अन्तरजातीय बिहे गर्ने एक दलित परिवारले दुलही फिर्ता पठाए

बुटवल, भाद्र ३ -
समाजले स्वीकार नगरेपछि रुपन्देहीमा अन्तरजातीय बिहे गर्ने एक दलित परिवारले दुलही फिर्ता पठाएको छ । सिपवा ८, पतिजियाका विपत हरिजनले बिहे भएको ५ महिनापछि दुलही फिर्ता पठाएका हुन् । आफ्नो जातको छोरी बिहे गरेर अपमान गरेको भन्दै दलित परिवारमाथि आक्रमण थालेपछि परिवार ५ महिनाअघि विस्थापित भएको थियो ।

विवाहपछि केटीका माइती पक्षले निरन्तर आक्रमण गरी विस्थापित गराएपछि बाध्य भएर दुलही फिर्ता पठाएको विपतले गुनासो गरे । 'सँगै जीउने र मर्ने कसम खाएर बिहे गरेका थियौं,' विपतले कान्तिपुरसँग भने,े 'तर समाजले दलितको मायालाई देखी सहेन, त्यसैले फिर्ता पठाइदिएँ ।'

विपतले चैत १ गते उपल्लो जात मानिने स्थानीय विन्देश्वरी भरसँग प्रेम विवाह गरेका थिए । सानैमा बिहे भए पनि गौना नभएकी भरले ३ वर्षे प्रेमपछि हरिजनसँग प्रेम विवाह गरेकी हुन् । विवाहलाई स्थानीयले मान्यता दिएनन् । त्यसपछि विपत र विन्देश्वरीले असार १५ गते जिल्ला अदालतमा विवाह दर्ता गरेर कानुनी मान्यता प्राप्त गरे । ५ महिनाअघि परिवार विस्थापित हुनुपर्‍यो । विस्थापितलाई स्थापित गर्न पटकपटक प्रहरी र संघसंस्थाले पहल गरेका थिए । तर कानुनले संस्कार बदल्न नसक्ने भएकाले गाउँको मर्यादा जोगाउन केटी फिर्ता पाउनुपर्ने अडानमा स्थानीय उभिएका थिए ।स्थानीयको अडानका अगाडि केही नलागेपछि हरिजन परिवार दुलही फिर्ता पठाउन बाध्य भएको हो । विपतका दाजु सुग्रीवका अनुसार सुरुमा दुलहीले फिर्ता जान मानेकी थिइनन् । फिर्ता पठाएमा 'आत्महत्या' गर्छु भनेर रोइकराइ गरेकी थिइन् । विपतले धेरै नै जिद्दी गरे ।

गाउँलेको धम्की र त्रास सहेर र परिवार विस्थापित भएर बाँच्न नसक्ने अवस्था भएपछि उनीहरूलाई सम्झाइबुझाई दुलहीलाई गाउँलेका जिम्मा लगाइएको हो । त्यसका लागि साउन २२ गते अदालतबाट सम्बन्धविच्छेद गराइएको थियो । सम्बन्धविच्छेदपछि छोरी बुझेका भर परिवारले उनलाई भारतमा आफन्तकोमा लगेर राखेका छन् । जति बेला पनि रुने र टोलाउने गरेपछि उनलाई गाउँबाट आफन्तकोमा लगिएको स्थानीयले बताए । यता विपतको अवस्था उस्तै छ । दुलही फिर्ता पठाएपछि एकोहोरिने र टोलाइरहने उनलाई परिवारले निगरानीमा राखेको छ ।

अन्तरजातीय विवाहलाई हेरिरहेको मधेस मानव अधिकार गृह माहुरी होमका शैलेन्द्र हरिजनले भर परिवारले विवाह भइसकेकी छोरी फिर्ता लगेर कानुन, मानव अधिकार र सिंगो दलित समुदायको उपहास गरेको बताए ।
source: ekantipur

No comments:

Post a Comment