कम्युनिस्ट दलित नेताको राजनीतिक यात्रा

दानबहादुर विश्वकर्मा
उपाध्यक्ष, संघीय समाजवादी पार्टी
दलित आन्दोलनमा ०३२ सालदेखि नै सहभागी थिए, दानबहादुर विश्वकर्मा । अनौपचारिक रूपले उनी दलित संगठनमा पनि जोडिएका थिए, त्यसैवेला । ०३६ सालको जनमतसंग्रहताका उनले कम्युनिस्ट पार्टीका नेताहरूसँग भेट गर्ने असवर पाए, पहिलोपटक । जनमतसंग्रहताका मनमोहन अधिकारी कैलाली गएका थिए । उनले पहिलोपटक देखेको कम्युनिस्ट नेता अधिकारी नै थिए । कैलाली, गोदावरी–९ का स्थायी बासिन्दा विश्वकर्माले त्यसवेलाका दिन सम्झे, ‘पहिला–पहिला कुरा मात्र सुनिन्थ्यो, जनमतसंग्रहको वेला मनमोहनलाई प्रत्यक्ष देखियो । जनमतसंग्रहका लागि पर्चा, पम्प्लेट पनि छरियो ।’ त्यतिवेलासम्म उनले कम्युनिस्ट पार्टीका सदस्यता भने पाइसकेका थिएनन् ।

०००


२०३८ सालतिर उनले रूपलाल विश्वकर्माको नाम सुने । नाम सुनेपछि उनले रूपलालसँग पनि भेट गरे । भेटपछि रूपलाल नेतृत्वको नेपाल सर्वहारावादी श्रमिक संगठनमा आबद्ध भए । उनको औपचारिक राजनीतिक यात्रा त्यहीवेलाबाट सुरु भयो ।
केही समयमै उनी मजदुर संगठनका जिल्लासचिव भए । तत्कालीन नेपाल राष्ट्रिय दलित जनविकास परिषद्को जिल्लासचिवको जिम्मा पनि पाए, उनले त्यसैवेला । पार्टीमा चाहिँ सदस्य मात्र थिए । स्थानीय तहमा काम गर्थे । आफ्नै समुदायका नेता रूपलालसँग उनको आत्मीयता बढ्दै गयो । उनी भन्छन्, ‘जातीय सम्बन्धले सहज भयो ।’
जनमतसंग्रहपछि उनी कञ्चनपुर बसेका थिए । त्यसैवेला उनको जीवनमा नयाँ मोड आयो । उनलाई प्रहरीले गिरफ्तार गर्‍यो । चोरी–डकैतीको आरोपमा मुद्दा चलायो । जिल्ला प्रहरी हिरासतमा ४५ दिन राखियो, उनलाई । त्यसपछि गाउँको कृष्णपुर प्रहरी चौकी लगियो । त्यहाँ निकै कुटपिट भयो, उनीमाथि । ‘खुट्टामा आगो लगाइदिए । नेता बनेको भन्दै पिटे । म रोएँ, कराएँ, तर प्रहरीले सुनेनन्’ उनले त्यसवेलाको यातना सम्झे, ‘राजनीतिक मुद्दा लगाउन नसकेपछि चोरी–डकैती मुद्दा लगाइयो ।’
गाउँमा उनलाई धेरैले चिन्थे । त्यसैले यातना दिएको कुरा गाउँभरि फैलियो । गाँउलेहरू प्रहरीचौकी गए । उनीहरूले भने, ‘यो असल मानिस हो । यसले चोरी–डकैती गर्नै सक्दैन । यातना नदिनुस्, छाडनुस् ।’ गाउँलेको दबाबले काम गर्‍यो, उनी छुटे ।
तर, उनी फेरि राजनीतिमा फर्के । लगत्तै सर्वहारावादी श्रमिक संगठनको कैलाली सचिव भएर काम थाले, उनले । पञ्चायती व्यवस्थालाई छल्न भूमिगत शैली अपनाए ।

