प्रसाद छोयो भनेर एक विश्वकर्मालाई पिटेर पाठाको मासु सबै उसैलाई जिम्मा लगाए- – दीर्घराज प्रसाई

( तस्बिर साभार दलित महिला संघ )
पृथ्वीनारायण शाहका पालादेखि चल्दै आएका नियम, कानून तथा परम्परालाई लिपिबद्धरुपमा परिमार्जन रुपमा जङ्गबहादुरको पालादेखि विक्रम संवत् २०१० सालदेखि नेपाली समाजले पाएको थियो। त्यसैलाई पूर्ण सुधार र संशोधन गरेर ४९ बर्ष अगाडि राजा महेन्द्रबाट २०२० साल भाद्र १ गते नयाँ मुलुकी ऐन घोषणा गर्दै लिङ्गभेद, जातभात तथा अमानवीय छुवाछुत प्रथाबाट नेपाली जनता बीचमा रहिआएको भेदभाव हटाउन नेपालका दलीत जातिमा ठूलो परिवर्तन ल्याउने काम भएको थियो। राजा महेन्द्रको देनको कारणले
नेपालभित्रका दलितहरुलाई सामाजिक अन्यायबाट उन्मुक्ति पाएको महसुस गरेका थिए। २०२० सालको मुलुकी ऐनकै प्रभावले हामीहरु मन्त्रिपरिषद्, संसद, सरकारी कार्यालयहरु, संस्थान तथा उद्योगहरु, सभासम्मेलन, शिक्षण संस्था र पठन–पाठन्, होटल, ल्कब, सामाजिक संस्थाहरुमा छुवाछुत छैन। सँघै एउटै टेबल वा चौचारीमा बसेर खानपिन गर्न सकिने परिस्थिति सिर्जियो। यद्यपि ऐन कानूनहरुले छुवाछुत प्रथालाई बन्देज गरेको भएता पनि अझै ग्रामीण जगतमा अझै यसको तुस कायमै छ। वास्तवमा दलितहरुमध्ये कामी, दमाई, सार्की आदि दलितहरु नैं एक अर्काले छुएको खाँदैनन्। यसले गर्दा छुवाछुत प्रथालाई हटाउन दलितहरुबाट पनि अप्ठयारो भइरहेको छ। 
कतिपय दलित नेताहरु संसद, मन्त्रिमंडल र आयोगहरुमा नियुक्त भएता पनि उनीहरुको कारणले छुवाछुप्रथामा खास प्रभाव परेको छैन। मैले जानेदेखि हिरालाल विश्वकर्मा, टिआर विश्वकर्माले छुवाछुत हटाउन अथक प्रयत्न गरेका थिए। यसरी नैं धेरै दिनदेखि आफ्ना सम्पूर्ण व्यक्तिगत काम छोडेर सुभद्रा विश्वकर्मा छुवाछुत प्रथालाई निस्तेज गर्न समर्पित भएर सँधै लागिरहेकी पाउँछौं। एक महिना सुभद्रा विश्वकर्मा समाज सुुधारमा जतिजति सशक्त भएर लागेकी छन् उतीउती पीडित हुँदैगएको हामीले देखेका छौं। अरु कतिपय दलितहरुले छुवाछुतलाई मागिखाने भाँडो बनाएर कोही सांसद भए, कोही मंत्री बनेर मालामाल बने तर एक इमान्दार प्रशिक्षित सुभद्रा विश्वकर्मा कतैबाट प्रोत्साहित भइनन्। हामीलाई विश्वास छ सुभद्रा विश्वकर्मा जस्तो शिक्षित र सक्रिय महिला छुवाछुत निर्मूल अभियानमा सरकारले प्रोत्साहन गर्नेछ र उनीबाट देशमा धेरै योगदान हुनसक्छ। स्मरणीय छ कि गाउँ नगरहरुमा छुवाछुत प्रथाले यस्तो रोगको रुपमा जरो गाडेको छ कि यसलाई उन्मुलन गर्न सानोतिनो प्रयत्नबाट संभव छैन। यसबाट नेपाली समाजलाई मुक्त गराउन सुभद्रा विश्वकर्मा जस्ता समर्पित व्यक्तित्वहरुलाई राज्यले देशब्यापीरुपमा अभियानको रुपमा परिचालित गराउन सक्नुपर्दछ।
