पीपलडालीका अन्य १९ परिवार मुक्त हलिया को अवस्था उस्तै

बाढीपहिरोको त्रासले रातभर सुत्न नपाएका बाजुराको बाँधु गाविसस्थित पीपलडालीका मुक्त हलिया परिवार ।
 गत वर्षको बाढीपहिरोबाट आमा र छोरी गुमाए पनि आफू बाँचेका बाँधु गाविसको पीपलडालीका प्रवल सार्कीको परिवार यो वर्षातमा पनि राम्ररी सुत्न पाएको छैन । 'पानी परेको रात लालाबालासहित जागै बस्ने
हामीहरूले दुई महिनादेखि राम्ररी सुत्नै पाएका छैनौं,' प्रवलले भने । पीपलडालीका अन्य १९ परिवार मुक्त हलिया को अवस्था उस्तै छ । पहिरोको मुखैमा बस्ती भएकाले पानी नपरेको दिनसमेत माथिबाट ढुंगा झरिरहन्छ ।

'पानी परेको दिन त घर छाडेर छिमेकीको गोठमा आश्रय माग्छौं,' स्थानीय उकाली ओराली मुक्त हलिया समूहका सचिव मनवीर लोहारले भने । पानी परेको दिन आफूहरू घर छाडेर सुरक्षित लागेको छिमेकीको घरको गोठमा रात बिताउन बाध्य हुने गरेको उनले बताए ।

छिमेकीको घरमा समेत ठाउँ नहुने भएकाले पशु चौपाया राख्ने गोठमा भए पनि आफूहरू रात काट्दै आएको अर्का मुक्त हलिया गंगाराम लोहारले सुनाए । 'ज्यान जोखिममा पर्नु भन्दा पशुचौपाया राख्ने गोठकै बास ठीक', गंगारामले भने ।

साहुको जमिन जोतेर गुजारा गर्ने मुक्त हलिया को बसोबास रहेको पीपलडालीको बस्तीलाई भूगर्भविद्ले समेत जोखिमयुक्त भनिसकेका छन् । गत वर्ष गाउँको माथिबाट आएको बाढी पहिरोले जनधनको क्षति गरेपछि भूगर्भविद्ले यस क्षेत्रको स्थलगत अध्ययन गरी जुनसुकै बेला पनि पहिरो आएर बस्ती भासिन सक्ने औंल्याउँदै बस्ती सार्न सुझाव दिएको थियो ।

बसाइ सर्ने अर्को विकल्प नभएपछि पहिरोले आधा भासिएकै घरमा बस्नुपर्ने बाध्यता रहेको मनवीरले बताए । कोल्टीसँगै जोडिएको पीपलडालीमा १ सय २५ परिवारको बसोबास छ ।

गत वर्षको बाढीपहिरोबाट धनजनको क्षति बेहोरेपछि स्थलगत अध्ययनमा आएका तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बस्ती सारेर जोखिममा परेका परिवारलाई पुनस्र्थापना गरिने आश्वासन दिए पनि कार्यान्वयन नभएकोमा पीडित आक्रोसित छन् ।

प्रधानमन्त्री आफै‌ले हाम्रो समस्या देखेर पनि आश्वासन मात्रै दिए, हाम्रो पीडा जहाँको त्यहीँ छ,' स्थानीय हरिचन्द्र लोहारले दुःखेसो पोखे ।


- Source: ekantipur

No comments:

Post a Comment