०००

०४६ सालको जनआन्दोलनमा दानबहादुर पनि सक्रिय भए, पार्टीका तर्फबाट । आन्दोलनले प्राप्त भएको बहुदलीय व्यवस्थाले उनको राजनीतिमा पनि नयाँ मोड आयो । ४ कार्तिक ०४७ मा तत्कालीन मोटो मशाल, चौथो महाधिवेशन, श्रमिक संगठन, डा. बाबुराम भट्टराई नेतृत्वको विद्रोही मसाल र रूपलालको पार्टीबीच एकता भयो । ‘म एकीकृत पार्टीको जिल्ला समितमा आएँ र मजदुर संगठनको जिल्लासचिव भएर काम गरेँ,’ उनले भने ।
माघ ६–७, ०४७ मा भेला भयो र संयुक्त जनमोर्चा नेपाल गठन भयो । उनी कैलालीका सदस्य भए, जनमोर्चाको । ०४८ सालमा चुनाव प्रचार–प्रसारमा सक्रिय भए । त्यसवेला जनमोर्चाले नौ सिटमा जित्यो पनि । चुनावपछि क्रमश: पार्टीमा गुटबन्दी हुन थाल्यो । विश्वकर्माका अनुसार त्यसवेला निर्मल लामा, निर्माण (हालका प्रचण्ड) र रूपलालका गुट देखापरेका थिए । त्यसबाहेक डा. बाबुराम भट्टराई र रूपलालको भिन्दै गुट थिए । ०५१ को अन्तिमतिर पार्टी फुटको सँघारमा पुग्यो । त्यतिवेलाको विवाद जनयुद्धमा जाने वा नजाने भन्नेमा थियो । प्रचण्ड नेतृत्वको टोलीले जनयुद्धमा जानुपर्छ भन्यो । जानु हुँदैन भन्नेहरूले नयाँ जनमोर्चा बनाए । विवाद बढ्दै गएपछि ०५१ को जेठ १२–१३ मा संयुक्त जनमोर्चाको राष्ट्रिय भेला बोलाइयो । उनी भन्छन्, ‘त्यहाँ बाबुराम (उनी जनमोर्चाका अध्यक्ष थिए) लाई कारबाही गरेको भन्दै निरन्जनगोविन्द वैद्यलाई संयोजक बनाइयो ।’ त्यसपछि ०५१ असार ३० देखि साउन १ सम्म राष्ट्रिय सम्मेलन भयो । उनी पूर्ण केन्द्रीय सदस्य भए । भेरी–कर्णाली र सेती–महाकालीमा काम गर्ने जिम्मा पाए, उनले ।

०००

दानबहादुर एकातिर पार्टीको जिम्मेवारी वहन गरिरहेका थिए भने अर्कातिर दलित आन्दोलनको पनि अगुवाइ गरिरहेका थिए । ०४९ चैत ७ देखि ९ सम्म गोल्छे सार्की नेतृत्वको उत्पीडित जातीय उत्थान मञ्च र उनको संगठनबीच एकता भयो । नयाँ संगठनको नाम नेपाली उत्पीडित दलित जातीय मुक्ति समाज भयो । उनी केन्द्रीय समितिमा आए । ०५१ को राष्ट्रिय सम्मेलनबाट त उनी उपाध्यक्ष भए । पछि, उनी र पदमलाल विश्वकर्माबीच संगठनका विषयमा मतभेद देखा परे ।
उनले दलित आन्दोलनको अगुवाइकै क्रममा ०५९ मा नेपाल राष्ट्रिय दलित मुक्ति संगठनका वरिष्ठ उपाध्यक्ष भएर काम गरे । ‘दलित संगठनभित्र पनि उतार–चढाव भए,’ उनले भने, ‘जहाँ पनि गुटबन्दीको समस्या हुने ।’
यता, पार्टीमा ०५४ को जनकपुर सम्मेलनबाट जनमोर्चाको अध्यक्षमा अमिक शेरचन आए । ०५९ मा अमिक शेरचनको संयुक्त जनमोर्चा र चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चाबीच एकीकरण भयो । ‘म केन्द्रीय सदस्य भएँ,’ उनले भने । तर त्यो एकीकरण लामो समय टिकेन, फेरि विभाजनको मार खानुपर्‍यो । चित्रबहादुरहरू अलग भए । त्यसपछि ०६३ मा जनमोर्चाको दोस्रो भेला भयो र उनी केन्द्रीय उपाध्यक्षमा चयन भए ।

