के संख बाहुन-क्षेत्री को मृत्युमा मात्र बजाउने हो किन दलितको मा हुन्न ?

एउटा सत्य घटनाको संस्मरण स्वरुप यो लेख लेखेको छु। "बाटाघरे जेठाबा" अहिले हाम्रो माझ छैनन तर उनको स्मरण अझै ताजा छ। उनै प्रति समर्पित

मलाइ धर्म संस्कृति भन्ने कुरा मानिसले आफु अनुकुल बनाउदै गयका हुन् जस्तो लाग्छ। संस्कृतिको जगेर्ना गर्न जरुरि छ तर धर्म संस्कृतिका नाममा जातीय विभेद गरिनु चाही गलत हो। मेरो गाउ विभिन्न जातजातिको बसोबास भयको गाउ हो। जहाँ बाहुन,क्षेत्री, दमाइ, कामी, सार्की,सुनार,मगर सबैको बसोबास छ। अझै पनि मेरो  मानसपटलमा ताजै छ म सानो हुदा मेरी हजुरआमाले तल्लो जातका साथीभाइ संग खेलेर आय पछि सुन पनि छर्केर मात्र घर भित्र लानु हुन्थियो।
म अचम्म मानेर हजुरआमालाइ सोध्ने गर्थे किन मलाइ सुन पानी हालेको? सुनपानीले के हुन्छ? म र अरु साथीमा कसरि ठुलो र सानो जात भो ? उ बेला उहाले त ठुलो भय पछि आफै बुझ्छ्स भन्नु हुन्थियो। तर यो उमेर सम्म यो "जात" मैले अर्धरुपमा बुझे जस्तो लाग्छ। यस्ता कुरामा मरो बुवा चाही धेरै उदार हुनु हुन्थियो। उ बेला देखि नै उहाले कहिले पनि जातीय विभेदका कुरा वा काम गरेको अहिले सम्म थाहा  छैन।  तर मलाई हजुरआमा-आमा संग जस्तो बुवालाइ यी प्रस्न सोध्ने आट नै आउने थियन।

मेरो गाउमा घरको माथिल्लो पट्टि एक दलितको घर थियो। त्यस घरका बुढा बा  जो मेरो बुवा भन्दा नि उमेरमा धेरै जेठो थिय उनलाई  हामीले "बाटाघरे जेठाबा" भन्थियौ। सयाद त्यो बाटाघरे नाम चाही उनको घर छेउ बाटो परेर भनियको हो क्यारे। बाटाघरे जेठाबा का अरु पनि नाम थिय, गाउको कटुवाल, सुचिकार, हर्के आधि। त्यो घरमा मेरो आवत जावत धेरै  हुन्थियो कारण उनको कान्छो छोरा (उमेरले म भन्दा अलि जेठा भय पनि) संगै खेल्ने साथी थिय। खेलको कुरा गर्दा बिशेष गरि उ बेला असार-श्रावन को बर्खे बिदामा डन्डीबियो र दसैँ-तिहारको बिदामा गुच्चा खेलेर बिताउने गरिन्थियो । दशैँ तिहारको बिदा ताका धेरै जसोको खेतमा धान काटियका हुन्थे अनि गाइ-भैसी चराउने निउमा  दिनभर गुच्चा खेल्नु को आनन्द नै अर्कै हुन्थियो उ बेला । "बाटाघरे जेठाबा" संग मेरो  अर्को सम्बन्ध पनि थियो, उनको हाते कलले सिलायाको लुगा लगायर धेरै दसैँ गुजारेको छु मैले सानो हुदा । उनि गाउको कटुवाल पनि थिय।  समग्रमा "बटाघरे जेठाबा" जातले दलित  भय पनि गाउमा सबैका प्रिय पात्र र  धेरै जनैधारी बाहुन-क्षेत्री भन्दा भलाद्मी पनि थिय। साथीहरु  उनका घरका निबुवा चोर्न मलाइ उनि संग गफ गर्न पठाऊने गर्थे, म गयर गफ गरे पछि बुढा पनि मक्ख हुने, उता साथीहरुले उनका काक्रा र निबुवाको सत्यनास  गर्थे। यी र यस्तै "बाटाघरे जेठाबा" का धेरै रमाइला सत्य घटनाहरु अझै ताजा छन्। दलित भयका कारण उनले जनै कहिले भिरेनन। जनै पुर्णेका दिन हामी केटाकेटि कसको हातमा धेरै धोगो  भनेर दाज्ने गर्थिम। बाटाघरे जेठाबाले कहिले धागो बाधेनन, उनको छोरोलाइ पनि हामीले जस्तै धागो बाध्ने रहर हुन्थियो तर कोहि बाहुन उनको घर जादैन थिय। त्यसैले मैले उनलाई आफुले बाधेको हातको धोगो फुकालेर धेरै पटक बाध्न देको अझै याद छ।  जनै पुर्णेका दिन मलाई मन मनै उनैले सिलायका लुगामा ठाटियका बाहुनहरु उनका आगन पनि टेके हुने धागो बान्दीन-जनै दिन जस्तो लाग्थियो तर त्यो दिन कहिले पनि आयन। जेठाबा को छोराको खिन्नतालाइ देख्दा उ बेला मलाइ यस्ता विभेदकारी चाडपर्ब नआय हुने जस्तो लाग्थियो, त्यो अहिले पनि लाग्छ।