हाम्रो समाज कसरी छुवाछुत प्रथामा कतिसम्म रुढिग्रस्त छ भने अध्यावधि डोटीका गाउँहरुमा दलितले दूध खाइदिए भने गाईभैंसीको थुनबाट रगत आउन सक्छ भन्ने भ्रम छ। डोटीका बासिन्दाहरु दलितले दूध छाइदिन्छन् भनेर दुध नैं बिक्री गर्दैनन्। गाउँका बासिन्दाहरु पाउडर दूध हालेर चिया खान्छन् तर चिया पसलमा दूध भेटिँदैन। बझाङ, बाजुरा घुम्दा पनि त्यस्तै रुढिवाजले ग्रसित गरेको पाइयो। यो यस्तो रागको रुपमा देखा परेको छ कि अझै यही स्थिति रहिरह्यो भने छुवाछुत प्रथामा कुनै सुधार आउने संभावना छैन। त्यस्तै अर्को घटना यस्तो छ– ५/६ बर्ष अगाडि मुगु जिल्लाको होग्लु गाउँका जग्गीप्रसाद उपाध्यायलाई माओवादी कार्यकर्ताले अछुतले छोएको पानी जबरजस्ती खुवाएपछि कर्णाली नदीमा हाम फालेर आत्महत्या गरे। उनी मरेको १८ दिनपछि मुक्तिको लागि वेदको पुस्तक घाँटीमा बाँधेको अवस्थामा उनको मृत शरीर भेटिएको थियो। यस्तै केही बर्ष अगाडि धनकुटा बजारमा राममाया विश्वकर्माले भैंसीको दूध बेचेर जीवितान् गर्न बैंकको ऋण लिएर दुधालू भैसी किनेर ल्याइन् तर अछुत भनेर भैसीको दूध कसैले किनेन। एकपटक २०२२/२३ सालतिर म ताप्लेजुङ्गमा नैं रहेको बेला त्यहाँको गाउँको देवीथानमा बोका पूजा गरेको प्रसाद छोयो भनेर एक विश्वकर्मालाई पिटेर पाठाको मासु सबै उसैलाई जिम्मा लगाइयो। 
२०४४ सालतिर झापामा विधायकको हैसियतले साथीहरुको छुवाछुतप्रथा निस्तेज बनाउन दलितहरु बीच सहभोजको आयोजना गरियो। जसमा लोकबन्धू कार्की, गणेशबहादुर ढुङ्गाना लगायत हामी धरैको जमात थियो। मलाई लाग्छ सुभद्रा विश्वकर्मा पनि त्यहाँ थिइन् होलिन्। त्यस कार्यक्रममा विश्वकर्मा, परियार, मिजार आदि थर नलेख्ने र त्यसको सट्टामा आफ्ना पूर्खाको थर लेख्ने प्रस्ताव ल्याइयो। त्यसपछि कसैले कोइराला, घिमिरे, गौतम, पौडेल थर लेखेता पनि दलितको नामबाट राजनीतिक फाइदा लिनेहरुलाई चित्त नबुझेकाले भित्रभित्रे विरोध समेत उठाइएछ। यस कुराले सामाजिक उन्मुक्तिको लागि एउटा उपलब्धि गर्न सक्छ तर दलितको कोटा बाहुन क्षेत्रीहरुले खाइदिन्छन् भन्ने भ्रम पनि त्यहाँका विपक्षले उठाएछन्। त्यो पछि थाहा पाइयो। मैले सुनेसम्म