०००

०६२–६३ को जनआन्दोलनपछि माओवादी शान्तिप्रक्रियामा आयो । चित्रबहादुर केसीहरू ०६३ मा अलग भएका थिए । त्यसपछि नाराणकाजी श्रेष्ठ प्रकाशले माओवादीसँग एकीकरणको कुरा सुरु गरेको उनको भनाइ छ । ‘नारायणकाजी श्रेष्ठ प्रकाशले माओवादीसँग साँठगाँठ गर्न थालेछन्,’ उनले भने, ‘प्रचण्डसँग भेटघाट र प्रचण्डको प्रतिनिधिजस्तै भएर काम गर्न थाले, हाम्रो पार्टीमा प्रचण्डको दस्ताबेज लागू गराउन खोजेजस्तो देखियो ।’
माओवादीसँग एकता गर्ने विषयमा पार्टीभित्र एकमत थिएन । ‘प्रकाश, गिरिराजमणि पोखरेल पक्ष एकता गर्न चाहन्थे, तर अमिकसहित हामी एकताको पक्षमा थिएनौँ । केही कुरा स्पष्ट हुनुपर्ने कुरा राखेका थियौँ,’ उनले भने, ‘०६४ को संविधानसभाको चुनावमा पनि एकताको कुराले केही प्रभाव पार्‍यो, माओवादीसँग एकता गर्दै छन् भन्ने हल्लाले हामीले कतिपय ठाउँमा चुनाव हार्‍यौँ पनि ।’ चुनावमा उतिवेला दुई पार्टीको तालमेल पनि भएको थियो । ‘हामीले चुनावपछि पनि भिन्न मत कायमै राखेका थियौँ,’ उनले सुनाए ।
०६५ पुस १६–१९ सम्म पार्टीको राष्ट्रिय सम्मेलन बोलाइयो । माओवादीसँग एकता गर्ने–नगर्ने विषयमा मतभेद थिए । ‘१८ गते राति दुई बजेसम्म विवाद भयो । हात हालाहालको अवस्था आयो । अर्को दिनसम्मका लागि बैठक स्थगित गरियो,’ उनले त्यसदिनको विवादको अवस्था सम्झे, ‘रातभर अमिकजीलाई के–के गरेछन्, उहाँले त अर्को दिन म त नसक्ने भएँ भनेर एकताको पक्षमा जाने निर्णय गर्नुभयो, उहाँले धोका दिनुभयो ।’ ०६५ पुस २९ मा पार्टी एकता भइहाल्यो ।

०००

०६५ को भदौतिर नै जनमोर्चाले साध्यबहादुर भण्डारी र भरत दाहाललाई निष्कासन गरेको थियो । उनीहरू नयाँ संगठनको खोजीमा थिए । उता, विश्वकर्मा दलित आयोगमा थिए । माओवादी र एकता केन्द्र मसालबीचको एकीकरण हुँदा पनि । उनी भारत भ्रमणमा थिए । भ्रमणमै रहेका वेला उनको अध्यक्षतामा साध्यबहादुर भण्डारी, भरत दाहाललगायतले जनमोर्चा पुनर्गठन गरे, २०६५ माघ ३ मा । उनी भन्छन्, ‘माओवादीसँग एकता भएपछि यो जनमोर्चा पुनर्गठन गरेछन् साथीहरूले । म दिल्लीमै थिएँ ।’
बल्ल–बल्ल पुनर्गठन गरेको जनमोर्चामा पनि विवाद हुन थाल्यो । नयाँ जनमोर्चामा पनि साध्यबहादुर र भरतबीचको विवादले उग्र रूप लिँदै गयो । उनी भण्डारी र दाहालको तानातानमा परे । तीन महिनामै भरतले भिन्दै पार्टी बनाए । फेरि ०६७ को अन्तिमतिर साध्यबहादुर र उनीबीच पनि तनाव भयो । विश्वकर्मा भन्छन्, ‘साध्यबहादुरमा राजावादीसँगको निकटता, आर्थिक अराजकता र व्यक्तिवादी चरित्र हावी भयो । उनले म नै पार्टी हुँ भन्न थाले ।’ विश्वकर्माले अर्को रोचक प्रसंग सुनाए, ‘हाम्रो पार्टी कार्यालय कोटेश्वरमा थियो, त्यहाँ माक्र्स, लेनिन, एंगेल्ससँगै पृथ्वीनारायण शाहको फोटो टाँस्ने प्रस्ताव गरेका थिए, साध्यबहादुरले । यसले पनि उनमा राजावादी सोच हाबी भएको देखिन्थ्यो ।’ साध्यबहादुरले माधव नेपाल प्रधानमन्त्री हुँदा बुझाएको ज्ञापनपत्रमा नुवाकोटमा पृथ्वीनारायण शाहको सालिक निर्माणको कुरा गरेको पनि विश्वकर्माले दाबी गरे । ‘साध्यजी राजावादीको पनि समीक्षा गर्नुपर्छ भन्थे । उनको अराजक गतिविधिका कारण हामीले पार्टीबाट निकाल्यौँ,’ विश्वकर्माले भने, ‘पार्टीबाट निकालेको आवेगमा उनले मलाई मानसिक सन्तुलन ठीक नभएको भनेर विज्ञप्ति पनि निकालेका थिए ।