अब प्रसंग बदलौ एउटा संस्कृतिको कुरा गर्न मन लाग्यो। कुरा धेरै पहिलेको हो ठ्याक्क मिति याद भयन त्यस्तै १२-१५  बर्ष पहिले होला। म ९-१० कक्षा पढ्दाको हो क्यारे। समय सधै एकै कहाँ हुन्छ र। समय संगै म पनि बढ्दै गय, पढ्नलाइ गाउबाट सदरमुकाम झरे जेठाबाले सिलायको लुगा साटो जिन्स प्यान्ट र टिसर्ट लगाउन सुरु गरे।  जेठाबा पनि समय संगै बुढा हुदै गय, म सुक्रबार गाउ जाने गर्थे हरेक पटक मिले सम्म उनलाई  भेट्ने पनि गर्थे। उनका छोरा पनि कोहि कमाइ गर्न विदेश लागे। समय आफनै तरिकाले चलि राखेको थियो। एकदिन म गाउँमै थिय मेरो घर देखि अलि तल चौतारी थियो, "बाटाघरे जेठाबा" कताबाट आउदै गर्दा त्यहि ढलेछन्। संगै भयका आफन्तले पानी पानी भन्दै गुहार मागे नजिकै भयको र छिमेकीको नाताले पानी बोकेर सबै भन्दा पहिले हामी  नै कुद्यौ, पानी पनि खुवाईयो तर त्यहि चौतारीमा उनले प्राण त्यागे। केहि बेर मै उपल्लो जातिका मान्छेहरु पनि सबै भेला भै सकेका थिय। तर उनलाई कसैले छोयन। मलाई अझै विश्वास लागेको थियन उनले प्राण त्यागे भन्ने  त्यसैले  एकपटक उनलाई छोयर अल बिदा  भन्न मन लाग्यो अनि नाडी छामेर मन मनले अल बिदा "बाटाघरे जेठाबा" भने।