रमेश काइरालाले रमेश विश्वकर्मा र यदू गौतमले यदू दमाईं लेख्न थालेको कुरा पनि यही होला। त्यस्तै २०० बर्ष अगाडितिर काठमाडौंमा अहिलेको टुँडिखेल दक्षिणतर्फ जगन्नाथ मंन्दिरको निर्माण गरी उद्घाटन गर्ने शिलशिलामा रणबहादुर शाहले ब्राम्हण, क्षेत्री, नेवार, तामाङ, गुरुङ, किराती, कामी, दमाई, सार्की, कसुले आदि जातजातिहरुको अनिवार्य सहभोज गराएर एक नेपाली जाति बनाउने प्रयत्न गर्दा कट्टरवादी बाहुनहरुले ‘राजा बहुलायो’ भन्ने होहल्ला पिटे। 
यसरी जमानादेखि जकडिएको रुढिग्रस्त समाजलाई परिवर्तन गर्न सजिलो छैन। कतै न कतैबाट बिरोध भइहाल्छ। फलतः कसैले चहाँदैमा व्याप्त रुढिवाजलाई सजिलै समाप्त गर्न सकिंदैन। छुवाछुत जस्तो खतरनाक रहेछ भने हाडनाता करणीको बात लाग्नु अर्कै कुरा हो तर कसैले बुहारी, भतिजी वा भान्जीलाई विवाह गरेर भित्र्यायो भने त्यसले छोएको खाने कि नखाने? खाने हो भने भोलिका दिनमा ए, बुहारी लाने, वा भान्जी लानेका संतान भन्ने लान्छना लाग्छ नैं। यस्ता घटना कोइराला,, पौड्याल, गौतम, प्रसाई, शाही आदि थरभित्रका पनि थियो र अझै त्यस्ता घटना घटेका नैं छन्। यस्तै कारणले छुवाछुत प्रथाले ठाउँ लिएको हो। यदु गौतमजी मंत्रीसम्म भए। उनका पुस्तालाई पनि हाडनाताको वात लागेर दमाई जात मानेर सिलाईको काममा संलग्न भएका थिए भनिन्छ। अतः १) युद्धबन्दी, २) राज्यले जात झारेका र ३) हाडनाता करणीको मामिलाबाट समाज बहिस्कार हुनपुगेकाहरुबाट उब्जेका समस्याहरुको कारणले छुवाछुत प्रथाले संस्कारको रुप लिनपुगेको हुनाले यसबाट समाजलाई उन्मुक्त गराउन राज्यबाटै सशक्त कार्यक्रमहरु अभियानको रुपमा चलाउन सक्नुपर्दछ। 
एउटा स्मरणीय कुरा छ– २०५६ सालतिरको कुरा हो स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकामा सप्ताह पुराणको अन्तिम दिन पण्डित रामचन्द्र कोइरालाले २७ जना दलित युवाहरुलाई गायत्री मंत्र सुनाएपछि त्यही निहुँमा नगरवासी र गाउँहरुले पं. रामचन्द्रलाई सामाजिक बहिस्कार गरे। अहिलेसम्म त्यो ठाउँमा दशैं, तिहार, बिवाह, ब्रतबन्ध कति आए–गए तर रामचन्द्र पण्डितलाई कसैले बोलाएका छैनन् र उनले कुनै कार्यमा बोलाउँदा पनि कोही आएका छैनन्। यस घटनालाई लिएर पूर्वमंत्री दीनबन्धु अर्यालले पनि पंं. रामचन्द्र कोइरालाले समाजबाट न्याय पाउन नसकेकाले मसँग दुःख मान्नु भएको छ। अरुको कुरा त छाडौं कि उनका आमा बाबु उनले छोएको खादैनौं भन्छन् रे। पण्डित