धर्मगुरूहरुलाई खुलापत्र- डा. अरुणा उप्रेती

डा. अरुणा उप्रेती
रौतहटमा दलितहरूलाई मन्दिरमा प्रवेश गरेकाले गैरदलितले पिटेको, घर भत्काएको आदिबारे तपाईहरूले विरोध गरेर आवाज निकाल्नुहुन्छ होला । 'यो अपराध हो र धर्म विरुद्घको' काम हो भनी रेडियो, टिभीमा भन्नुहुन्छ होला र अझ मानवता विरुद्घ गरेको यो अपराध, धर्मको नाममा गरेको पाप र तपाईको धर्मलाई नै बदनाम गराउने यो कृत्यको निन्दा गर्नुहुन्छ होला भन्ने लागेको थियो । तर नेपाललाई खास कुनै खास धर्मको पेवा हुनुपर्छ भनी ठूलठूलो आवाज उठाउने, सडक बन्द गर्ने दलहरूले जब एउटी दलित महिलालाई लछार-पछार गरियो, दलितहरूको घरबाट भाँडाकुँडा निकालेर कुच्याइयो र अमानवीयताको चरम सीमा
नाघ्यो, त्यसमा पनि तपाईहरू चुप लागेर बस्नुभयो । धार्मिक गुरुहरूलाई यो पत्र लेख्न किन जरुरी भयो भने यी सबै काम 'धार्मिक डन'हरूले गरेका थिए र धर्मको नाममा यी सबै काम भएका थिए । तर तिनै धर्मका प्रवर्तक, तपाईहरू चुप लाग्नुभएको छ । मानांै केही भएकै छैन । यस्तै तपाईहरूको प्रवृत्तिले नै मानिसलाई धर्मप्रति वितृष्णा जगाएको छ ।

विभिन्न पत्रपत्रिकामा कर्मकाण्डको विरोध गर्दै लेखहरू लेखिन्छन्, तब तपाईहरू त्यस्ता लेखको विरोध गर्दै सम्पादकलाई चिठी लेख्नुहुन्छ । धम्कीपूर्ण एसएमएस पठाउनुहुन्छ । तर मानवलाई अपमान गर्ने यस्तो काण्ड हुँदा कहाँ गयो तपाईहरूको आवाज, कलम र मोबाइल ?

धार्मिक गुरुजीहरू रौतहटमा भएको दलित विरुद्घको हिंसा केवल त्यहाँका दलित विरुद्घमात्र भएको होइन, यो त सम्पूर्ण नेपाली विरुद्घको हिंसा हो । योे अर्को व्यक्ति विरुद्घ झगडा र पिटाइ होइन, परिवार-परिवार बीचको झगडा पनि होइन । यो झगडा तालिवान र फासिस्ट प्रवृत्तिको प्रतीक हो र यो तालिवान प्रवृत्तिलाई हटाउन न कुनै धर्मको नाममा राजनीति गर्ने दल न कुनै धार्मिक दल भए । दलितका आँसु, पीडा, चित्कार यसै माटोमा बिलाए । यही हो तपाईको धर्मको धारणा ? यही हो मानवताको सिद्धान्त र यस्तै भावना लिएर तपाईहरू चाहनुहुन्छ कि मानिसहरू मन्दिरमा जाउन् ?दलित र उच्च वर्गमा वर्गीकरण गरेर धर्मले मानव-मानवबीच जुन खाडल पैदा गरेको छ, त्यसलाई मलजल गर्ने काम धार्मिक गुरुहरूले गरेका छन् र तिनै गुरुहरूले जे सिकाए, त्यही ज्ञान लिएर तपाईका चेलाहरूले लछार-पछार गरे । तपाईका चेलाहरूको यो कुकृत्यले के तपाईलाई लज्जित गराएको छैन ? के तपाईहरूलाई यो पापलाई हटाउन केही कदम उठाउनुपर्छ भन्ने विचार आएन ?

के भगवानलाई पूजा गर्ने ठेक्का गैरउच्च वर्गका धनी मानिसहरूको मात्र हो ? के मन्दिरमा गएर आपmनो भावना प्रकट गर्न भगवानले कुनै खास जातिका मानिसलाई मात्र पूजा गर्ने अधिकार दिएका छन् ? यदि साँच्ची नै तपाईको भगवानले त्यस्तै चाहेका हुन् भने ती भगवानलाई धेरैले 'बहिस्कार' गर्ने छन् ।

तर मैले त सानैदेखि सिकेको, पढेको तथ्य त भगवानले सबैलाई बनाएका हुन् र भगवानले जन्मँदा कसैलाई जातको आधारमा वर्गीकरण पक्कै गरेका छैनन् । गीतामा लेखिएको छ- जन्मँदा सबै बराबर हुन्छन्, पछि कर्मका आधारमा मात्रै छुट्टन्िछन् ।' यो गीतालाई सही मान्ने हो भने दलितलाई पिट्ने 'डन'हरूलाई धार्मिक गुरुहरूले औंला ठड्याउनुपर्ने होइन र ? यदि यसो गर्ने होइन भने तपाईहरूले गीतामा लेखिएको कुरा असत्य हो । कृष्ण भगवानले हजारौं वर्षअघि भनेका कुरालाई हामी मान्दैनौं भन्नुपर्‍यो । एकातिर गीतालाई अति पवित्र मान्ने तर धार्मिक ग्रन्थमा लेखेका वचनहरूलाई नमान्ने र मानवलाई अपमान गर्ने काम रोक्न किन धर्मगुरुहरू रोक लगाउनुहुन्न ?

रौतहटमा कुनै पनि धर्मगुरुलाई  मानवता विरुद्घ गरिएको अपराध किन भयो र यो नहोस् भन्नका लागि स्थलगत भ्रमण गर्न केले रोक्यो ? किनभने नेपालका ठूला मन्दिरहरूमा उठेका ०.००००५ प्रतिशत पैसामात्र खर्च गरिएको भए पनि रौतहटमा एकदिन गएर त्यहाँका दलित जातिको आँसु पुछेर धर्मको नाममा अपराध गरेकाहरूलाई औंला उठाएर खबरदारी गर्न जति पनि सकिन्थ्यो । तर तपाई धर्मगुरुहरूले गर्नुभएन, किनभने तपाईहरू मानवजातिलाई माया गर्नुहुन्न । तपाईहरू त केवल 'कर्मकाण्ड' गर्नुहुन्छ । पत्थरको मूर्तिलाई पुज्नुचाहिँ हुन्छ, तर वास्तवमा ईश्वरले बनाएको मानवलाई चाहिँ पिट्नुहुन्छ, पिटाउनुहुन्छ भने मजस्ता हजारौं मानिसले किन तपाईहरूले मानेको धर्मलाई मान्ने ? किन हामीले त्यो धर्म अंगीकार नगर्ने, जुन धर्मले मानिसलाई मन्दिरमा पस्दा सत्कार गर्छ, जसले आफ्ना चेलाहरूलाई मानिस पिट्न सिकाउँदैन । मानिसको सेवा गर्न सिकाउँछ, अक्षर नचिनेकालाई अक्षर चिनाउन सिकाउँछ र बिरामी भएकाहरूलाई सेवा गर्न सिकाउँछ ?
source:ekantipur

No comments:

Post a Comment