त्यसपछी हाम्रो संस्कृति अनुसार उनलाई जलाउन काली गण्डकीको किनार ल्याउनु पर्ने थियो। त्यहा पुग्न मेरो गाउ देखि त्यस्तै २ घण्टा जतिको समय लाग्थियो। गाउघरमा हामी सबै "ज्युदाका जन्ती मर्दाका मलामी" थियौ त्यसैले  गाउका अरु मानिसहरुलाई पनि खबर गर्नु पर्ने भयो।  गाउको जनै लाउने कुनै बाहुन क्षेत्री मरेको भय अहिले सम्म दोहोरो संखले  सबै डाँडाकाँडा घन्की  सक्थे र संख कै भरमा टोल छिमेक टाडाटाडा का सम्मलाई खबर पुगी सक्ने थियो । तर उनि दलित भयकै कारण त्यहाँ संख बजेन।सबै अल्लमल्ल गर्दै थिय त्यसैले मैले संख बजायर जानकारी गराउ भन्ने सुझाब दिय तर मेरो प्रस्तावले  गाउमा एउटा संस्कृतिक विवाद सुरु भो। जम्मा भयका केहि जनै धारी बाहुन-क्षेत्रीहरुले  संख त बाहुन-क्षेत्री को मृत्युमा  मात्र बजाउने हो दलितको मा हुन्न  भन्ने दलिल पेस गरे । कसैले दलितको लागि दमाहा (बिबाह तिर पनि बजाईने ठुलो डम्फु जस्तो) बजाउनु पर्छ भन्न थाले। त्यो कुरा मलाइ चित्त बुझेन म लगायत अरु केहि साथिहरुले किन संख बजाउन नहुने  भन्दै बिरोध गर्यौ। केहि बेर को खलबल पछि हामी संख बजाउनु  पर्छ भन्ने को जित भो, हुन्न भन्ने "जनैधारी"हरु चुप लाग्न बाध्य भय। तर अर्को समस्या आइ परो दलितको घरमा संख नहुने, संख हुने "जनैधारी" बाहुन-क्षेत्रीले आफ्नो संख दिन्नौ जुठो हुन्छ भन्न थाले।  त्यसपछि मलाई एउटा अक्कल आयो मेरै हजुरआमाको  पुजा कोठाबाट संख चोर्ने। घरमा बुवा-आमा नमान्ने कुरै थियन तर संख हजुरआमाको पुजा कोठामा हुन्थियो त्यसैले सुटुक्क चोरेर ल्याउने विचार गरे मैले। संख चोरेर पनि ल्याय अब फुक्न कसले फुक्दिने हामी केटाहरुले त्यति नजानेका, सुरु मैले नै गरे केहि समयको प्रयास पछि अलि अलि बजाउन  सिकियो। चुनौतीका बाबजुत संख फुक्दै "बाटाघरे जेठाबा" लाइ घाट सम्म पुराइयो र उनको भौतिक शरीर जलायर सदाका लागि अलबिदा  भनियो। उनको मृत्यमा अरु केहि गर्न नसके पनि "दमाहा" छाडी संख बजायर उनलाई केहि सम्मान दिलायको जस्तो अनुभूति भो हामीलाई। त्यस दिन देखि मेरो गाउ का हरेक दलितले मृत्युमा ढुक्कले अरु जनैधारीले झैँ संख बजाउन पाय, दमाहा बजाउन परेन, बर्षौ पुरानो विभेद हामी केहि अल्लारेहरुले सजिलै परिबर्तन गरि दियौ। त्यसैले छुन हुने नहुने, लगाउन हुने नहुने जस्ता धर्म र संस्कृतिका नाममा रहेका स-साना विभेद यसरी नै समाजबाट हटाउन सके समाज बिस्तारै आफै परिबर्तन हुदै जानेछ। त्यस्ता विभेदहरु हटेका भय र सबैले समानताको अनुभूति गरेका भय सयाद अहिले यी जातीयताका कुरा पनि यो रुपमा आउने थियनन होला। 

केहि "जनैधारी" बाहुन-क्षेत्रीले दलितको मृत्युमा संख बजाय अब अनर्थ हुन्छ भन्दै रामराम पनि नभनेका हैनन्। तर त्यस दिन संख बजायर दलितको मृत्यु हुदा "दमाहा" बजाउनु  पर्छ भन्ने पुरानो संस्कृतिको अन्त्य गर्यौ हामीले।। त्यसैले सामाजिक र संस्कृतिक रुपान्तरण हुन यस्तै साना तिना विभेदहरुको अन्त्य गरिन जरुरि छ र धर्म  संस्कृतिका नाममा जातीय विभेद गरिनु हुदैन।  आखिर मानिसले नै चलाय पछि चलन चल्ने र कालान्तरमा संस्कृति हुने त रैछ। नत्र अरु हिन्दु सरह दलितको मृत्यु हुदा संख बजाउन नहुने भन्ने किन?    त्यसैले कसले के लगायो वा लगाउछ  भन्दा पनि उसको काम र व्यवहारले मान्छेको मुल्यांकन गरिनु पर्छ। माथिकै घटनामा पनि धेरै "जनै" लागाउने भन्दा नलगाउने "बाटाघरे जेठाबा" सबैका प्रिय थिय, उनि  धेरै जनैधारीहरु भन्दा निस्वार्थी थिय।  त्यसैले यो जनै यसले लगाउन हुने र उसले नहुने भन्ने पनि धर्म शास्त्र अनुसार कसैले चलायको सामाजिक रितिरिवाज होला तर एकै धर्म मान्ने बीच पनि यो वा त्यो नाममा विभेद गरिनु न्यायसंगत होइन। यस्ता विभेदकारी धर्म संस्कृतिको समयानुकुल मुल्याकन हुनु पर्छ, बहस हुन जरुरि छ तर जनै लगाउने र नलगाउने भनेर जातीय विभेद गरिनु चाही बुद्दिमानी होइन। रहर हुने सबले लगाउन पाउन, लगाउन मन नहुनेले नलगाय पनि भो तर यसैको कारण समाजमा जनैधारी र जनै नलगाउने भनि जातीय विभेद चाही नहोस..
महाकविले भने झैँ "मानिस ठुलो दिलले हुन्छ जातले हुदैन"
बाटाघरे जेठाबा झैँ- मानिसको मुल्याकन विचार र कामले हुन्छ "जनै" ले हुदैन  
साभार :-amarbabum

No comments:

Post a Comment