बाजुरा जिल्लाभरका मन्दिरमा दलितलाई अवरोध नगर्ने समझदारी

बुढीनन्दा मन्दिरमा लाग्ने मेलाको सुरक्षार्थ खटिई गएका प्रहरी जवान जनक बिकलाई उनी दलित भएकाले मन्दिरमा जान नपाई भन्दै गत भदौ ३ गते बीच बाटोबाटै फर्कन बाध्य भएको घटनापछि आक्रोशित दलित अधिकारकर्मी र पुजारी लगायत अन्य सरोकारवालाबीच भदौ १३ गते बुढीनन्दा लगायत जिल्लाभरका मन्दिरमा दलितलाई अवरोध नगर्ने समझदारी भएको छ ।

दलित प्रहरीलाई बुढीनन्दा मन्दिर जान नपाइने भन्दै फर्कन बाध्य गराउने पुजारी श्रीलाल बोहराले आफुबाट गल्ती भएको स्विकार्दै आगमी दिनमा आफुबाट गल्ती नदोहोरिने लिखित प्रतिवद्धता जनाएपछि दुवैपक्षबीच समझदारी भएको हो । 'गल्ती स्विकार्दै माफी माग्नुका साथै नदोहोर्याउने प्रतिवद्धता गरेपछि ७० वर्षीय बृद्ध पुजारीलाई थप कारबाही आवश्यक ठानेनौँ', दलित अधिकारकर्मी बिनोद बिकले भने ।
यसअघि दलितको नजिकै नजाने पुजारी बोहराले समझदारीपछि दलित समूदायका सबैलाई टीका लगाएका थिए भने दलित समूदायका प्रतिनिधीहरूबाट समेत उनले टीका ग्रहण गरे । 'मैरो अज्ञानताले घटना भएको हो, अब मैले समयलाई बुझे', पुजारी बोहराले भने ।जिल्लाका अधिकांश स्थानमा रहेका देवी देउताका मन्दिरमा अझै दलितहरू प्रवेश गर्न पाउँदैनन् ।

 आगामी दिनमा उनीहरूले मन्दिरमा प्रवेश गर्न चाहेमा पुजारीले सबैलाई समान रुपमा पुजामा सहभागी गराउने तथा कुनै बाधा विरोध नगर्ने समझदारी समेत भएको छ । सर्वपक्षिय बैठकमा नेपाली काँग्रेसका सचिव धनराज पण्डित, नेकपा माओवादीका सचिव भुपेन्द्र बिक र एमालेका काँसी बिक लगायत नागरिक समाजका प्रतिनिधि सहभागि थिए ।
 एक साताअघि मेला भर्नबाट बञ्चित गराईका प्रहरी जवान बिकको आग्रहमा जिल्लास्थित दलित अधिकारकर्मीहरूले घटनाको विरोध गर्दै आन्दोलनमा उत्रिएका थिए । 'जिल्ला भर रहेका कुनै पनि मन्दिरमा दलितलाई अवरोध नगर्ने समझदारी भयो', अधिकारकर्मी टीका बिकले भने ।

यसअघि घटनामा कमजोरी गरेको आरोप लागेका प्रहरी सहायक निरीक्षक शेरबहादुर चन्दले सर्वपक्षीय बैठकमा आफूले ठूलो दुर्घटनाबाट जोगिन प्रहरी जवान बिककै सहमतिमा मन्दिर नजाने निर्णय लिने क्रममा त्रुटी भएको ठहरिए आफू स्वीकार्न तयार भएको बताए । पुजारीले आफ्नो गल्ती स्वीकार गरेर आगामी दिनमा जातीय विभेद नहुने निर्णयबाट खुसी भएको बताए प्रहरी जवान बिकले बताए । 'अबका दिनमा कुनै पनि दलितले मेरो जस्तो पीडा भोग्नु पर्ने छैन', उनले भने । दलित अधिकारकर्मीहरूले आफूहरूबीच समझदारी भएको जानकारी दिएको प्रमुख जिल्ला अधिकारी ध्रुबराज जोशीले बताए ।

No comments:

Post a Comment