०००

समस्या, गुटबन्दी र अभावमा बल्ल–बल्ल पार्टी चलाइरहेको वेला ०६९ फाुगनमा दानबहादुरको जिन्दगीमा अर्को ठूलो मोड आयो । उनले आफ्नो पार्टीलाई अशोक राईले नेतृत्व गरेको संघीय समाजवादी पार्टीसँग एकीकरण गराए । उनले उपाध्यक्षको जिम्मा पाए । २५ जिल्लामा रहेको पार्टी संगठन समाजवादी पार्टीमा मिसाए । अहिले संघीय समाजवादी पार्टीमा दलित विभागको जिम्मा पाएका छन् भने सुदूरपश्चिम हेर्ने जिम्मा पनि उनकै छ । आफूलाई संघीय समाजवादी पार्टीमा समाहित गराउनुमा उनले कम्युनिस्ट पार्टीमा बसेर काम गर्दाका पीडासँग जोड्छन् । उनले पार्टी एकता गर्दा माक्र्सवादी सिद्धान्तबाटै पार्टी चलाउनुपर्ने कुरा गरेका थिए र अशोक राईले स्विकारेका थिए । संघीय समाजवादी पार्टी कम्युनिस्ट पार्टी होइन, वामपार्टी हो भन्ने उनको तर्क छ । उनको मत छ, ‘नामले मात्र केही हुँदैन ।’ समाज रूपान्तरण हँसिया–हथौडाको झन्डाले मात्र गर्छ भन्ने उनलाई लाग्न छाडेको छ । ‘गलत व्यवहार, गलत कार्यशैली, गलत चिन्तन हुँदासम्म हँसिया–हथौडाको झन्डाले त केही गर्दैन,’ उनले भने, ‘मलाई झन्डा बदलेकोमा कुनै अपसोच छैन ।’
बरु जहाँ बसेर भए पनि इमानदारितापूर्वक काम गर्नुपर्ने उनको तर्क छ । ‘संगठन चाहियो । काम गर्ने मान्छे चाहिए भन्ने मेरो बुझाइ भयो,’ उनले भने, ‘यसैकारण एकता गर्न बाध्य भएँ । कम्युनिस्ट पार्टीमा बसेर काम गर्दा सधैँ अभाव, तनाव मात्र भोगेका उनले आर्थिक अभावले पनि एकताका लागि सोच्न बाध्य पारेको स्विकारे । ‘अभाव भयो, इमानदार भएर काम गर्दा पनि दु:ख मात्र पाइयो । गुटबन्दीको सिकार भइयो,’ उनले भने, ‘आर्थिक अभाव पनि मेरो ठूलो समस्या बनिरह्यो ।’
कम्युनिस्ट पार्टीमा झन्डै तीन दशक काम गर्दा उनले फरक–फरक मानिससँग काम गरे । फरक–फरक चिन्तन र प्रवृत्ति देखे । कम्युनिस्ट पार्टीभित्रै उनले जातिवादको समस्या देखेको अनभुव पनि सुनाए । ‘मैले कम्युनिस्ट पार्टीकै साथीहरूकहाँ गएर बाहिर बसेरै खानुपर्‍यो,’ उनले भने, ‘ती साथीहरू अहिले पनि आफूलाई अब्बल कम्युनिस्ट नेता मान्छन् ।’ उनले कम्युनिस्ट आन्दोलनमा चरम पुँजीवादी चिन्तनको समस्या देखेका छन् । ‘पार्टीभित्र पैसा हुनेको महत्त्व रहने गर्छ,’ उनी भन्छन्, ‘कमजोर आर्थिक अवस्था भएका साथीहरूलाई हेर्ने दृष्टिकोणमै समस्या हुन्छ ।’ उनले अर्को अनुभव पनि सुनाए, ‘मूल्यांकनको ठीक विधि छैन, इमानदारहरू पछाडि पारिन्छन् ।’ उनले कम्युनिस्ट पार्टीमा रहँदा अर्को तीतो अनुभव पनि बटुलेका रहेछन् । उनी भन्छन्, ‘साथीहरू आरोप–प्रत्यारोपमा रमाउँछन्, मनोगत आरोप लगाउँछन् । वस्तुगत धरातलमा हुँदैनन् आरोप ।’ व्यक्तिवाद, पुँजीवादी सोच मात्र होइन, भ्रष्टाचार, तस्करी सबै कुरा कम्युनिस्ट पार्टीहरूका लागि खुला भए भन्ने उनको भनाइ छ । कम्युनिस्ट पार्टीका समस्याको बिट मार्दै विश्वकर्माले भने, ‘यो कुरा ०५२ सालमै रूपलालले उठाएका थिए, अहिलेसम्म त सबै छर्लंगै भयो ।’
प्रस्तुति : नेत्र पन्थी
साभार : -nayapatrika

No comments:

Post a Comment