरूले ओढ्नुपर्छ । शूद्रको सम्पत्ति हरणयोग्य छ । शूद्र खरिद गरिएको होस् वा नहोस् उसलाई दासको काम गराउनुपर्छ किनभने विधाताले त्यसलाई बाहुनको दासकर्म गरिदिनका लागि नै बनाएको छ । हिन्दू धर्मका हिमायती, मनुस्मृतिका अनुयायीहरु यस्ता अमानबिय कुरा सुधार्ने कि नसुधार्ने ?
No comments:
Post a Comment