रामचन्द्र कोइरालाले दलितहरुलाई गायत्रीमंत्र सुनाएर छुवाछुत प्रथालाई ठूलो चुनौती दिएको अवस्थामा यस्ता समाज सुधारकलाई राज्य र दलित संस्थाहरुले पुरस्कृत गरेर एउटा नमूनाको रुपमा प्रस्तुत गर्नसक्नु पर्थ्यो तर कतैबाट यस्ता समाजसुधारकहरुलाई प्रोत्साहन गरिएका घटनाहरु छैनन्। हुनता भारत स्वतन्त्र भएको यतिका बर्ष भइसक्दा पनि भारतमा पनि छुवाछुत प्रथाले मानवीय भेदभावको उपहास भइरहेकोछ। विवाहमा अछुत बेहुलाले घोडा चढेर जन्त जान ग्रामीण तहमा रोक लगाइन्छ, कुटपिट गरिन्छ। नेपालमा लगभग ४५ लाख जनसंख्या दलितमा कामी, दमाई, सार्की, कुसुले, पोडे, चमार आदि छन्। यिनीहरुबीचमा पनि आपसमा छुवाछुत ब्याप्त छ। सर्वप्रथम दलितहरु नैं आपसमा छुवाछुत मुक्त हुन सक्नुपर्दछ। कानुन बनाएर मात्र नहुँदो रहेछ। 
यस्तो रुढिग्रस्त समाजलाई परिवर्तन गर्न राजा महेन्द्रबाट २०२० साल भाद्र १ गते नयाँ मुलुकी ऐन घोषणा गरी छुवाछुद, जातिभेद र लिङ्ग–भेदको नीति तोड्ने अथक प्रयत्न गरेको, २०२१ सालमा भूमिसुधार ऐन घोषणा गर्दै बीनारक्तपात जमिन्दारी प्रथा, बिर्ता उन्मूलन गर्दै जग्गा जोत्ने मोहीहरुको अधिकार सुरक्षित राखेर असंख्यौं जग्गाविहीनहरुको उद्धार गरे। राजा महेन्द्रले देश र समाजकोलागि मात्र १० बर्षको समयमा जे जति गरे ती नेपाली समाजका महान उपलब्धि हुन्। पृथ्वीनारायण शाहपछि राजा महेन्द्र नेपाल र नेपाली जनताका कर्णधार हुन पुगे। नेपालको सार्वभौम अस्तित्व कायम राखेर राष्ट्रका प्रतिष्ठा, पहिचान कायम राख्न ज्यूज्यान् अपर्ण गर्ने एक योद्धा राजा महेन्द्र हुन्। राजा महेन्द्रकै मार्गदर्शनमा राजा ज्ञानेन्द्रबाट पुनर्स्थापित प्रतिनिधिसभाबाट छुवाछुदमुक्त राष्ट्र घोषणा गरियो तर यो फासफूस भयो, कुनै प्रभाव परेन। २०६३ सालपछि दलित आयोय गठन भएको छ यसले पनि भत्ता खान बाहेक एउटा पनि माखा मार्ने काम गरेन। अतः हाम्रो देशभित्रका अछुत, लिङ्गभेद, छुवाछुतप्रथामा सुधार ल्याएर व्यावहारिकरुपमा उतार्न राज्य, राजनीतिक दल, सामाजिक संस्थाहरु सबैपक्ष सशक्त भइयो भने नेपाल छुवाछुतबाट मुक्त हुनसक्छ। राज्यले नैं मनोवैज्ञानिक कार्यक्रमहरु संचालन गरेर दलितहरुसँग अन्तरजातीय विवाह गर्नेलार्ई प्रोत्साहनस्वरुप पुरस्कार वा रोजगारीको व्यवस्था गर्ने व्यवस्था मिलाएमा छुवाछुत प्रथा निराकरणको आधार बन्दै जान सक्छ। 
source:-nayabimarsha.weeklynepal

No comments:

Post a Comment